कोरोना संक्रमणपछि एक महिनादेखि चिकित्सालय बन्द | Khabarhub Khabarhub

कोरोना संक्रमणपछि एक महिनादेखि चिकित्सालय बन्द



नवलपुर– नवलपरासीपूर्व देवचुली नगरपालिका १६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय झण्डै एक महिनादेखि बन्द छ ।

कोभिड संक्रमणको दोस्रो लहर फैलिएपछि वैशाख दोस्रो साताबाटै चिकित्सालय बन्द गरिएको हो । कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि संक्रमित बिरामी राख्नुपर्ने भन्दै जिल्ला स्तरीय कोभिड व्यवस्थान समिति (डीसीसीएमसी) ले नै खाली गर्न निर्देशन दिएपछि बन्द गरिएको चिकित्सालय व्यवस्थापन समिति अध्यक्ष सन्तबहादुर क्षेत्रीले बताए ।

संक्रमणको जोखिम बढेपछि प्राकृतिक उपचार गराइरहेका डेढ सय भन्दा बढी बिरामीहरुलाई हटाएर वैशाख १७ गतेदेखि चिकित्सालय पूर्णरुपमा खाली गरिएको व्यवस्थापक हरि सापकोटाले बताए ।

पूर्वी नवलपरासीमा कोरोना संक्रमण दर बढ्दै गएपछि एकमात्र मध्यबिन्दु जिल्ला अस्पतालमा बिरामी राख्ने ठाउँ नभएपछि चितवन रेफर गर्नुपर्ने अवस्था आएको थियो । जिल्लामा संक्रमित बढ्दै जाँदा आइसोलेशन अभाव भएको भन्दै डीसीसीएमसीले हरेक पालिकामा आइसोलेशन बनाउन निर्देशन दिइएको थियो ।

जिल्लाको ८ वटै पालिका मातहतमा आइसोलेशनहरु बनाइएका छन् । तर प्राकृतिक उपचारका बिरामी हटाएर खाली गरिएको २ सय बेडको चिकित्सालय भने उपयोगविहीन बनेको छ ।

यसअघि गत वर्ष कोरोनाको पहिलो संक्रमण फैलिँदा मध्यबिन्दु जिल्ला अस्पताल मातहतमा रहने गरी अस्थायी कोभिड अस्पताल बनाइएको थियो ।

प्राकृतिक चिकित्सालयले योग, व्यायाम, प्राणायाम जस्ता योगअभ्यासका साथै प्राकृतिक उपचार पद्धतिबाट बालकदेखि वृद्धसम्म झण्डै २ हजार बिरामीलाई कोरोनामुक्त बनाउन सफल भएको थियो । शत प्रतिशत बिरामी निको बनाउन सफल भएको सामुदायिक चिकित्सालयको आइसोलेशनलाई गण्डकी प्रदेश सरकारले उत्कृष्ट आइसोलेशन ठहर गरेको थियो ।

प्रदेश सरकारबाटै स्वीकृति पाएन

संक्रमणको बढ्ने क्रम नरोकिएपछि र देवचुलीमै कोरोना संक्रमितले टेक्टरमा मृत्युवरण गर्नुपरेको घटनापछि सामुदायिक चिकित्सालय आफैले कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गर्‍यो तर देवचुली नगरपालिका सकारात्मक बन्न सकेन ।

प्राकृतिक चिकित्सालयमा जान डाक्टरहरु नमानेपछि नगरपालिकाले विद्यालय र हेल्थपोष्टमा आइसोलेशन बनाएको देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीले बताइन् ।

ठूलो संख्यामा बिरामी राख्न सकिने चिकित्सालयलाई उपयोग गर्न नगरपालिका सकारात्मक नदेखिएपछि एक्सरे तथा ल्याब मेसिन तथा एमबीबीएस डाक्टरसमेत आफै राखेर कोभिड अस्थायी अस्पताल सञ्चालन गर्ने प्रस्ताव लिएर समितिका पदाधिकारी जेठ ५ गते प्रदेश सरकारसमक्ष पुगेको थियो । तर प्रदेश सरकारले कोभिड अस्थायी अस्पताल सञ्चालन गर्ने अनुमति नदिएपछि चिकित्सालय उपयोगविहीन भएको अस्पताल वरिष्ठ उपाध्यक्ष प्रेम न्यौपानेले बताए ।

सचेत नागरिक समाजको खबरदारी

विगतमा कोरोना संक्रमित राजनीतिक दलका नेतादेखि जनप्रतिनिधि, शिक्षक, कर्मचारीलाई समेत निको बनाएर हाइहाइ बनेको अस्पताल कोरोनाको नयाँ भेरियन्ट फैलिएर विषम परिस्थितिमा पुग्दा चिकित्सालय बन्द गरिएकोमा चिकित्सालय र नगरपालिकालाई खबरदारी गरिएको सचेत नागरिक समाज देवचुलीका संयोजक श्याम शर्मा भुसालले बताए ।

विषम परिस्थितिमा हिजोका दिनमा उत्कृष्ट काम गरेको चिकित्सालय राजनीतिक प्रतिशोधका कारण बन्द राखिनु ठीक नभएको नवलपुर उद्योग संघका अध्यक्ष कृष्ण गौतमले बताए ।

अस्पतालमा उपचार नपाउने हो कि भनेर र आर्थिक समस्याले गर्दा कतिपय जटिल बिरामीसमेत घरमै बस्ने गरेको र घरमै मृत्यु भएका घटना नवलपुरमा थुप्रै छन् । घरमै बसेका त्यस्ता बिरामीलाई उपचार गर्न पनि सुविधा सम्पन्न यस्ता चिकित्सालयलाई कोभिड अस्पताल बनाउन आवश्यक भएको देवचुलीका बासिन्दासमेत रहेका वाईसीएल नवलपुरका अध्यक्ष चन्द्र रानाभाटले बताए ।

जिल्लामा एक मात्र जिल्ला अस्पतालमा आइसीयूसमेत व्यवस्था हुन सकेको छैन । कोरोना संक्रमितले उपचार नपाउँदा चितवन पुग्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १२ : ४० बजे

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रसहितका दलहरू सम्मिलित समाजवादी मोर्चाको बैठक आज

धवलागिरि आँखा अस्पताललाई  उपकरण सहयोग

बागलुङ– धवलागिरि आँखा अस्पताललाई आवश्यक पर्ने उपकरण तथा स्वास्थ्य सामग्री

गणतन्त्र कमजोर भएको छैन, पूर्वराजा आफ्नो ठेगानमा बसून् : पम्फा भुसाल

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राजावादीका विभिन्न समूह जुटाएर

सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज

कैलाली– सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज भएको छ । कैलालीको

चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर

काठमाडौं– नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको