ओमिक्रोन भेरियन्ट डेल्टा, गामा, बेटा र अल्फाजस्तै 'भेरियन्ट अफ कन्सर्न’  | Khabarhub Khabarhub

ओमिक्रोन भेरियन्ट डेल्टा, गामा, बेटा र अल्फाजस्तै ‘भेरियन्ट अफ कन्सर्न’ 


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर महामारी बनेर फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट हो, ओमिक्रोन । अरु भेरियन्टका तुलनामा छिटो संक्रमण फैलिने भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसबाट सुरक्षित हुन र सावधानी अपनाउन आह्वान गरिसकेको छ ।

कोरोनाको यो भेरियन्ट फैलिन नदिन विभिन्न राष्ट्रले आपतकालीन रूपमा यात्रा प्रतिबन्ध लगाइसकेका छन् । भ्याक्सिन निर्माता कम्पनी आफ्नो उत्पादनलाई अपडेट गर्ने तयारी गरिसकेका छन् । यद्यपि यो कोरोना भाइरससँगको अन्तिम लडाइँ भने होइन ।

कोरोना भाइरसको विभिन्न भेरियन्टसँग हामी भिड्दै आइरहेका बेला यो क्रम कहिलेसम्म ? भने जिज्ञासा स्वभाविक रुपमा उत्पन्न भएको छ । डब्लुएचओले यो भाइरसको भेरियन्टलाई ‘भेरिअन्ट अफ कन्सर्न’, ‘भेरिअन्ट अन्डर मनिटरिङ’ तथा ‘भेरिअन्ट अफ इन्ट्रेस्ट’का रूपमा व्याख्या गरेको छ ।

हालसम्म देखिएकामध्ये पाँच कोरोना भाइरसलाई ‘भाइरस अफ कन्सर्न’को रूपमा विश्व स्वास्थ्य सङ्गठनले लिएको छ । यसमा अल्फा, बिटा, गामा, डेल्टा र ओमिक्रोन रहेका  छन् ।

ओमिक्रोन भेरियन्ट पहिलोपटक गत ९  नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । यसको सङ्क्रमण छिटो फैलिएपछि डब्लुएचओले चासोका साथ हेरेको थियो ।

“यो नयाँ भेरिअन्ट (बी १.१.५२९) एकदमै छिटो फैलिएको पाइएको छ,”  साउथ अफ्रिका सेन्टर फर इपिडेमिक रेस्पोन्स एन्ड इनोभेसन तथा स्टेलेनबोस्ककी जेनेटिक  रिसर्चर टीयलो डी ओलीभीयराले ट्विटर मार्फत बताइन् ।

यसको जिन परीक्षण गर्दा स्पाइक प्रोटिनमा धेरै म्युटेसन भएको पाइएको अनुसन्धानले देखाएको छ । यसअघि अन्य भेरियन्टमा पनि देखिएको केही म्युटेसन यसमा पनि  पाइएको छ । इ४८४के नाम दिइएको एक म्युटेसनका कारण भाइरसले एन्टीबडीसँग कम प्रतिक्रिया देखाउने अनुमान गरिएको छ ।

साथै हालै गरिएको एक अध्ययनमा यो म्युटेसनले इम्युन सिस्टमको प्रोटिनलाई कमजोर गराउने गरेको पनि पाइएको थियो । यो म्युटेसनले मोनोकनल एन्टीबडीलाई कम प्रभावकारी बनाउने गरेको छ ।

ओमिक्रोनमा नै एन५०१वाई नामको अर्को म्युटेसन पनि देखिएको छ । युनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्च एन्ड कलेजका स्कट वेभरले आफ्नो जर्नलमा जनाए अनुसार अल्फा र गामामा समेत भेटिएको यो म्युटेसनले भाइरसलाई सङ्क्रामक बनाएको छ । यो म्युटेसनसँगै भाइरस घाँटी र नाकको माथिल्लो भागसम्म रहने भएकाले हाछ्यु गर्दा, खोक्दा र या बोल्दा सजिलै अन्य व्यक्तिमा सर्ने  सम्भावना प्रबल बनेको छ ।

डेल्टाले जस्तै ओमिक्रोनले पनि डी ६१४ जी नामको अर्को म्युटेसन लिएको हुन्छ । यसका कारण यो कोषहरूमा टाँसिएर बस्छ । ब्रिटिस मेडिकल एसोसिएसनको सामुदायिक स्वास्थ्य मेडिकल कमिटीका पूर्व प्रमुख डा. पिटर इङ्ग्लिस आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् ।

उनका अनुसार धेरै म्युटेसन भएकै कारण धेरै समस्या गर्छ भन्ने होइन । यसका बाबजुद उनी पनि यो म्युटेसनले इम्युन सिस्टममा कस्तो प्रभाव पार्छ भन्नेलाई चासोपूर्वक हेर्नुपर्ने बताउँछन् ।

अहिले धेरै वैज्ञानिकको चासो स्पाइक प्रोटिनमा भएको म्युटेसनमा हो । धेरै भ्याक्सिन स्पाइक प्रोटिनमा केन्द्रित भएर बनाइएका छन् । फाइजर एन्ड बायोटेक, मोर्डना, जोन्सन एन्ड जोन्सन र अस्ट्रेजेनकाका साथै धेरै भ्याक्सिन स्पाइक प्रोटिनमा आधारित भएर बनाइएका भ्याक्सिन हुन् ।

यी सबै भ्याक्सिन भाइरसको जिनको एउटा टुक्रामा आधारित भएर तयार पारिएका हुन्छन् । यिनमा स्पाइक प्रोटिनकै टुक्रा प्रयोग गरिएका छन् । यसकारण यो म्युटेसनले इम्युन सिस्टमको प्रोटिन तथा भ्याक्सिनले बनाएको सेललाई निष्प्रभावी बनाउन सक्ने सम्भावना बढेको छ ।

यद्यपि सम्भावना देखिएपनि प्रमाण भने भेटिएको छैन । अन्य भेरियन्टबाट भन्दा यसबाट धेरै नै अवस्था भयावह हुन्छ या हुँदैन भन्नेमा अनुसन्धाताको चासो बढेको छ ।

अर्को चिन्ता मोनोकल एन्टीबडीको उपचार पद्धतिलाई नै यस भाइरसले प्रभाव पार्ने त होइन भन्ने पनि हो । विश्व स्वास्थ्य संगठनले यस म्युटेसनले कोभिड–१९ उपचारलाई प्रभाव पार्ने सम्भावना कम रहेको जनाएको छ । स्टेरोइड डेक्सामेथासोन र अहिले निर्माण भइरहेको एन्टी भाइरल उपचार पद्धतिलाई यसले असर नगर्ने अनुमान समेत गरिएको छ ।

अहिलेसम्म ओमिक्रोन धेरै देशमा फैलिसकेकोमा भने कुनै शङ्का छैन । दक्षिण अफ्रिका, बोत्सवना, बेल्जियम, नेदरल्यान्ड, अस्ट्रेलिया, बेलायत, इटाली, इजरायल, अस्ट्रिया र क्यानडामा यो फैलिसकेको छ ।

तर ओम्रिकान भाइरसको सङ्क्रमण हो या होइन भनेर पत्ता लगाउनका लागि अर्को एक तहको विशिष्ठ परीक्षणको आवश्यकता पर्छ । जिन स्क्यानिङ पनि आवश्यक भएकाले यो पीसीआर या एन्टीजेन परीक्षणभन्दा लामो प्रक्रियाको हुन्छ ।

ओम्रिकान घातक हो या होइन भन्नेबारे धेरैको चासो बढे पनि यसको प्रतिक्रिया केही समयपछि मात्र देखिनेछ ।

दक्षिण अफ्रिकामा यसको उपचारमा संलग्न चिकित्सकहरूले सङ्क्रमितमा सामान्य लक्षण मात्र देखिएको बताएका छन् । सबैभन्दा गम्भीर लक्षण देखिएकोमा एक या दुई दिन ज्वरो आउने तथा टाउको दुख्नुका  साथै  मांसपेशी दुख्ने समस्या पाइएको दक्षिण अफ्रिकी मेडिकल एसोसिएसनकी प्रमुख तथा एन्जेलीक कोयत्जेले बताइन् ।

यी सबै चिन्ता, सम्भावना र अनुमानका बाबजुद संसारका सबै चिकित्सक भ्याक्सिनलाई निरन्तरता दिन आवश्यक भएकोमा सहमत छन् । दक्षिण अफ्रिकामा कुल जनसङ्ख्याको २४ प्रतिशत तथा वयस्क मध्येका ३५ प्रतिशतले पुरै डोज भ्याक्सिन लगाएका छन् ।

दक्षिण अफ्रिकामा यसअघि नै एचआइभीको समस्या पनि बढी भएका कारण कोरोनाको समस्या थपिएको हो । धेरै जना एचआइभी सङ्क्रमित भएका कारण उनीहरूको उपचारमा समस्या भई रहेको छ भने उनीहरूको भाइरसको सामना गर्ने क्षमता पनि कम रहेको छ ।

कमले भ्याक्सिन लगाएको तथा धेरै जनाको इम्युन सिस्टम नै खराब भएका कारण दक्षिण अफ्रिकामा कोरोना भाइरसको धेरै म्युटेसन भइरहेको छ । यो भाइरसको म्युटेसनलाई कम गर्न या भाइरसलाई म्युटेसनहीनबाट अवरोध सृजना गर्न सामाजिक दुरीको मापदण्डको कडाइका साथ पालना नै महत्त्वपूर्ण उपाय हो ।

मास्क लगाउने,  हात धुने तथा दुरी कायम जस्ता अति आवश्यक कुरामा ध्यान दिनुको कुनै विकल्प छैन । साथै भेन्टिलेटर भएको स्थानमा बसोबास गर्नु अर्को उपयुक्त विकल्प त हुँदै हो ।

सीटलस्थित किङ काउन्टीका मेडिकल अफिसर डा. डेफ्री जचीन भेन्टिलेटर नभएको स्थानमा रहनु नै कोभिड सङ्क्रमणलाई बढाउनु तथा महामारीको मुख्य कारण भएको बताउँछन् । धेरै विज्ञहरूले ओमिक्रोनका बारे धेरै निचोड निकाल्न अझै पनि केही समय कुर्नु उपयुक्त भएको धारणा सार्वजनिक गरेका छन् ।

टुलान युनिभर्सिटी अफ स्कुल अफ मेडिसिनका माइक्रोबाइलोजी तथा इम्युनोलोजीका प्राध्यापक रोबर्ट गेरी धेरै दुखी हुन आवश्यक नरहेको बताउँछन् । स्कुल अफ ट्रोपिकल मेडिसिनका डिन डा. पिटर होयत्ज ओमिक्रोन विगतको भन्दा घातक रहेको प्रमाण अहिलेसम्म नभेटिएकाले आत्तिनुपर्ने अवस्था नरहेको दाबी गर्छन् ।

भेरियन्ट अफ कन्सर्नले अहिले संसारमा नै असर पारिरहेको छ । अमेरिकामा ९९.९ प्रतिशत कोरोना भाइरसको सङ्क्रमित डेल्टाका सङ्क्रमित हुन् । बी.१.६१७.२ नाम दिइएको यो भेरियन्ट अरू भेरियन्टभन्दा धेरै सङ्क्रामक भए पनि धेरै घातक अझै ठानिएको छैन ।

अल्फा भनिने भेरियन्टबाट यो चाँडो परावर्तन भएर डेल्टामा परिवर्तन भएको थियो ।

डेल्टाले पनि स्पाइक प्रोटिनको क्लस्टरलाई बोक्ने गर्छ । पहिलो सङ्क्रमित भइसकेकामा डेल्टा भेरियन्टको सङ्क्रमण पुन: हुने सम्भावना कायम नै रहन्छ ।

इलीलीली कम्पनीले बनाएको एन्टीबडी उपचार पद्धति ‘बाम्लानीभीमाब’ को उपचारबाट हुने प्रभावलाई डेल्टाले कम गरेको छ । तर, अन्य मोनोकोनल एन्टीबडीज उपचारका सामु डेल्टाका भाइरस कमजोर ठानिएका छन् ।

यसभन्दा अघि नै गत वर्षको डिसेम्बरमा अल्फा फेला परेको थियो । बी.१.१.७ नामको यो भेरियन्टले इङ्गल्यान्डलाई सबैभन्दा धेरै प्रभाव पारेको थियो भने संयुक्त राज्य अमेरिकाको जनजीवन पनि प्रभावित पारेको थियो । अहिले यसलाई अमेरिकामा ‘भेरिअन्ट बिङ मोनीटर्ड’को सूचीमा राखिएको छ । त्यहाँ यसको प्रभाव कम भएपछि यसलाई नयाँ ढङ्गले सुचीकृत गरिएको हो । यो भ्याक्सिन तथा मोनोकनल एन्टीबडीजका लागि संवेदनशील रहेको छ ।

पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको बेटा या बी.१.३५१ नामको यो भेरियन्ट इ४८४ के र एन५०१वाई म्युटेसन थियो । यसभन्दा अघिका भेरियन्टभन्दा यो ५० प्रतिशत बढी सङ्क्रामक थियो भने यसले इलीलीलीको एन्टीबडीज उपचार पद्धतिको प्रभावलाई कम गरेको थियो । अन्य उपचार पद्धति भने काम आएन ।

विगतमा सङ्क्रमित भई सकेका  र भ्याक्सिन लगाएका दुवै यस भेरियन्टबाट सङ्क्रमित भएको पाइयो । भ्याक्सिन बजारमा आउन लागेको समयमा यो भेरिअन्ट देखा परेका कारण केही कम्पनीले परिमार्जन पनि गरेका थिए । यसलाई पनि अमेरिकी वैज्ञानिकले ‘भेरिअन्ट बिङ मोनीटर्ड’मा सुचीकृत गरेका छन् । भ्याक्सिनबाट मानिसलाई बचाउन र सङ्क्रमणलाई केही कम गर्न भने बेटाको बाबजुद कुनै अप्ठेरो भएको छैन ।

पी.१ या गामाले ब्राजिललाई ध्वस्त पारे पनि  अन्य देशमा यसले धेरै प्रभाव पारेको छैन । अहिले यसलाई पनि अमेरिकी वैज्ञानिकले ‘भेरिअन्ट बिङ मोनीटर्ड’को सूचीमा राखेका छन् । यसबाट पनि इ४८४ के र एन५०१वाई म्युटेसन भएको पाइएको थियो । इलीलीलीको एन्टीबडी उपचार पद्धतिलाई यसले प्रभाव पारे पनि रिजेनरोनको उपचार पद्धतिलाई प्रभाव पारेको थिएन ।

डब्लुएचओले सी.३७ या लम्बडालाई ‘भेरिअन्ट अफ इन्ट्रेस्टमा राखेको छ । यसै गरी मु  या बी .६२१लाई पनि यसै सूचीमा राखेको छ ।

डेल्टापछि म्युटेसन भएर बी.१.४२७ र बी.१.४२९ देखा परेको थियो । एप्सीलोन नामको यो भेरिअन्ट पहिलोपटक क्यालिफोर्नियामा देखा परेको थियो । यसलाई पनि ‘भेरिअन्ट बिङ मोनीटर्ड’को सूचीमा राखिएको छ ।

त्यस्तै लोटा र इटा भेरियन्टलाई पनि ‘भेरिअन्ट बिङ मोनीटर्ड’को सूचीमा राखिएको छ । ब्राजिलमा भेटिएको जेटालाई पनि यसै सूचीमा राखिएको छ ।

संसारमा कोरोना महामारी शुरु भएको दुई वर्षमा यसका विभिन्न भेरियन्ट देखिए । यीमध्ये पछिल्लो भेरियन्ट सबैभन्दा सङ्क्रामक देखिएको छ । आशा गरौँ,  हामीले विगतमा थुप्रै भेरियन्टको सामना गर्दै आएका कारण आत्तिनुपर्ने अवस्था आउने छैन । तथापि सुरक्षा मापदण्ड अपनाउन र सामाजिक दूरीको कडाइका साथ पालना गर्नैपर्ने अवस्थामा भने हामी पुगेका छौँ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : ५९ बजे

कृषिको आधुनिकीकरण आजको आवश्यकता : लिङ्देन

कैलाली– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कृषिमा आधुनिकीकरण

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौं– मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त

अबुधाबीस्थित नेपाली दूतावासमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं– आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको

तनहुँको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

तनहुँ– धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

हुम्ला– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण