नारायणी अस्पतालकै २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण | Khabarhub Khabarhub

नारायणी अस्पतालकै २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सम्भावित संक्रमित अन्तिम अवस्थामा मात्रै पुग्छन अस्पताल


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्सामा कोरोना संक्रमणको अवस्था जोखिमपूर्ण बन्दै गएको छ। शुक्रबार नारायणी अस्पतालमा कार्यरत २८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले अस्पतालमै कार्यारत २८ जनामा कोरोना संक्रमण पुष्टि भएको खबरहबलाई बताए ।

डा उपाध्यायका अनुसार संक्रमण पुष्टि भएका अस्पतालका कर्मचारीमध्ये ८ जना चिकित्सक छन् । उनीहरू मध्ये २ जना फिजिसियन, ४ जना अर्थोपेडिक सर्जन, एकजना सर्जन, एकजना मेडिकल अधिकृत छन् ।

यस्तै ६ जना नर्सिङ स्टाफ, ४ जना पारामेडिक्स अहेब, तथा एचए, एकजना एम्बुलेन्स चालक, एकजना प्रशासन तर्फको कर्मचारी, ३ जना कार्यालय सहयोगी र अन्य सरसफाइका कर्मचारी छन् ।

अस्पतालका २८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका सेवाहरू बन्द गरिएको डा उपाध्यायले बताए । डा उपाध्यायका अनुसार पर्सामा हिजो मात्र ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्सामा हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ पुगेको डा उपाध्यायले जानकारी दिए ।

अस्पतालमा आइसोलेसनको अभाव
नारायणी अस्पतालमा हाल ६० जना कोरोना संक्रमित उपचारत छन् । ती मध्ये ४ जना आइसियुमा छन् । यस्तै अस्पतालले व्यवस्थापन गरेको फोर्स होम आइसोलेसनका संक्रमितको संख्या २ सयभन्दा बढी रहेको डा उपाध्यायले जानकारी दिए ।

आज थपिएका अस्पतालकै कर्मचारीलाई आइसोलेसनमा राख्ने स्थान समेत नभएको डा उपाध्यायले बताए । ‘अहिले मैले मेरे अस्पतालका कर्मचारीलाई पनि अस्पतालको आइसोलेसनमा राख्न सकेको छैन,’ डा उपाध्यायले भने, ‘ अहिले २ सयभन्दा बढी संक्रमितहरू फोर्स होम आइसोलेसनमा हुनुहुन्छ ।’

पर्सामा अर्को कोरोना विषेश अस्पताल र सोही अनुसारको जनशक्ति आवश्यत रहेको उनले बताए ।

छैनन् चिकित्सक

अस्पतालका ८ जना चिकित्सकसहित ठूलो संख्यामा नर्स र अन्य स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव भएको छ ।

पर्सामा कोरोना संक्रमितहरू बढ्दै गएकाले अस्पतालले केन्द्र सरकारसँग चिकित्सक तथा नर्सिङ स्टाफ माग गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उपाध्यायले स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागमा ४ जना फिजिसियन, १० जना मेडिकल अफिसर र १४ जना नर्स र अन्य केही सहयोगीहरू माग गरेको बताए ।

यस्तै कोरोना संक्रमितको व्यवस्थापन र उपचारका लागि पर्सामै रहेका निजी क्षेत्रका चिकित्सकहरूलाई पनि सेवामा खटिन आग्रह गरेको उनले बताए ।

‘अस्पताल सञ्चालन गर्न मैले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागसँग कुरा गरेर चिकित्सक, नर्स तथा अन्य कर्मचारी माग गरेको छु । यहाँको अवस्थाबारे जानकारी गराएको छु । सायद केन्द्र सरकारले जनशक्ति पठाउँछ होला,’ डा उनले भने, ‘मैले यहाँ पनि निजीमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहयोगका लागि आब्हान गरेको छु । हेरौं सहयोग आउँछ होला।’

परीक्षण नै कम

पर्सामा लकडाउन कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै गएका छन् । समुदायमा कोरोना संक्रमणको आँकलन गर्न भने अहिले नै नसकिने डा उपाध्याय बताउँछन् । संक्रमणको अवस्था अनुसार परीक्षणको दायरा कम भएकाले समुदायको अवस्था भन्न नसकिने उनको तर्क छ । तर विभिन्न क्षेत्रका धेरै व्यक्तिहरूमा कोरोना देखिएकाले कोरोना समुदायमा गएको भन्न सकिने उनले बताए ।

‘कोरोना समुदाय स्तरमा गयो भन्न अहिलेको नमुना संकलनको अवस्थाले पुष्टि गर्न गाह्रो छ,’ डा उपाध्यायले भने, ‘तर तर समुदायमा गएको छ भनेर निक्यौल गर्न सकिन्छ । किनकी धेरै तह र तप्काका व्यक्तिहरूमा कोरोना पोजेटिभ आएको छ, सरकारी कर्मचारी, व्यपारी, उद्योगी, शिक्षक, अस्पतालका कर्मचारी, अस्पतालका कर्मचारीको परिवारका सबै सदस्यमा पोजेटिभ आएको छ । वीरगञ्ज महानगरपालिकाका हरेक वडाका विभिन्न तह र तप्कामा काम गर्ने धेरै व्यक्तिमा संक्रमण देखिएको छ । त्यसैले यो सबैतिर फैलिएको भएर नै यतिधेरै संक्रमित भेटिएका हुन् ।’

डा उपाध्यायका अनुसार पर्सामा कोरोना परीक्षण गर्न पनि चुनौती छ । अस्पताललमा दैनिक ३ सयदेखि ४ सयको हाराहारीमा नमुना परीक्षण भइरहेको छ । नारायणी अस्पताल आफैले पनि अस्पतालमा आएका आशंका गरिएकाहरूको नमुना संकलन गरी परीक्षण गरीरहेको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका र स्वास्थ्य कार्यालयले पनि कन्ट्याक ट्रेसिङका परेकाको नमुना संकलन गरेको छ । तर हाल भइरहेको परीक्षणको दरले मात्र पर्सामा कोरोना संक्रमित पहिचान र रोग नियन्त्रण हुन नसक्ने उनी बताउँछन् ।
उनले भने, ‘अहिले भइरहेको नमुना संकलन र परीक्षणले मात्र पुग्दैन, दिनमा २ सय, ४ सय ५ सय नमुना संकलन गरेर मात्र समुदायमा कोरोना संक्रमणको अवस्था भन्न सक्ने अवस्था छैन । परीक्षणको दायरा बढाउन जरुरी छ ।’

मास टेस्टिङ हुन सकेन

डा उपाध्यायका अनुसार वीरगञ्जमा हरेक वडामा संक्रमितहरू रहेकाले मास टेस्टिङ अर्थात समुदायमा कोरोना परीक्षण गर्न आवश्यक छ ।

तर स्थानीय तहको क्षमताले पर्सामा समुदायमा कोरोना परीक्षण गर्न सम्भव नभएको उनले बताए । ‘अहिले यहाँ मास टेस्टिङ गर्न जरुरी छ, तर स्थानीय तहबाट सम्भव छैन,’ डा उपाध्यायले भने, ‘त्यसैले मैले स्वास्थ्य मन्त्रालयमा पनि यो कुरा गरेको छु, मन्त्रालयबाट सहयोग भयो भने छिट्टै समुदायमा अरु पनि परीक्षण गरेर समुदायको अवस्था निक्यौल गर्न सक्छौं ।’

सम्भावित संक्रमित जटिल अवस्थामा मात्रै पुग्छन अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि मापदण्ड तय गरेको छ । जसमा कोरोनाको लक्षण देखिएका, बिदेशबाट आएका, कोरोना संक्रमतिको सम्पर्कमा रहेका तथा स्वास्थ्यकर्मीले आशंका गरेका व्यक्तिको कोरोना परीक्षण गर्नुपर्ने उल्लेख छ ।

तर पर्सामा कोरोना आशंका गरिएको व्यक्तिहरू स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पतालमा पुग्न थालेको डा उपाध्याय बताउँछन् ।

‘अहिले सुचना लुकाउने काम भएको छ । कोरोना संक्रमणको डर छ । तर त्यो डरले धेरै बिरामीहरू अन्तिम अवस्थामा मात्र अस्पताल आउन थालेका छन्,’ उनले भने, ‘अहिले धेरै सम्भावित संक्रमितहरू ज्वरो आएको एकसाता भइसकेपछि, अवस्था जटिल भएपछि मात्र अस्पताल आउने सम्पर्क गर्ने गर्न थालेका छन् ।’

डा उपाध्यायका अनुसार पर्सामा धेरै बिरामीहरू रोग लुकाएर घरमै रहेको पनि बताए । ज्वरो आएका बिरामी भनेपछि निजी अस्पतालहरूले समेत भर्ना गर्न नमान्ने गरेको उनले बताए ।

बिरामी आफै सजग नभए पर्सामा कोरोना संक्रमणको अवस्था अझै भयावह बन्न सक्ने डा उपाध्यायले बताए ।

रोकिएन भारतीयको आउजाउ

कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय पार्सले निषेधाज्ञा जारी गरेपनि त्यसको पूर्ण पालना नभएको डा उपाध्याय बताउँछन् ।

‘अहिले पर्सामा हामी कोही पनि सुरक्षित छैनौं, यहाँ निषेधाज्ञा जारी गरिएको छ, तर त्यसलाई नागरिकले पूर्ण पालना गरेका छैनन्,’ डा उपाध्यायले भने, ‘मास्क नलगाइ हिड्ने, भिडभाड नगरौं, भौतिक दुरी कायम गरौं भनेपनि त्यसको पालना भएको छैन, निषेधाज्ञा मुख्य बजार र सडक क्षेत्रमा मात्र लागु भएको छ, गाउँ बस्तिमा छैन ।’

डा उपाध्यायका अनुसार कामको सिलसिलामा दिनभरी पर्सामा प्रवेश गर्ने र राति भारत जाने भारतीयहरू पनि छन् । यस्तै खुल्ला सीमा रहेकाले भारत र नेपालको सीमामा आवतजावत कायमै छ । जसले गर्दा पनि पर्सा, बारा लगायतका जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएको उनको बुझाइ छ ।

‘बोडर बन्द छ भनिएको छ, तर सानासाना बाटोहरूबाट मानिसहरू आवतजावत गर्न सकिरहेका छन्, हामीकहाँ अहिले कामको सिलसिलामा उहाँ आउने र दिनभरी यहाँ बसेर बेलुका भारत फर्किनेहरू पनि छन्,’ डा उपाध्यायले भने, ‘यस्तो क्रम अहिलेपनि कायमै छ । बोडरमा आवतजावत पूर्ण रुपमा बन्द गर्न सकेको छैन । सर्वसाधारण आफैले सुरक्षाका उपाय अपनाएका छैनन् । सर्वसाधारण सचेत नभएर पनि यो अवस्था आएको छ ।’

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  २ : ०९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड