अमेरिका र क्यानडामा गर्मीले बजाएको खतराको घण्टी | Khabarhub Khabarhub

अमेरिका र क्यानडामा गर्मीले बजाएको खतराको घण्टी


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जुन महिनाको अन्तिम दिन, अङ्ग्रेजी क्यालेन्डर अनुसार वसन्त ऋतु सकिएर गृष्म ऋतु शुरू भएको छ । यही समयमा विछट्टै गर्मीले अमेरिकी जनजीवनमा असर पारेको छ ।

केही दिनअघि ओलम्पिक खेलकुदका लागि ओरेगनमा भएको एथ्लेटिक्सको छनोटमा पनि असर परेको थियो । साँझपख हुनुपर्ने धेरै खेल राति अबेला खेलाइए ।

यस्ता धेरै घटना छन् ।

तापक्रम सय डिग्री फरेनहाइट अर्थात करिब ३८ डिग्री सेल्सियस नाघेपछि ब्री ओसीलले सबै ब्लाङ्केट झिकेर झ्यालमा टाँगिन् । उनको चाहना घाम छिर्न नदिनु थियो । हावा तातो भएपछि उनले सूर्यको प्रकाश छेक्न प्रयास गरिरहिन् । पोर्टल्यान्ड, ओरेगन र आसविलमा हरेक वर्ष यही ढङ्गले तापक्रम बढ्न थालेपछि उनी आजित छन् । ब्री ४४ वर्षकी भइन्, दुई बच्चाकी आमा हुन् ।

ब्री भन्छिन्, ‘यो (उच्च तापक्रम) लकडाउनजस्तै हो तर मास्क र भ्याक्सिनले यो समस्याबाट पार पाउने कुरा भएन ।’ उत्तर पश्चिम प्रशान्त महासागरीय क्षेत्रमा जुलाई नहुँदै देखिएको उच्च तापक्रमका कारण अहिले त्यस क्षेत्रको जनजीवनमा असर परेको छ ।

पोर्टल्यान्डले लगातार तीन दिन सबैभन्दा धेरै तापक्रमको रेकर्ड राखेको छ । आइतबार सिटलमा पनि सबैभन्दा धेरै तापक्रम भयो । सीमा क्षेत्रका सिटल र ब्रिटिस कोलम्बियाले पनि सबैभन्दा धेरै गर्मी दिनको रेकर्ड बनाए । त्यहाँ ४८ डिग्री सेल्सियस त सामान्य नै भइसक्यो ।

युनियन अफ कन्सर्डकी वैज्ञानिक क्रिस्टिना डालले यस किसिमको गर्मी पहिला कहिल्यै पनि नभएको बताएकी छन् । उनका अनुसार गएको साता धेरै ठाउँमा सबैभन्दा धेरै तापक्रमको रेकर्ड बन्यो तर एक दिनभन्दा बढी रहेन । मतलब, अर्को दिन पनि तापक्रम बढ्यो । पहिले पनि बढी तापक्रम हुने ठाउँहरूमै यो वर्ष यस्तो समस्या देखिएको हो ।

पेन्सेलभेनियाका वैज्ञानिक माइकल ई म्यान जलवायु परिवर्तनका कारण यस्तो समस्या आएको र बारम्बार मौसममा परिवर्तन हुने गरेको बताउँछन् । म्यान र डाल जस्ता वैज्ञानिकहरू जलवायु परिवर्तनका कारण वातावरणमा मौसमको स्वरूप परिवर्तन हुने बताउँछन् । मानिसको जीवनशैलीका कारण वातावरणमा यस्तो असर परेको धेरै वैज्ञानिकहरूको निष्कर्ष छ ।

युनिभर्सिटी अफ वासिङ्टनका जलवायु तथा स्वास्थ्य अनुसन्धाता क्रिस्टियन एवे यो डरलाग्दो मौसम परिवर्तनले धेरै समस्या उत्पन्न गर्न सक्ने कुराले चिन्तित छन् । उनका अनुसार लु चल्ने घटना धेरै पहिलेदेखिको भए पनि अहिलेको हावा फरक खालको छ ।

दशक अगाडिदेखि नै यस्तो अवस्था नभएको होइन परन्तु, अहिलेको हावाको असर कति समय रहन्छ भन्ने कुराले उनमा चिन्ता थपिएको हो । जुलाईमा अझै सहनै नसक्ने गर्मी हुने हो कि भन्ने चिन्ता वतावरणविदहरूलाई छ ।

