महालक्ष्मीको विशेष पूजा र जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा | Khabarhub Khabarhub

महालक्ष्मीको विशेष पूजा र जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् ।

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ ।

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि शुक्रबार नै समाप्त भएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ ।

शुक्रबार राति नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइएको छ ।आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।

आश्विन शुक्ल पूर्णिमाको  सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतम बताउँछन् ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ ।

यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आश्विन शुक्ल पूर्णिमाको राति जुवा खेल्ने विधान समेत शास्त्रीय आधारमा रहेको धर्मशास्त्रविद् गौतमले बताए । महालक्ष्मीसँगै शुक्रबार राति हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिएको छ ।

कोजाग्रत पूर्णिमा शुक्रबार परे पनि पूर्णिमा व्रत भने आज रहेको समितिले जनाएको छ । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । शुक्रबार २७ घडी ५८ पला अर्थात् बेलुकी ५:२५ बजेसम्म चतुर्दशी तिथि थियो भने त्यसपछि पूर्णिमा तिथि लागेको छ ।

मध्यरातमा पूर्णिमा शुक्रबार परेकाले कोजाग्रत पूर्णिमा हिजै मनाउने निर्णय समितिले गरेको हो । आज पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७:३३ बजेसम्म छ ।

चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायङ्कालमा पूर्णिमा तिथि चाहिने भएकाले आज परेको हो । कार्तिक स्नान र आकाशदीपदान पनि आजदेखि नै शुरु हुने जनाइएको छ ।

वैदिक सनातन धर्ममा कार्तिक मासमा गरिने स्नान र दानको ठूलो महत्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : १८ बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर