एजेन्सी- कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
बिहिबार नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५–० गोल अन्तरले पराजित गरेको हो । खेलको चौथो मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
२८ औं मिनेटमा क्लेमेन्ट लेन्गलेटले बार्सिलोनाको अग्रता दोब्बर बनाए । कप्तान मेस्सीले ५९ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे ।
अर्थरले ७७ औं मिनेटमा बार्सिलोनालाई ४–० ले अघि बढाए । खेल सकिन एक मिनेट बाँकी रहँदा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै क्लबलाई फराकिलो जित दिलाए ।
विहीबार भएको खेलमा गरेको दुई गोलसँगै मेस्सीले बार्सिलोनाबाट ५ सय गोल पुरा गरेका छन् ।
बार्सिलोनासंगै रियल मड्रिड, भ्यालेन्सिया, एट्लेटिको विल्वाओ, भिल्ला रियल, ग्रानाडा, रियल सोसिडाड र मिरन्डासले अन्तिम ८ मा स्थान पक्का गरेका छन् ।
प्रतिक्रिया