उत्तरपूर्वी राज्यहरू न्यु योर्क, फिलाडेल्फिया र बोस्टन महानगर लगायतका क्षेत्रमा बसोबास गर्ने चार करोडभन्दा बढीलाई तातो हावा बहने सम्भावनालाई ध्यानमा राखेर सचेत गराइएको छ । गत बिहीबारसम्म पनि त्यति धेरै गर्मी नभएका कारण पूर्वी क्षेत्रमा वासिङ्टन र ओरेगनमा जस्तो बिछट्टै गर्मी नहोला भन्ने आशा धेरैलाई छ ।

जलवायु परिवर्तनले ल्याउने अनेक समस्यामध्ये उग्र गर्मीको समस्याले मौसमका अन्य समस्याले भन्दा धेरै जनाको ज्यान जान सक्नेछ । युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाकी वातावरणीय सरुवा रोग विशेषज्ञ केट विन्बर्गर उच्च गर्मीका कारण प्रत्येक वर्ष हुने मृत्युको बारे अनुसन्धानमा छिन् । उनको अध्ययनअनुसार सन् २०२० मा गर्मीका कारण हुने मृत्यु धेरै तल झरेको थियो । मुटु रोगलगायत अन्य कारणले हुने मृत्युको तुलनामा त्यो कम्ती नै थियो ।

गर्मीले सिधै मान्छे मर्नेभन्दा गर्मीका कारण अन्य रोगको सम्भावना बढी हुन्छ । धेरै गर्मीले मुटु र फोक्सोसँग सम्बन्धित धेरै क्रोनिक रोगहरू बढाउन सक्छ । विशेषज्ञहरूले अमेरिकाको पश्चिमी क्षेत्रमा बढ्दै गएको गर्मीले भविष्यमा धेरै समस्या उत्पन्न गराउन सक्ने चेतावनी दिएका छन् । यो परिस्थितिलाई गम्भीरतापूर्वक लिनुपर्ने उनीहरूको धारणा छ ।

अमेरिकाका केही ठाउँले तापक्रममा नयाँ रेकर्ड बनाएका छन् । क्यानडाका केही ठाउँमा ८४ वर्षयताकै सबैभन्दा बढी गर्मी भएको छ । केही वर्षयता तापक्रममा हुन थालेको वृद्धि मानिसका लागि चिन्ताको कुरा भएको छ ।

मुल्तनोमाहको एउटा क्लिनिकमा सोमबार गर्मीसँग सम्बन्धित ४३ जना बिरामी देखिए । अन्य दिनमा यस्तो समस्या भएका एक–दुई जना मात्र हुने गरेका थिए । त्यहाँकी सञ्चार संयोजकका अनुसार सोमबार एक दिनको उक्त संख्या विगत वर्षहरूमा गर्मीको पूरा सिजनमा आउने संख्याको आधा हो । त्यसो त उच्च तापक्रम सम्बन्धी समस्याको यकिन तथ्यांक जुटाउन पनि कठिन छ ।

सन् २०२० मा एक स्वास्थ्य जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार पृथ्वीको सतहको तापक्रम र अल्पायुमा निधन हुने अमेरिकी नागरिकको संख्या आपसमा सम्बन्धित देखिएको छ । जसरी पृथ्वीको सतहको तापक्रम वर्षै पिच्छे बढेको छ त्यसै गरी अमेरिकामा अल्पायुमा मर्नेको संख्या पनि बढ्दै छ ।

स्वास्थ्य अनुसन्धानकर्ता एवेका अनुसार कारमा बच्चालाई गर्मीको समस्या बढ्दै गएको धेरैले पत्तो नै नपाउँदैनन् । गर्मीबाट आफ्ना बच्चालाई जोगाउन सचेत रहनुपर्नेमा उनको जोड छ । बच्चाहरू खेल्ने मैदानको अवस्था थाहा पाउन म्यानले पनि अध्ययन गरिरहेका छन् ।

म्यानका अनुसार भविष्यमा हुने मौसम परिवर्तनको पूर्वानुमान गर्न एक मोडल तयार गरिएको छ । अहिलेको पूर्वानुमान मोडेलले मौसममा आउने सबै परिवर्तनको अध्ययन गर्न नसक्ने भएकाले नयाँ मोडेल तयार गरिएको म्यान बताउँछन् ।

हालै गरिरएको एक अध्ययनअनुसार यो शताब्दीको मध्यमा अमेरिकाको मध्यपूर्व र पूर्वी बेलायतमा यस खालको समस्या उत्कर्षमा पुग्नेछ भन्ने पूर्वअनुमान गर्न सकिने आधारहरू देखापरेका छन् । अहिलेका लागि तापक्रम ४० डिग्री सेल्सियसबाट घटाउन सके पनि धेरै अमेरिकीहरूलाई राहत हुनेछ ।

उता क्यानडामा पनि अमेरिकी सीमानजिक र प्रशान्त महासागरीय क्षेत्रमा अहिलेसम्मकै उच्च तापक्रम देखिएको छ । यो साता ४६.६ डिग्री सेल्सियस तापक्रम पुग्यो । क्यानडामा गएको ८४ वर्षमा यस वर्ष सबैभन्दा गर्मी भएको हो । अहिले अमेरिका र क्यानडा दुवै देशले आफ्ना नागरिकलाई सचेत गराएका छन् ।

क्यालिफोर्नियाको दायाँदेखि क्यानडाको भागसम्मको क्षेत्रमा एकै किसिमको मौसम देखिएको छ । बजारमा वातानुकूलन यन्त्र र पङ्खाको माग बढेको छ । वातानुकूलनका लागि बिजुलीको खपत बढेको छ । बार, रेस्टुरेन्ट र स्विमिङ पुलमा नियमित गतिविधि ह्वात्तै घटेको छ ।

भ्यानकोभरबाट २५० किलोमिटर उत्तरपूर्वी लियोटनले गर्मीमा क्यानडाको पुरानो रेकर्ड भङ्ग गरेको छ । यसअघि सन् १९३७ मा सास्केचेवान र बाल्केमा सबैभन्दा बढी, ४५ डिग्री सेल्सियस, तापक्रम भएको थियो । ब्रिटिस कोलम्बियाका अन्य ४० स्थानमा पुरानो रेकर्ड तोडिएको छ ।

क्यानडाका वरिष्ठ मौसमविद् डेभिड फिलिप्स पश्चिम क्यानडामा अहिले दुबईको भन्दा बढी गर्मी भएको बताउँछन् । यो साता धेरै स्थानमा ४७ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पार हुने अनुमान छ । वातानुकूलनका विद्युतीय सामग्रीको माग पूरा गर्न कठिन भएको छ ।

गर्मी महिनामा वहने तातो हावा र उच्च तापक्रमको समस्या अमेरिकामा सन् १९५० मा बढ्न शुरू भएको हो । वातावरणमा भएको धुलोको कारण केही ठाउँमा सन् १९३० मा पनि उच्च तापक्रमको समस्या देखिएको थियो ।

अहिलेको जलवायु परिवर्तन, मौसम परिवर्तन र बढ्दो तापक्रम सबै कारणले आगामी दिनमा भयावह अवस्था हुने पूर्वानुमान पनि हुन थालेको छ । प्राकृतिक सतहको तापक्रम र हावाको तापक्रम उस्तै रहने पनि अनुमान गरिएको छ ।

यसरी बढ्दो तापक्रमका कारण अमेरिकामा सन् १९९९ देखि २००९ सम्ममा प्रतिवर्ष सरदर ६ सय जनाको मृत्यु भएको जनाइएको छ । अमेरिकामा सन् १९८० देखि सन् २०१८ सम्ममा यो चौथो प्राकृतिक विपद्को रूपमा मानिएको थियो ।

आर्द्रता कम भएको समयमा गर्मी हुँदा यसले त्यति समस्या नहुन पनि सक्छ किनकि पसिनामार्फत मानिसले शरीरको तापक्रम नियन्त्रण गर्छ । आर्द्रता बढी हुँदा तापमान धेरै भए पनि पसिना आउँदैन र यसले शरीरलाई दीर्घकालीन असर गर्छ । राति तापक्रम बढी हुँदा शरीरका धेरै अङ्गमा अझ बढी समस्या हुन सक्छ ।

यसरी भौतिक विकाससँगै जलवायु परिवर्तनका कारण मानिसको जीवनमा उच्च तापक्रमको गम्भीर समस्या थपिँदै गएको छ ।

–एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ८ : १० बजे

लोकसभा चुनाव : ४९ सिटका लागि राहुल गान्धीसहति ६९५ उम्मेदवार मैदानमा

नयाँदिल्ली – लोकसभा चुनावको पाँचौ चरणको लागि आज बिहान ७

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन– मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्