नेकपा 'प्रचण्ड-नेपाल' समूहका शीर्ष नेताको एउटै बोली- ओली तानाशाह भए, प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ (भिडियोसहित) | Khabarhub Khabarhub

नेकपा ‘प्रचण्ड-नेपाल’ समूहका शीर्ष नेताको एउटै बोली- ओली तानाशाह भए, प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ (भिडियोसहित)


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई खेमामा विभाजन भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा खेमाले शक्ति प्रदर्शन गरेको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिले सत्तारुढ दुई खेमामा विभाजन भएको छ । ओली इतरसमूह सडक संघर्षमै उत्रिएको छ ।

आज नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई दबाब दिन काठमाडौँसहित देशभर शक्ति प्रदर्शन गर्‍यो ।

काठमाडौँको प्रदर्शन नेकपाको प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शनकै रुपमा देखिएको थियो । हजारौ कार्यकर्ताको प्रदर्शनसहित काठमाडौँमा आयोजित सभामा नेकपाका शीर्ष नेताले कडा रुपमा ओली कदमको आलोचना गरे ।

ओलीको तानाशाही प्रवृत्ति अन्त्य गर्न र विघटित प्रतिनिधिसभालाई पुनर्स्थापना गर्न नेकपासहित अधिकांश राजनीतिक दल सडकमा उत्रिएको दाबी गर्दै नेकपाका शीर्ष नेताले प्रतिनिधिसभा पुनर्स्थापना गराइ छाड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । सँगै नेताहरुले प्रधानमन्त्री ओलीको निरंकुश शैली अपनाएर अलोकतान्त्रिक बाटो अपनाएकाले ओलीको शासन अवधि सकिएको दाबी गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले सबैलाई भ्रममा पारेको दाबी गरे । ओली प्रधानमन्त्री नरहने दाबी गर्दै प्रचण्डले भने, ‘मलाई लाग्छ, केपी ओली गोटी भएका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ । अनि उनले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ?’

चुनाव हुनेमा ओलीलाई नै विश्वस्त नभएको भन्दै प्रचण्डले धेरैले कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर दिवा सपना देखेको आरोप लगाए । आफूसँग बहुमत हुँदा हुँदै ओली गलत बाटोमा हिँडेको प्रचण्डको भनाइ थियो।

हेरौँ भिडियो

लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षा गर्नुपर्ने बेलामा उल्टै अलोकतान्त्रिक काम गरेर ओलीले इतिहासमै कलंक लगाएको बताए । संसद विघटन गरेर प्रधानमन्त्रीले इतिहासमा कहिल्यै नमेटिने गल्ती गरेको बताउँदै प्रचण्डले माफी नमिल्ने गल्ती गरेको बताए ।

उनले प्रधानमन्त्री ओलीले आत्मआलोचनासहित माफी नमागेसम्म जनताले छुट नदिने बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीले ‘म अपराधी हुँ भन्दै आफ्ना गलत कमद सच्याएपछिमात्र जनताले माफी दिनेछन् । नत्र यो अपराध इतिहासमा कहिल्यै मेटिने छैन् ।’

त्यस्तै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता तथा नेकपा (प्रचण्ड–माधव)समूहका अध्यक्ष माधवकुमार नेपालले नेपालले निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने समय सकिएको बताए ।

नेपालले भने, ‘राजतन्त्र विरोधी आन्दोलनका क्रममा पनि मैले भनेको थिएँ । नेपालमा राजतन्त्र तानाशाहा भयो अब राजतन्त्रको आयु सकियो । आज पनि म यो विशाल सभालाई सम्बोधन गर्दै भन्छु निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी ओलीको पनि नेतृत्व गर्ने आयु अब सकियो ।’

प्रधानमन्त्री ओलीले एकपछि अर्को अलोकतान्त्रिक कदम चालेको बताउँदै नेता नेपालले जनमतविरुद्ध लागेकाले नेपाली जनता सडकमा उत्रिएको बताए ।

उनले संविधानको भावना विपरीत गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई अस्वीकार गरिने बताए ।

संविधानको प्रावधानलाई कुल्चेर यसको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु कुनै पनि हिसाबले उचित नभएको उनले बताए ।

संसद् विघटन संविधान, जनता, राजनीतिक दलको भावना, नेपाली जनताले गरेको क्रान्ति, परिवर्तनको आकांक्षाअनुरुप तथा नेकपाको निर्णय अनुरुप छ त भनी प्रश्न गर्दै उनले भने, ‘यो कदम हामीलाई स्वीकार्य छैन ।’

पटकपटक प्रतिनिधिसभा विघटन भएर मुलुक स्थिरतामा प्रवेश गर्न नसकेको भनेर संविधानमा स्पष्टसँग विघटन गर्न नसक्ने प्रावधान राखिएको स्मरण गर्दै उनले संसद भित्र प्रधानमन्त्री निर्वाचित हुन नसक्ने अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्ने व्यवस्था गरिएको बताए ।

अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगेको र त्यहाँबाट संविधानको मर्म र भावनानुसारको फैसला आउने विश्वास व्यक्त गरे ।

‘मलाई पूरै विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मा पाएको निकायबाट संविधानको मर्म, प्रावधान, जनताको अभिमतअनुसार समुचित व्याख्या हुनेछ’, उनले भने, ‘प्रतिनिसभा पुनःस्थापना भइछाड्छ, हुन्छ, हुन्छ, हुन्छ ।’

प्रतिनिधिसभा विघटन भयो अब के हुन्छ भनेर कोही पनि चिन्तित हुनु नपर्ने उल्लेख गर्दै उनले सरकारको कदमविरुद्ध सडकमा उत्रिनाको विकल्प नभएको बताए ।

‘हामी देशलाई सही बाटोमा, समाजवाद तथा समृद्धिको दिशामा, सामाजिक न्याय, समानताका आधारमा समाजको पुनःसंरचना गर्न चाहन्छौँ । त्यो काम गर्ने शक्ति नेकपाबाहेक कोही छैन’, उनले भने ।

समाजवादलाई अगाडि बढाउनुपर्ने र गणतन्त्रलाई समृद्ध बनाउनुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधान, लोकतन्त्रको मूल्यमान्यता, जनाधिकार र जनचाहनाका विरुद्ध कदम चालेको आरोप उनले लगाए ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत सबै राजनीतिक दल, बुद्धिजीवी सडकमा उत्रेको उल्लेख गर्दै उनले प्रतिनिधिसभाको पुनःबहाली गरेर देशलाई सही दिशामा लैजान सबै शक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।

प्रधानमन्त्रीको पदमा बसेको व्यक्तिले पार्टीभन्दा ‘अलग भएर स्वेच्छाचारी ढङ्गबाट काम गर्न नपाउने प्रष्ट पार्दै उनले पार्टी नेतृत्व गरेको व्यक्ति पार्टी अनुशासनअनुसार नचल्दा समस्या भएको पैदा भएको विचार व्यक्त गरे ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई अस्वीकार गर्नेबाहेक अर्को उपाय नभएको उल्लेख गर्दै उनले संविधानमा नभएको प्रावधान विपरीत कदम चालेकाले पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरेको प्रष्ट्याए । उनले भने ‘उहाँलाई पार्टी अध्यक्षबाट हटाइएको हो । पार्टी सदस्यबाट हटाएका छैनौँ ।’

प्रतिनिधिसभा विघटन गर्ने कदमप्रति पश्चाताप गरेर आएमा ओलीसँग सहकार्य गर्न आफूहरु तयार रहेको उनले बताए । उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै वामपन्थी, लोकतन्त्रवादी, परिवर्तनकारी एवं नागरिक समाजका अगुवालाई एकताबद्ध हुन पनि आग्रह गरे ।

नेकपामात्र होइन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दल सडकमा उत्रिएका छन् । यसले ओलीको कदमलाई प्रश्न गरिरहेको उनले बताए ।

त्यस्तै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि बलात्कार गरेको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड माधव समूहले आयोजना गरेको प्रदर्शनमा सहभागीलाई सम्बोधन गर्नेक्रममा उनले पटक पटक सडकमा आउने रहर नभएपनि प्रधानमन्त्री ओलीले बाध्य पारेको बताए ।

नेता खनालले भने, ‘अहिले देशभरबाट राजनीतिक दल, नागरिक समाज सडकमा उत्रिएका छन् । हामीलाई हरेक पटक सडकमा आउन रहर होइन । केपी ओली जस्ता तानाशाहले लोकतन्त्रलाई खोस्ने प्रयास गरेका छन् । संविधानमाथि बलात्कार गरेका छन् । त्यसैले बाध्य भएर सडकमा उत्रनु परेको छ ।’

उनले बालुवाटार अहिले तानाशाहको एक गुट मात्र रहेको बताए । जनताले लोकतन्त्रको रक्षा गर्दै देशको विकास र समृद्धिका लागि दिएको भोट प्रधानमन्त्री ओलीले दुरुपयोग गरेको आरोप लगाए ।

नेकपाका शीर्ष नेता ओलीविरूद्ध एकमुख मात्र भएनन् । ओली कदम सच्याएरै छाड्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : ३५ बजे

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज संकलन केन्द्र 

सिन्धुपाल्चोक– कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४

परराष्ट्रमन्त्री मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवको भेट

अमेरिका – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् ।

पून्यमानलाई भेट्रान चेस उपाधि

काठमाडौं – पूर्व राष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्रप्रसाद

दुई वर्षमा बन्नुपर्ने पुल आठ वर्षमा निर्माण सम्पन्न

तुलसीपुर– दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण