नयाँ वर्ष २०२१ सुरू, कोरोना महामारीलगायतले सन् २०२० पीडादायी | Khabarhub Khabarhub

नयाँ वर्ष २०२१ सुरू, कोरोना महामारीलगायतले सन् २०२० पीडादायी


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरू भएको छ । नेपाली समयअनुसार बिहीबार मध्यराति नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ ।

अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, मलेसिया, सिंगापुर, क्यानडा, भारत लगायतका मुलुकमा आतिसवाजीसहित नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ ।

नयाँ वर्ष २०२१ भयरहित शान्त, समृद्ध र खुशीको वर्ष हुनेमा विश्वभरका नेताहरूले अपेक्षा गरेका छन् । तर, कोरोना भाइरसको नयाँ प्रजाति तथा तेस्रो लहरको पीडाकाबीच संसारभर खास उल्लास देखिएन ।

सन् २०१९ को अन्त्यतिरबाटै सुरू भएको कोरोना महामारीको असरले अहिलेसम्म छाडेको छैन । यसको सबैभन्दा बढी मार सन् २०२० मा देखियो ।

विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ ।

सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मारमा पार्‍यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो । कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरु भएका छन् ।

कोरोना महामारी

सन् २०२० मा बर्षको सवैभन्दा ठूलो घटना भनेकै कोरोना महामारी हो । यो यस बर्षको मात्रै नभई यस युगकै ठूलो घटनाको रूपमा रहनेछ ।

कोरोनाको सर्वव्यापी र सर्वपक्षीय क्षतिको कुनै हिसाव किताव गरेर नै सम्भव छैन । तर मानवीय र आर्थिक क्षतिको मात्रै बढी चर्चा भएको छ ।

कोरोनाका कारण अहिलेसम्म १८ लाख २४ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८३ करोड ७६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

आर्थिक क्षतिको पनि भरपर्दो विवरण अझै आएको छैन । महामारी चलिरहेकै बेलामा गत नोभेम्बर ८ तारिखदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ ।

फाइजर र बायोएनटेकले विकास गरेको खोप प्रयोग भइसकेको छ भने अन्य खोपपनि प्रयोग गर्न मिल्ने अन्तिम चरणमा रहेकाले महामारी न्युनिकरण हुने अपेक्षा गर्दै सन् २०२० लाई विदाई गरिँदैछ ।

इयूबाट बोलायतको बहिर्गमन

लामो विवाद र रस्साकस्सी हुँदै युरोपेली संघबाट बेलायत बाहिरिएको छ ।

जनवरी ३१ मा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको हो । पछिल्लो तीन वर्षदेखि युरोपेली संघबाट बाहिरिने प्रक्रिया अन्यौलमा परेको थियो ।

यूरोपेली संघबाट बाहिरिएपछि अहिले ब्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ ।

ट्रम्पमय राजनीति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहे पनि सन् २०२० कार्यकाल नवीकरण गर्ने बर्ष भएकाले पनि बढी चर्चा भयो ।

गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसकेपनि उनले निर्वाचनको बेलाको आरोप प्रत्यारोप, मास्क बहिस्कार, कोरोनाप्रतिको उनको दृष्टिकोणलगायतका कारणले उनी चर्चाको केन्द्रमा नै रहे ।

दोस्रो कार्यकाल गर्न नपाउने दुर्लभ राष्ट्रपतिको रुपमा उनलाई यस बर्षले टुंगो लगायो । उनलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित भए । निर्वाचनपछि पनि उनले नतिजा अस्वीकार गरेर थप चर्चा बटुले ।

बर्षको सुरुवातमा फेब्रुअरी ६ तारिखका दिन तल्लो  सदनमा  पारित ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटले खारेज गर्‍यो।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता

अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो ।

सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गरेका थिए । त्यो घोषणा उनको कार्यकालको अन्त्यतिर मात्रै लागु भयो ।

तालिवान विद्रोही र अमेरिकाबीच अफगानिस्तानमा १८ बर्षभन्दा बढी समय युद्ध चलेकोमा अहिले कम भएको ठानिएको छ । तर शान्ति प्रक्रिया भने अझै पनि तार्किक निश्कर्षमा पुगेको छैन ।

सलह आतंक

सन् २०२० विश्वव्यापी चर्चित घटना मध्ये सलह आतंक पनि एक हो ।

विषेश गरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो । कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य सङ्कट आउने सम्मको विश्लेषण गरिएको थियो ।

सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह नै एक बर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो ।

त्यसपछि पाकिस्तानमा ठूलो क्षति पु¥याउँदै भारत हुँदै नेपाल छिरेको थियो । यसले यी देशहरुको कृषिमा ठूलो क्षति गरेको छ ।

 

ठूला दुःखद घटना 

सन् २०२० बर्षका ठूला घटनामध्ये इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरी नै तरङ्ग फैलायो ।

जनवरी ३ मा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो । इरानको सेनाले पछि ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकारोक्ति गरेको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो ।

खासगरी इरान र यूक्रेनसहित विभिन्न देशका गरी १७६ नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएका  थिए । लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा परी झण्डै ८० जनाको मृत्यु भयो ।

अष्ट्रेलियामा लागेको डढेलोले धेरै जीव जन्तुले ज्यान गुमाए । आगलागी नियन्त्रण गर्न हम्मे हम्मे पर्‍यो । आगलागीको असर अन्य देशहरुमा पनि पर्‍यो ।

विश्वचर्चित घटनामध्ये अमेरिकामा एक जना अफ्रिकी–अमेरिकीको प्रहरीले हत्या गरेपछि  रङ्गभेद आन्दोलनले अमेरिका तरङ्गित भयो ।

किमको मृत्युको हल्ला 

बेला बेलामा अमेरिकालाई चुनौती दिने र आणविक हतियार रहेको शक्तिशाली मुलुक मानिने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्युको हल्लाले पनि सन् २०२० बर्ष धेरैको ध्यान खिच्यो ।

दक्षिण कोरिया र केही पश्चिमा सञ्चार माध्यमहरूले किम २० दिनसम्म सम्पर्कविहिन हुँदा उनको मृत्यु नै भएको समाचार सम्प्रेषण गरेका थिए ।

उनको निधन भएको समाचारप्रति विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले समेत चासो र चिन्ता व्यक्त गरेका थिए ।

सर्वत्र चासो र चिन्ता भइरहेकै बेला झण्डै २० दिनपछि उनी प्योङयाङ नजिकै रहेको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहबाट सार्वजनिक भएका थिए । उनको मृत्युको चर्चा यसअघि पनि पटक पटक हुनेगरेकोमा यस पटक पनि झुटो सावित भएको छ ।

अल विदा म्यारोडोना

फुटबलका सर्वमान्य महान खेलाडी डिएगो म्यारोडोनालाई यसै बर्ष गुमाउनु पर्‍यो । उनले सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाए ।

सन् २००० मा फिफाले मतदान गराउदा अर्जेन्टिनाका फुटबल हस्ती म्यारोडोना शताब्दीको सर्वोत्कृष्ट खेलाडीका रूपमा चयन भएका थिए ।

खेल जगत्मा कतिपयले उनलाई फुटबलमयी खेलाडी र भगवान्समेतको संज्ञा दिने गरेका छन् ।

म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भएका थिए । उनको निधन भएपछि अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो ।

माथि उल्लेखित बाहेक पनि बर्ष सन् २०२० मा विश्वले अरु पनि धेरै प्रभावशाली र स्मरणीय व्यक्तिहरुलाई गुमाएको छ ।

त्यसैगरी अरु धेरै दीर्घकालिन महत्व राख्ने घटनाहरु पनि भएका छन् । धेरै देशले कोरोना महामारीका बीचमा पनि निर्वाचन गरेर नयाँ सरकार बनाएका छन् भने राजनीतिक समीकरण र सीमा विवादमा बेला बेलामा चर्चामा रहेका थिए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ५९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र