प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा पदबाट राजीनामा गर्छन् भन्ने धेरैको अनुमान थियो । कतिपयले ओलीले यसो गर्नु नै पर्ने थियो भन्ने गरेका छन् ।
नैतिकता अरूले दबाब दिनेभन्दा बढी आत्मबोधको विषय हो । प्रधानमन्त्री ओलीले आफ्नो त्यति ठूलो राजनीतिक र संवैधानिक निर्णय अदालतबाट बदर हुनु राजीनामा नै दिनुपर्नेसम्मको नैतिक दायित्वको कुरा होइन भन्ने ठाने भने अरूले बोध गराउन सक्ने कुरै भएन ।
प्रतिनिधिसभा विघटनको सिफारिसमा राष्ट्रपतिले राजनीतिक दलहरूसँग परामर्श गर्नुपर्थ्यो वा असंवैधानिक हो भनेर अस्वीकार गर्नुपर्थ्यो भन्ने मत पनि धेरैको थियो । राष्ट्रपतिलाई त्यो सिफारिस दलहरूसँग परामर्श गर्नुपर्ने खालको होइन र जति सक्दो चाँडो स्वीकृत गर्नुपर्ने खालको हो भन्ने लाग्यो भने अरूको जिकिरले हुने कुरै होइन । राष्ट्रपति नै राष्ट्रपति हो । बाहिरबाट मत प्रकट गर्ने व्यक्ति राष्ट्रपति होइन ।
एमालेका नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल साधारण सदस्य पनि नरहने गरी निलम्बनमा परेका छन् । यी नेताका अनुसार उनीहरूमाथि यस्तो कारबाही हुनुपर्ने होइन, यो ओलीको ‘सत्ता भोगको अतृप्त तृष्णा’ हो । यी चार नेता र यिनको लाइनमा रहेका अरू सबैले जे जे भने पनि उनीहरूका कुरा नसुनी हुँदैन भन्ने ओलीलाई लागेको छैन भने किन अरण्य रोदन गर्नु !
अदालतले नेकपा (एमाले) ब्युँत्याइदिएपछि ओलीले हामीलाई फूलमालाले स्वागत गर्नेछन् भन्ने अपेक्षा विरोधी नेताहरूको थियो भने; जे भयो भइगयो, आउनुहोस् मिलेर एमाले सुदृढ बनाऔँ भनेर रातो कार्पेट ओछ्याउनेछन् भन्ने लागेको थियो भने त्यो उनीहरूको बालहठ थियो । अथवा, यसो नगरी ओलीलाई धरै छैन भन्ने उनीहरूले सोचेका थिए भने त झन् अचम्मकै कुरा भयो ।
नेताहरू भन्छन्, राजनीति सरल रेखामा हिँड्दैन । भनिन्छ, राजनीतिमा जे भनिन्छ त्यो गरिँदै र जे गरिन्छ त्यो भनिँदैन । राजनीति हाम्रा विद्यालयमा पढाइ हुने नागरिक शिक्षा र नैतिक शिक्षाको किताबमा लेखेजस्तो नैतिकवान हुँदैन ।
राजनीति भनेकै आफ्ना विरोधीहरूलाई पाखा लगाएर, उठ्नै नसक्ने गरी थला पारेर आफूले अकण्टक शासन चलाउनु रहेछ । धेरै पुरानो कथा पल्टाउनु पर्दैन, देश छाडेर टाढा पनि हेर्नुपर्दैन । किन धेरै टाउको दुखाउनु ! २०४६ सालको जनआन्दोलनको सफलतापछिको नेपाली राजनीति हेरे पुग्छ ।
हाम्रा धेरै जसो नेताहरू प्रशिद्ध ग्रन्थ महाभारतबाट प्रशिक्षित र अनुप्राणित छन् । हाम्रा नेताहरूलाई महाभारतका कथांशहरूमा कहाँ कसले कस्तो छल गरेर कसलाई मार्यो भन्ने कुरा कण्ठस्थै छ । अर्जुनका सारथि श्रीकृष्णले पनि शङ्ख बजाउन लगाएर ‘अस्वत्थामा हतोहत’ भनेका हुन् । यस्ता भित्री कथा धेरै छन् महाभारतमा जसमा हाम्रा नेताहरूलाई खुब रुचि छ ।
ओलीले माधव नेपाल र उनको समूहलाई एमालेमा किन स्वागत गर्नु ! उनीहरूमाथि किन कारबाही नगर्नु ! माधव नेपाल र उनको समूह एमाले फुटाएर अर्को दल बनाउन सक्ने हैसियतमा भए पो ! नयाँ पार्टी गठन गरेर चलाउनु अहिलेका लागि फलामको चिउरा चपाउनुजस्तै हो । माधव नेपालले एमालेलाई कानून बमोजिम विभाजित गर्ने हैसियत नबनाउँदासम्म ओलीले उनलाई कन्याउनु पर्ने कारण नै छैन । राजनीतिको यथार्थ यही हो ।
कल्पनाले त केही पनि चल्दैन, चल्ने याथार्थले हो ।
ओलीले प्रचण्डलाई किन भाउ दिनु ! न उनले सरकारलाई दिएको विश्वास फिर्ता लिएका छन्, न अविश्वास प्रस्ताव पेश गर्न सक्छन्, न विश्वासको मतका लागि बाध्य बनाउन सक्छन् ।
कथं देव गुरुङले भनेझैँ प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव राखे भने गुरुङको दल नेकपा माओवादी केन्द्रले असफल बनाउँछ ? बनायो रे, आफ्ना अध्यक्षलाई प्रधानमन्त्री बनाउन सक्छ ? प्रतिनिधिसभा पुनर्स्थापना भएको पनि ४० दिन भइसकेको छ । एउटा भाषणमा उपेक्षाको शैलीमा ओलीले भनेका थिए- खुट्टी हेर्दै पत्याएँ ।
ओलीको विकल्पमा सरकार बनाउन नसके के हुन्छ ? यो प्रश्नको जवाफ दिन राजनीतिशास्त्रको कुनै ठेली पल्टाउनु पर्दैन । राजनीतिक विश्लेषणको राग पनि अलाप्नु पर्दैन । सिधा छ, देश निर्वाचनमा जानेछ । सोझो औँलाले आए आइहाल्यो, नभए मनतातो पानी हालेर ओलीले घिउ झिक्ने छैनन् । अनेक सम्झौता गरेर बहुमत देखाउनतिर पनि ओली जाने छैनन् ।
अनि, मुलुक स्वतः निर्वाचनमा जानेछ ।
प्रधानमन्त्री ओली आफूले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टि गर्न चाहन्छन्, असंवैधानिक हुनुसँग उनलाई मतलबको कुरै छैन । त्यति बेलै उनले भनेका हुन्, मैले राजनीतिक कदम चालेको हुँ ।
यही आधारमा उनले आफ्नो कदमको औचित्य पुष्टि गर्नुछ । प्रतिशोधहरू चखाउनु छ ।
उनको पछिल्लो व्यवहारले यही संकेत गर्छ । प्रतिनिधिसभाका छ वटा बैठक हुँदा प्रधानमन्त्री एक पटक पनि उपस्थित भएका छैनन् । सरकारले प्रतिनिधिसभालाई काम दिएको छैन । बाहिरबाट प्रधानमन्त्रीले हुङ्कार गरेका छन्- प्रतिनिधिसभा शोक प्रस्ताव पारित गरेरमात्रै बस्ने हो ?
सोध्न मन लागेको छ- प्रधानमन्त्रीज्यू पुनर्स्थापित प्रतिनिधिसभा तपाईंको होइन ?
राजनीति सिधाबाटोमा हिँड्ने भए अनि त्यहाँ नैतिक बन्धन हुने भए आफूले साढे दुई वर्षभन्दा बढी प्रथम अध्यक्ष भएर नेतृत्व गरका र त्यही हैसियतमा दुई तिहाइ बहुमतको सरकार चलाएका प्रधानमन्त्री ओलीले ‘मिच्ने बानी परेका प्रचण्ड’ ले अर्काको पार्टीको नाम दर्ता गराए भन्ने नै थिएनन् ।
कसैले माने पनि नमाने पनि अहिलेको राजनीतिक परिस्थितिमा प्रधानमन्त्री ओली दिग्विजयी हुन् । कानून र राजनीतिक दउपेच दुवै दृष्टिले उनको हात माथि छ । दुनियाँको इतिहासमा कुनै पनि दिग्विजयीले आफ्नो शत्रुपक्षलाई रातो कार्पेट ओछ्याएर स्वागत गरेको छैन ।
एक पटक गिरिजाप्रसाद कोइरालाले भनेका थिए- गिरिजाप्रसादले चढेको घोडा परालको होइन । आज ओली ठिक यही अवस्थामा छन् । तब उनी सत्ताको घोडाबाट किन ओर्लिनु ! अरूले कराउँदैमा ओलिनुपर्छ र !
राजनीति भनेकै आफ्ना विरोधीहरूलाई पाखा लगाएर, उठ्नै नसक्ने गरी थला पारेर आफूले अकण्टक शासन चलाउनु रहेछ । धेरै पुरानो कथा पल्टाउनु पर्दैन, देश छाडेर टाढा पनि हेर्नुपर्दैन । किन धेरै टाउको दुखाउनु ! २०४६ सालको जनआन्दोलनको सफलतापछिको नेपाली राजनीति हेरे पुग्छ ।
सोझो दर्शनले हुने भए नेपाली कांग्रेसले हतियार उठाउने थिएन । विद्रोहको नाममा झापामा मान्छे काटिने थिएनन् । प्रचण्ड र उनका अनुयायीहरूले जनयुद्धका नाममा दश वर्षसम्म हतियारको विध्वंश मच्चाउने थिएनन्, सत्र हजार मानिसको ज्यान जाने थिएन, राज्यका भौतिक संरचनाहरू ध्वस्त पारिने थिएनन् ।
र, भरखरै प्रचण्डले राजनीति बरु जतासुकै जाओस्, अविश्वासको प्रस्ताव ल्याउँछु, पर्खिनँ सक्दिनँ भन्ने थिएनन् । प्रचण्डले देश बर्वाद हुनबाट जोगाउँछन् भनेर कसरी विश्वास गर्नु !
राजनीति सिधा बाटोमा हिँड्ने भए अनि त्यहाँ नैतिक बन्धन हुने भए आफूले साढे दुई वर्षभन्दा बढी प्रथम अध्यक्ष भएर नेतृत्व गरका र त्यही हैसियतमा दुई तिहाइ बहुमतको सरकार चलाएका प्रधानमन्त्री ओलीले ‘मिच्ने बानी परेका प्रचण्ड’ ले अर्काको पार्टीको नाम दर्ता गराए भन्ने नै थिएनन् ।
भन्न जान्नु पर्छ । बोल्न जान्नुपर्छ । एकताका ओली गृहमन्त्री हुँदा त्यति वेलाका प्रहरी महानिरीक्षकले ‘गृहमन्त्रीज्यूको मुखमा सरस्वतीको वास छ’ भनेका थिए । ‘सरस्वती’ एउटा अमूर्त आस्थाको प्रतीक हो । हालै एउटा कार्यक्रममा उद्घोषिकाले ‘मुखमा सस्वतीको वास भएका नेता’ भनेर सम्बोधन गरिन् । प्रशंसा मन पराउनु मानवीय स्वभाव हो ।
राजनीति सिधा रेखामा चल्दैन । यसमा आदर्श, नैतिकता र सदाचारको कुरा भाषणको बुँदा मात्रै हो रहेछ । अरूलाई उपदेश दिनमात्रै हो रहेछ । आफूभित्र जोडघटाउ गर्न होइन रहेछ । अहिलेसम्म नेपाली राजनीतिमा देखेबुझेको यही हो ।
‘विद्या ददाति विनय’ भन्ने सुनेको हो । राज्यको कुनै खास पदमा पुगेका कारणले कुनै मानिस विनयशील भएको थाहा छैन । गत पुस ५ गतेपछि नेपाल कम्युनिस्ट पार्टीका नाममा र गत फागुन २३ गतेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नाममा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको हैसियतका नेताहरूले गरेका भाषण सुन्दा थाहा भइहाल्छ पदले मानिसलाई कति विनयी बनायो !
यसो भएपछि आमनागरिकले नेताहरूबाट के सिक्ने ! तिनका अनुयायी र उत्तराधिकारीहरूले के सिक्ने ! अनि, राजनीतिक संस्कारको कुरा गरेरमात्रै के हुन्छ र ! संस्कार रातारात बन्ने होइन रहेछ । ठूलो पदमा पुगेर मान्छे असल संस्कारको र विनयी भावको हुने होइन रहेछ ।
सञ्चार माध्यमले ‘तिमी’ लेखेको र भनेकोमा प्रधानमन्त्री ओलीलाई ठूलो ‘चिन्ता’ छ । ‘टाठाबाठा’ भनेका पत्रकारले हाम्रो ‘सामाजिक मूल्यमान्यता र शिष्टाचार ध्वस्त’ बनाए भन्ने दुःख छ । नेपाली परम्परामा आदरार्थीको तहगत संरचनाका आधारमा ‘तिमी’ माथि बहस हुन सक्छ तर यो भन्दाअघि प्रधानमन्त्री पदको ‘मूल्यमान्यता, मर्यादा र शिष्टाचार’ अनुसारको अभिव्यक्ति शैलीमाथि पनि बहस भए झन् राम्रो ।
प्रधानमन्त्री ओलीले माननीयहरूलाई ‘माननीय’ हुन सुझाब दिने गरेका छन् । यता माननीयहरू प्रधानमन्त्रीको सम्बोधनमा ‘सम्माननीय प्रधानमन्त्री’ खोज्दा रहेछन् ।
त्यसैले भनेको, राजनीति सिधा रेखामा चल्दैन । यसमा आदर्श, नैतिकता र सदाचारको कुरा भाषणको बुँदा मात्रै हो रहेछ । अरूलाई उपदेश दिनमात्रै हो रहेछ । आफूभित्र जोडघटाउ गर्न होइन रहेछ । अहिलेसम्म नेपाली राजनीतिमा देखेबुझेको यही हो ।
प्रतिक्रिया