मानिसको सार्वजनिक जीवनमा आउने क्रिया प्रतिक्रियाले उसका पदचापहरू निर्धारण गर्छ । जनताले बुद्धि नपुर्याउँदा देशभक्तहरू पनि बिलाएर गएका इतिहास पनि छन् । असललाई खराब र खराबलाई असल भनिदिने प्रवृतिले समाजमा खराबै खराबहरूको जन्म भएको यथार्थ पनि हामीले भोगिरहेका छौँ ।
सार्वजनिक रूपमा परिचय बनाउन सक्ने तागत बचाउन दोब्बर तागतको खाँचो पर्छ । कहिलेकाहीँ यस्तो क्षमता पनि जनताका अगाडि निकम्मा सावित हुन्छ र सत्य कुरा पनि तुरुन्तै झुठमा बदलिन्छ ।
छिन्नभिन्न भएको रुसमा भ्यादिमिर पुटिनको प्रयासलाई विघटित रुसी कम्युनिष्टहरूले सन् २००० सम्म पत्याएका थिएनन् । सन् १९९१ तिर क्रेमलिनको शासन ढलेपछि कम्युनिष्टहरू छिन्नभिन्न भए । त्यसपछि रुसी जनताले करिब एक दशक राजनीतिक उतारचढाबको कष्ट ब्यहोर्नु पर्यो ।
यही सेरोफेरोमा पुटिनको उदय भयो । उनले रुसी सुरक्षा प्रमुखमा रहेर काम गरिसकेका थिए । रुसी केजीबी अर्थात राज्य सुरक्षा प्रमुख पद परित्याग गरेर उनले दी युनाटेड रसिया पार्टीबाट असरल्ल परेको रुसलाई एकीकृत गर्ने अभियान थाले । सन् १९९९ देखि कहिले रसियाको प्रधानमन्त्री त कहिले राष्ट्रपति बनेर विशाल रुसलाई हाँकिरहेका पुटिनले लगातार २० वर्षदेखि रसियाको नेतृत्व गर्दै आएका छन् ।
सन् २०१४ मा विश्व बैंकका अधिकारीहरूले भनेका थिए, ‘पुटिनको यही कार्यशैलीले अब केही वर्ष निरन्तरता पायो भने पुनः विश्वमा रुसको शक्ति उदय हुनेछ । यो चुनौती समग्र युरोप र संयुक्त राज्य अमेरिकाका लागि कठिन सावित हुनेछ ।’ नभन्दै अहिले रुसको शक्ति फेरि विश्वमा फैलन थालिसकेको छ ।
सन् १८०० तिर विश्वमा सर्वशक्तिमान रुस पुनः विश्वका अन्य शक्ति राष्ट्रका लागि प्रतिस्पर्धी मुलुक भएर उदाइसकेको छ । यसमा पुटिनको लगाव र जनताको साथ महत्वपूर्ण मानिन्छ । त्यतिबेला कुनै सुरक्षा प्रमुखले देश हाँक्न सक्छ र यो गतिमा रुसलाई प्रगतिपथमा अघि बढाउन सक्छ भन्ने अड्कल कसैले गर्न सकेको थिएन ।
मानिसले समाज स्वयंका लागि निर्माण गरेको हो । यसको नेतृत्व कुनै न कुनै व्यक्तिले गर्छ । त्यसलाई सबैले साथ दिएका हुन्छन् र समाजको निर्माण तय हुने गर्छ । आदिमकालदेखि आधुनिक समाजसम्म आइपुग्दा सक्षम व्यक्तिको खोजी जारी छ ।
निर्दोष व्यक्तिलाई अनाहकमा विवादमा मुछियो भने समाजमा खराब व्यक्तिहरूको उदय हुन्छ र असल व्यक्तिहरूको नाम हराउन थाल्छ ।
यही समाजले कहिलेकाहीँ भुलबस सक्षम व्यक्तिलाई पाखामा पारिदियो भने समाजको गति धमिलिन पुग्छ । यस आलेखमा आज उनै एक पात्रलाई थोरै चित्रण गर्न खोजिएको छ, जसको योगदानका प्रकाशहरू बादलको सानो धब्बाले छोपिदिएको छ । यो पंक्तिकार आज उनै एक पात्रलाई बाहिर ल्याउन केही शब्द खर्चने प्रयास गर्दैछ ।
उनी हुन्, सर्वेन्द्र खनाल, जानेमानेका प्रहरी । उनले नेपालको सुरक्षा क्षेत्रमा आफ्नो जीवनको तीन दशकभन्दा धेरै समय दिए । उनै खनालसँग केही दिनअघि यो पंक्तिकारको भेटमा ९ महिनाअघिको घटना खोतलिएको विषय यो आलेखमा जोड्ने प्रयास गरेको छु ।
कुराकानीमा उनले आफ्नो सारा जीवन जनताको सुरक्षाका लागि खर्चेर अवकासपछि विवादमा तान्ने प्रयास समाजको एक भ्रान्ति भएको चित्रण गरे । उनको यो भनाइको आशय सजिलै बुझ्न सकिन्थ्यो, ‘निर्दोष व्यक्तिलाई अनाहकमा विवादमा मुछियो भने समाजमा खराब व्यक्तिहरूको उदय हुन्छ र असल व्यक्तिहरूको नाम हराउन थाल्छ ।’ यो अपराध मनोवृति अन्त्य गर्न विवादको विषय राम्ररी बुझेर समाजले निर्णय गर्नुपर्ने उनको धारणा छ ।
कुरो हो, गत वैशाख १० गते बुधबारको । उनी त्यो दिन चिनजानका नेता महेश बस्नेत र किसान श्रेष्ठसँग चिनजानकै अर्का मित्र डा. सुरेन्द्र यादवको घर पुगेका थिए । काठमाडौँबाट एक्कासि जनकपुर गएर यादवसँगै राजधानी फर्कंदा लागेको अपहरणको आरोप खनालले निरन्तर खण्डन गरिरहेका छन् ।
उनी बारम्बार भन्छन्, ‘न त्यो घटना बाहिर आएको हल्लाजस्तो हो, न कुनै मनसायपूर्ण हो ।’ यही घटनालाई लिएर समाजवादी पार्टीले राजनीतीकरण गरेको खनालको ठहर छ । यस आधारमा उनी नेपालको राजनीतिको बहुलठ्ठीपनको चित्रण गर्छन् ।
खनालको भनाइ छ– यादवलाई जर्बजस्ती काठमाडौँ ल्याउने मेरो काम होइन, मलाई त्यो गर्नु आवश्यक थिएन, बरु हामीसँगै काठमाडौँ आउने यादवकै चाहना थियो ।
यो विषयमा यादवले अघिल्लै दिन उनका पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियालाई जानकारी गराइसकेका थिए । त्यसैले, यसमा अपरहण भनेर अनाहकमा नाम मुछिनु दुर्भाग्यपूर्ण भएको खनालको स्पष्टोक्ति छ ।
समाजवादी पार्टीका सांसद रहेका डा. यादव उनकै सहमतिमा जनकपुरबाट काठमाडौँ आएको कुरामा खनालको दृढताले प्रहरीको अनुसन्धानमा पनि कुनै दोष नदेखिएको कुरा सार्वजनिक भइसकेको छ ।
खनालले कुशलतापूर्वक नेपाल प्रहरीको नेतृत्व हाँकेका हुन्, महानिरीक्षक भएर । डा. यादवका अभिव्यक्तिले जनतामा भ्रममात्र पारेको खनालको भनाइ छ । उनी भन्छन्, ‘उहाँ (यादव) ले आफ्नै राजीखुशीले खनालहरूसँग काठमाडौँ आएको भन्ने अभिव्यक्ति दिएपछि विषय प्रष्ट पनि भइसकेको थियो । बेलाबेलामा उछालेर आरोप लगाउनु सामाजिक मनस्थितिको उपज हो ।’
ती शासकहरूले देशको मुहारमा परिवर्तन ल्याएर जनतालाई सुखी बनाए । फेरि पनि रसियाका राष्ट्रपति पुटिनतर्फ फर्कन कर लाग्यो, ‘सुरक्षा क्षेत्रमा काम गरेको एउटा व्यक्तिले देश परिवर्तनमा काम गर्न चाह्यो भने असम्भव केही रहेनछ ।’
आफूमात्र होइन, उक्त प्रकरणमा मुछिएका बस्नेत र श्रेष्ठ पनि निर्दोष रहेको खनालको जिकिर छ ।
यो विषयमा बिट मार्ने क्रममा खनालले भने, ‘अब म विना बर्दी जनताकै सेवामा मैदानमा उत्रनेछु । यसका लागि म देशभरका सबै तहका नागरिकहरूसँग छलफल गरिरहेको छु ।’
उनको कुरा सुनेपछि पंक्तिकारले केही जिज्ञाहरू राख्यो । उनको आगामी दिनको योजनाबारे सोध्यो । उनले भने, ‘देशको सेवा दुई तरिकाले गर्न सकिन्छ, औपचारिक र अनौपचारिक । औपचारिकरूपमा मैले तीन दशकभन्दा बढी राष्ट्रको सेवामा बिताएँ । युएन मिसनमा नेपालको नाम राख्ने र विश्वमा शान्ति कायम गर्ने प्रयासहरू यसका उदाहरण हुन् ।’
खनालले नेपालभित्र मात्र नभई विश्वका मुख्य सुरक्षा तहमा पनि निर्णायक भूमिका निर्वाह गरेका छन् । उनी त्यो अनुभवलाई अनौपचारिकरूपमा सेवाको मैदानमा उतार्ने योजनामा छन् । भन्छन्, ‘जनताको हितमा झन बढी जिम्मेवारीपूर्वक सेवक बनेर जाने प्रण गरेको छु ।’
के तपाईं अब राजनीतिमा पाइला चाल्दै हुनुहुन्छ ? खनालले स्वीकृति सूचक जवाफ दिए, ‘हो, म सेवक बनेर अघि बढ्नेछु । अहिले नेपालमा देखिएजस्तो राजनीतिमात्र मेरो उद्देश्य हुने छैन । समाज सुधार र देश विकास मेरो लक्ष्य हो । यसमा देशभरबाट हजारौँ व्यक्तिहरूको साथ पाउने खबरहरू आइरहेका छन् । अतीतका योगदानहरूलाई रूपान्तरित बाटोमा लैजाने र जनताका झुपडीमा सेवा गर्ने अवसर अबको मेरो जीवन हुनेछ ।’
खनालसँगको लामो संवादपछि यो पंक्तिकारले सफलता र असफलतासँग जोडिएका विश्वका धेरै शासकहरू सम्झिन पुगेको छ । ती शासकहरूले देशको मुहारमा परिवर्तन ल्याएर जनतालाई सुखी बनाए । फेरि पनि रसियाका राष्ट्रपति पुटिनतर्फ फर्कन कर लाग्यो, ‘सुरक्षा क्षेत्रमा काम गरेको एउटा व्यक्तिले देश परिवर्तनमा काम गर्न चाह्यो भने असम्भव केही रहेनछ ।’
आज धेरै देशमा गैरराजनीतिक क्षेत्रबाट उदाएका व्यक्तिले जनताको नेतृत्व गरेका उदाहरणहरू छन् । प्रहरी सेवाबाट बाहिर निस्केर जनताका बीचमा पुग्न खोजेका खनालले नेपालमा पनि विश्वका ती उदाहरणीय व्यक्तिको बाटो पछ्याऊलान् कि बीचमै हराऊलान् त्यो भविष्यले नै बताउनेछ ।
समाज गलत बुझाइबाट प्रशिक्षित र हल्लाबाट निर्देशित हुँदा कहिलेकाहीँ निर्दोषहरू फन्दामा पर्दारहेछन् । जनताको एक निर्णयले सिङ्गो देशमा ठूलो परिवर्तन आउँछ ।
अहिले जुन लक्ष्यका साथ मैदानमा आउने प्रयासमा खनाल छन्, उनका बारेमा अब कुनै भ्रम राख्नु गलत हुनेछ । गलत व्यक्ति जनताको बीचमा जान आँट गर्दैन । सुरक्षा क्षेत्रमा काम गरेको व्यक्ति जनतामा जान खोज्नु उसका अतीतहरू खुला किताब जस्तै सरर पढ्न मिल्ने रहेछन् भन्ने बुझ्न सकिन्छ ।
खनालको जीवनको खुला किताब अब जनताले सोझै उनीसँग मैदानमै साक्षात्कार गर्ने मौका पाउनेछन् । खनालकै भनाइलाई यहाँ सापटी लिएर भन्नुपर्दा अब दोषारोपणका बाटाहरू बन्द गरेर अवसरका खोजीहरूको सुरुवात गर्नुपर्ने बेला आएको छ ।
लहैलहैमा कसैलाई दोषारोपण गर्नु पनि अन्याय हुन्छ । राम्रो काम गर्नेलाई हौसला र नराम्रो गर्नेलाई सजाय दिनैपर्छ । हल्लाको पछि लाग्ने हाम्रो बानीमा परिवर्तन आउन सक्यो भने यो समाजलाई बदल्न सक्छौँ ।
खनालसँग जोडिएको अपहरणको घटना संयोगमात्र थियो, नियत थिएन । समाज गलत बुझाइबाट प्रशिक्षित र हल्लाबाट निर्देशित हुँदा कहिलेकाहीँ निर्दोषहरू फन्दामा पर्दारहेछन् । जनताको एक निर्णयले सिङ्गो देशमा ठूलो परिवर्तन आउँछ । जनताको खुशी र देशको विकासलाई एक इट्टा थप्ने पूर्वप्रहरी महानिरीक्षक खनालको प्रयास सफल हुन सकोस्, हार्दिक शुभकामना ।
प्रतिक्रिया