काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा १९५ ले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । यो मृत्युदर नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको ० दशमलव ५३ प्रतिशत हो ।
मृत्यु भएका संक्रमितमध्ये ५१ जनामहिला र १४४ जना पुरुष छन् । मृत्यु हुने संक्रमितमध्ये ० देखि १० वर्षसम्मका बालबालिका ४ जना छन् । यस्तै ११ देखि २० वर्ष उमेर समूहका ५ जना छन् ।
यस्तै २१ देखि ३० वर्षसम्मका १२ जना, ३१ देखि ४० वर्ष उमेर समूहका १७ जना छन् । ४१ देखि ५० वर्ष सम्मका ४२ जना संक्रमितको मृत्यु भएको छ ।
५१ देखि ६० वर्षका ३८ जना, ६१ देखि ७० वर्ष उमेर समूहका ४० जना, ७१ देखि ८० वर्षको उमेर समूहका २६ जना र ८० वर्ष भन्दामाथिका ११ संक्रमितको मृत्यु भएको छ ।
यो तथ्यांकले नेपालमा कुल मृत्यु हुने संक्रमितमध्ये सबैभन्दा बढी मृत्युदर ६१ देखि ७० वर्ष उमेर समूहका बढी छन् । ६० वर्षभन्दा माथि उमेर भएकाको मृत्युदर पनि बढी छ । ३० वर्षभन्दा कम उमेर भएका व्यक्तिको मृत्युदर भने कम रहेको मन्त्रालयको तथ्यांकले देखाउ छ ।
यो तथ्यांकले पनि वयस्क व्यक्ति तथा बालबालिकामा कोरोना संक्रमणबाट हुने मृत्युदर कम देखिन्छ ।
मृत्युको मुख्य कारण दीर्घरोग
स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार मृत्यु भएका कोरोना संक्रमितमध्ये अघिकांश कुनै न कुनै प्रकारका रोग र समास्याबाट ग्रसित भएका बिरामी छन् ।
शुक्रबारसम्म मृत्यु भएका व्यक्ति अधिकांशमा कुनै न कुनै प्रकारका दीर्घ रोग रहेको पाइएको छ । मन्त्रालयको पछिल्लो तथ्यांककाअनुसार मृत्युभएका संक्रमितमध्ये करिव ५० जनामा कोरोना संक्रमणको कारण अर्थात कोरोनाको गम्भिर प्रकृतिको लक्षणले कडा निमोनिया र श्वासप्रश्वास, उच्च ज्वरो र खोकीको समस्या रहेको पाइएको छ ।
अन्य संक्रमित क्यान्सर, उच्च रक्तचाप, मधुमेह, मुटु सुम्बन्धी रोग, मिर्गौला सम्बन्धी रोग, नशा सम्बन्धि समस्या, कलेजो सम्बन्धी रोग, दमको समस्या, पित्तथैलीमा पत्थरी, क्षयरोगका बिरामी, हाइपोथाईरोडीजम लगायतका समस्या भएका बिरामी थिए ।
अझै मृत्युपछि मात्रै कोरोना पुष्टि
नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । सरकारले कोरोना संक्रमण रोकथामा तथा नियन्त्रण गर्न परीक्षणको दायरालाई बढाइएको दावी गर्दै आएको छ । दैनिक १० हजारभन्दा बढी व्यक्तिको स्वाब संकलन गरी कोरोना परीक्षण पनि भइरहेको छ । तर अझै पनि मृत्युपछि मात्र कोरोना पुष्टि हुने क्रम रोकिएको छैन ।
बिहीबारसम्म मृत्यु भएका १८३ जना संक्रमितमध्ये १७ कोरोना संक्रमतिको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा मृत्यु हुने कोरोना संक्रमितमध्ये अधिकांश ज्येष्ठ नागरिक तथा दीर्घ रोगी बढी प्रभावित भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाको मृत्युदर बढी भएको बताए ।
‘अन्य व्यक्तिमाभन्दा ज्येष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, श्वासप्रश्वासको समस्या वृद्धअवस्थाकालाई बढी हुन्छ, उच्च रक्तचाप, मधुमेह पनि वृद्धवृद्धालाई नै बढी हुन्छ, विभिन्न किसिमका दीर्घरोग पनि उनीहरुमा नै बढी हुन्छ,’ डा गौतमले खबरहबसँग भने, ‘त्यसैले नेपालमा मात्र होइन, विश्वभरी नै कोरोनाले वृद्धवृद्धाहरुलाई बढी असर गरेको छ । त्यसैले मृत्युदर बढी भएको हो ।’
डा गौतमले वृद्धवृद्धाहरुलाई कोरोना संक्रमणबाट बचाउन घरमा भएका वयस्क सदस्यसमेत कोरोना संक्रमणबाट बच्नुपर्ने बताए ।
‘मैले सँधै भन्दै आएको छु, माइतीघर मण्डलामा भेला हुने वयस्कको भीडले घरघरमा कोरोना पुर्याएको छ । वयस्क व्यक्तिलाई हत्तपत्त केहि हुँदैन तर, घरमा भएका हजुरबा हजुरआमा तथा दीर्घ रोग भएकालाई त्यसले समस्या पार्छ,’ उनले भने, ‘त्यसैले घरमै भएका दीर्घरोगी र ज्येष्ठ नागरिकलाई बचाउँन घरमा भएका वयस्क सदस्यको भूमिका ठूलो हुन्छ ।’
डा गौतमले कोरोना संक्रमणबाट दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई बचाउँन परिवारका सदस्यले विशेष ध्यानदिनुपर्ने बताए । उनले मास्कको अनिवार्य प्रयोग, साबुन पानीले समय समयमा हात धुने, सामाजिक दूरी कायम राख्ने लगायतका जनस्वास्थ्यका मापदण्ड पालनागर्नुपर्ने पनि बताए ।
कोरोना संक्रमण भएका ज्येष्ठ नागरिक तथा दीर्घ रोगीको मृत्युदर बढाउन सरकारले पनि उनीहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्ने ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर रमेश कँडेलले बताए ।
‘हामी उच्च जोखिममा रहेका दीर्घ रोगी र ज्येष्ठ नागरिकको कुरा गरिरहेका छौँ । दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई छुट्टै आइसोलेसन बनाएर चिकित्सक वा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्छ । होम आइसोलेसनमा राख्नु हुँदैन,’ डा कँडेलले भने, ‘उनीहरूमा जुनसुकै बेला कम्प्लिकेसन आउन सक्छ । त्यसैले, कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई संस्थागत आइसोलेसनमा स्वास्थ्यकर्मीको विशेष निगरानीमा राख्नुपर्छ ।’
प्रतिक्रिया