हुम्लामा नेपाली भूमि मिचिएको छैन भन्न सरकारलाई किन यति हतार ? | Khabarhub Khabarhub

हुम्लामा नेपाली भूमि मिचिएको छैन भन्न सरकारलाई किन यति हतार ?



काठमाडौँ– मुख्य विपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचे वा नमिचेको विषयमा अध्ययन गर्न गएको टोलीले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

नाम्खा गाउँपालिकाको लिमीमा चीनले नेपाली भूमि मिचेर संरचना तयार गरेको र नेपालीहरूलाई नै प्रवेश गर्न नदिएको भन्ने समाचार आएपछि नेपाल सरकारले चीनले नेपाली भूमि नमिचेको र सीमाभन्दा एक किलोमिटर पर चिनियाँ भूमिमै संरचनाहरू बनाएको जनाएको थियो ।

नेपाल–चीन सीमाको ११ नम्बर स्तम्भ हराएको भनिए पनि भेटिएको जनाइएको छ । हुम्ला सदरमुकामबाट अध्ययनका लागि पुगेको सरकारी टोलीले प्रतिवेदन परराष्ट्र मन्त्रालय बुझाइसकेको छ । नेपाली भूभाग मिचिएको भनेर सञ्चार माध्यमसँग कुरा गरेका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

के भएको हो ?

नाम्खा गाउँपालिका-६ मा पर्ने गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भूभागमा भवन निर्माण गरेको स्थानीयवासीहरूको भनाइ छ । दुई देशको सीमानाबाट एक किलोमिटर वर नेपाली भूभागमा चिनियाँ पक्षले भवन बनाउने काम अन्तिम चरणमा पुर्‍याएको स्थानीयबासीहरूले बताएपछि समाचार आएको थियो ।

लाप्चा क्षेत्र पुगेर फर्किएका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले नेपाली भूभागमा चिनियाँ पक्षले व्यापारिक प्रयोजनका नौ वटा भवन बनाएको बताएका थिए । लाप्चा क्षेत्रको नेपाली भूभाग गबु याल्मामा ब्लक बनेको भन्ने समाचार थियो ।

२०६६ सालमा लिमी लाप्चाको सडक निर्माण गर्ने क्रममा सो स्थानमा तीन वटा भवन बनेका थिए । फेरि चीनले भवन थपेको स्थानीयबासीहरूको भनाइ छ । समाचार आएपछि नेपालस्थित चिनियाँ दूतावासले नेपाली भूमि नमिचेको जिकिर गर्दै नेपालले सीमाना प्रमाणित गर्न सक्ने जनाएको थियो ।

लगत्तै नेपालको परराष्ट्र मन्त्रालयले पनि नेपाली भूमि चीनले नमिचेको भन्दै विज्ञप्ति जारी गरेको थियो । हराएको भनिएको ११ नम्बर पिलर भेटिएको भए पनि चीनले सीमा मिचेको हो कि होइन भन्ने विषयमा अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोली उक्त क्षेत्रमा पुगेको थियो ।

काठमाडौंसहितका स्थानमा विरोध

चीनले नेपाली भूभाग मिचेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघका नेता—कार्यकर्ताहरूले सोमबार गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपका क्रममा पक्राउ परेका ६ जना साँझ रिहा भएका थिए ।

नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले काफ्लेले खबरहबसँग भने, ‘नाम्खामा चीनले नेपाली भूभाग मिचेको हो । लगभग डेढ किमि मिचिएको छ । एक वर्षअघिदेखि ठूला भवन निर्माणको काम भइरहेको छ ।’ चीनले नेपाली भूमि मिचेको विषयमा नेपालको कम्युनिष्ट सरकारले विरोध नजनाएको उनको आरोप छ ।

चीनले हुम्लासहित अन्य स्थानमा समेत नेपाली भूभाग मिचेको काफ्लेको आरोप छ । उनले भने, ‘हुम्लामा मात्रै मिचिएको होइन, चीनले नेपालको धेरै भूभाग मिचेको छ तर सरकार मुकदर्शक बनेर बसेको छ ।’ चीनले सीमा मिचेको भन्ने विषयमा नेपाली कांग्रेस र नेविसंघले सडकमा विरोध गर्ने निर्णय गरेका छैनन् । काफ्लेले आफूहरू स्वतन्त्ररूपमा सडकमा आएको बताए । सीमा मिचिएको विषयमा जनतालाई जागरुक बनाउने आफूहरूको उद्देश्य उनको भनाइ छ ।

गाउँपालिका अध्यक्षको टोली प्रस्थान

सीमा क्षेत्रको स्थलगत अध्ययनका लागि नाम्खा गाउँपालिका अध्यक्षसहितको टोली लिमीतिर गएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार सोमबार बिहान अध्यक्ष विष्णुबहादुर तामाङ र वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङसहितका पदाधिकारीहरू लिमीतिर हिँडेका हुन् । टोलीमा हुम्लाबाट प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामा पनि सहभागी छन् ।

मिचिएको भनिएको सीमा क्षेत्रमा पुग्न गाउँपालिकाको केन्द्रबाट हिँडेर करिब ३ दिन लाग्ने न्यौपानेले बताए । उनले भने, ‘उहाँहरू आज (सोमबार) बिहान जानुभएको हो । गाडीबाट जानुभएको छ । भोलि बिहानसम्ममा पुग्ने सम्भावना छ ।’

मङ्गलबार पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभामा प्रतिपक्षी दलको नेता रहेका जीवनबहादुर शाही समेत मिचिएको भूभाग अध्ययनका लागि जाने भएका छन् । शाहीका स्वकीय सचिव राजबहादुर रोकायाका अनुसार मङ्गलबार शाहीसहित कांग्रेसका अन्य स्थानीय नेता समेत जानेछन् । नेता शाहीले हुम्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेका छन् ।

कांग्रेसको विरोध

कांग्रेसले हुम्लामा सीमाबारे स्थलगत अध्ययनको रिपोर्ट आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयको धारणा सार्वजनिक हुनु कमजोरी हो भन्ने ठहर गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीसमेतको टोलीले अध्ययन गरी सदरमुकाम फकिर्नुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसङ्गत नदेखिएको टिप्पणी गरेका थिए ।

अध्ययन टोलीले गत बुधबार ११ नम्बर स्तम्भ भेटेको र चीनले निर्माण गरेको १२ नम्बर स्तम्भबाट भित्र हो कि बाहिर भन्ने अध्ययन टोलीको निष्कर्षपछि मात्र सीमा मिचिएको हो कि होइन भन्ने निष्कर्ष पुग्न सकिने स्थितितर्फ सरकारले हेक्का नराखेको कांग्रेसको भनाइ छ ।

सीमा मिचिएको ठहर भए चीन सरकारसमक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रियामार्फत समाधानमा पुग्न पनि कांग्रेसले सरकारलाई सचेत गराएको थियो ।

अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता अरुणकुमार सुवेदी चीनले हुम्लामा अतिक्रमण गरेको छैन भन्ने आधार प्रष्ट पार्नुपर्ने बताउँछन् । उनले भने, ‘सरकारले भन्नुपर्‍यो, चीनसँगका सीमास्तम्भहरूको जिपिएस कोर्डिनेट योयो हो, त्यसका आधारमा सीमांकन गर्दा यस्तो देखिन्छ ।’

सुवेदीका अनुसार स्तम्भ भएको ठाउँको जीपीएस कोर्डिनेट थाहा हुन्छ । दुई वटा स्तभको कोर्डिनेट थाहा भएपछि बीचको भूभागको सीमाना प्रष्ट हुन्छ । सुवेदीको प्रश्न छ, ‘यति कुरा भन्न परराष्ट्र मन्त्रालयलाई किन गाह्रो भएको हो ?’

सरकारले चीनले आफ्नो प्रयोजनका लागि नेपालभित्र जे गरे पनि हामी चीनको पक्षमा उभिन्छौँ भन्ने दासत्व स्वीकार गरेको हो कि भन्ने सुवेदीको शंका छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : ३१ बजे

एक खेलअघि नै अस्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज

एडिलेड – अस्ट्रेलियाले भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला एक खेल अघि

कञ्चनपुरमा जुवातास खेलिरहेका १२ जना पक्राउ

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज

पाकिस्तानमाथि दक्षिण अफ्रिकाको शानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा

काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट म्याचमा शानदार जित

ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा

रसुवा- नेपाल–चीनबीचको सीमा क्षेत्र ल्हेन्दे खोलामा निर्माणाधीन मितेरी पुल(बेलिब्रिज) पुनःनिर्माण

सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना, तीन महिलाको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बिहीबार एक बोलेरो जीप