पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग « Khabarhub

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ ।

बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो ।

स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो ।

हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।

उनका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो ।

उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको बताइएको छ ।

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासी फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो ।

अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जङ्गलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।

बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् ।

जङ्गलमा अझै आगो सल्किरहेकाले सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् ।

पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डा समेत पाइने गरेको छ । आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।

यसैबीच सिम्रिक एयरका पाइलट सुरेन्द्र पौडेलका अनुसार हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रण गरिएको यो पहिलो पटक हो ।

‘हामीसँग तालिमप्राप्त जनशक्ति थिए, विशेष प्रविधिको बकेट राखेर पानी निकाल्ने र खसाल्ने तालिम बर्सेनि भइरहेको हुन्छ, पहिलो पटक हामीले आगो निभाउन उक्त प्रविधि र जनशक्तिलाई प्रयोगमा ल्याएका हौँ’, उनले भने । यसरी आगो निभाउन प्रविधिसहित जनशक्ति सिम्रिक एयरसँग मात्रै रहेको पनि उनले बताए ।

फुङलिङ नगरपालिका–११ स्थित पाथीभरा सिम्बु सामुदायिक बनबाट बिहीबारदेखि शुरु भएको आगो पाथीभरा क्षेत्रको जङ्गलमा फैलिएको थियो । आगो कसले लगायो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ७ : ३५ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु