कोरोना जोखिमले बाँकेको खेल गतिविधि ठप्प « Khabarhub

कोरोना जोखिमले बाँकेको खेल गतिविधि ठप्प


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा विभिन्न खेल विधाका झण्डै पाँच हजार खेलाडी लामो समयदेखि खेलकुद गतिविधिमा सहभागी हुन पाएका छैनन् ।

कोरोना महामारीका कारण खेलाडी खेल गतिविधिमा सहभागी हुन नपाएपछि जिल्लाको खेलकुद गतिविधि अहिले शून्यप्रायः भएको छ । जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले भने, “कोरोना महामारीपछि लकडाउनले थला परेको बाँकेको खेलकुद क्षेत्र अब विस्तारै उठ्ने प्रयत्नमा लाग्नेछ ।”

गत वैशाखको पहिलो सातादेखि खेल अभ्यास र प्रतियोगिता खेल्न नपाएपछि यहाँका खेलाडी चिन्तित बनेका छन् । खेलाडीले दैनिक चार घण्टा खेल अभ्यास गर्नैपर्छ । खेल अभ्यास गर्न नपाएमा खेलाडीबाट राम्रो नतिजाको अपेक्षा गर्न नसकिने एथलेटिक्सका प्रशिक्षक हृदयकृष्ण मास्केको भनाइ छ ।

जिल्लामा पछिल्लो समय खेल पूर्वाधारको स्तरीय विकाससमेत भएको छ । तर कोरोना महामारीका कारण ती पूर्वाधारको सदुपयोग हुनसकेको छैन । जिल्लाको सदरमुकाम नेपालगञ्जमा अत्याधुनिक रङ्गशाला, पौडी पोखरी, कभर्डहल, सुटिङ रेन्ज, खजुरामा भलिबल स्टेडियम, कोहलपुरमा क्रिकेट मैदान खेलकुदका ठूला पूर्वाधारका रूपमा रहेका छन् । जिल्लामा प्रशस्त खेल पूर्वाधार हुँदासमेत कोरोना महामारीका कारण जिल्ला, प्रदेश र राष्ट्रियस्तरका कुनै खेल गतिविधि र प्रतियोगिता सञ्चालन हुनसकेको छैन ।

खेलकुद विकास समिति लुम्बिनी प्रदेशका सदस्यसचिव भीम ओलीका अनुसार लामो समयदेखि खेलकुद गतिविधि नहुँदा खेलाडी पलायन हुने अवस्थामा पुगेका छन् । उनले भने, “लामो समय व्यायाम, खेल अभ्यास र प्रतियोगिता खेल्न नपाएका खेलाडीलाई फेरि शून्यबाट सुरु गर्नुपर्छ, हामी अहिले यसैको तयारीमा लागेका छौँ ।”

जिल्लालाई खेलको उर्वरभूमि मानिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा बाँकेका अधिकांश खेलाडीले प्रतिनिधित्व गरेका छन् । तीन ओलम्पियन पनि जिल्लाले जन्माएको छ । केही वर्षयता थप माथि उक्लिन लागेको बाँकेको खेलकुद गतिविधिलाई पहिलो र दोस्रो चरणको कोरोनाले भने पछि धकेलेको छ ।

जिल्लामा अहिले लकडाउन खुकुलो बनाइएको छ । बजार, यातायात, कार्यालय सुञ्चालन भएका छन् । मानिसको दैनिकी लगभग सामान्यजस्तै बनेको छ । तथापि खेलकुद क्षेत्र भने अझै सक्रिय हुनसकेको छैन । जिल्लामा कोरोनाको जोखिम कायमै रहेकाले खेल गतिविधि शून्यकै अवस्थामा छ । स्थानीय प्रशासनले कोरोनाको जोखिम कायमै रहेकाले खेलकुद क्षेत्रलाई खुकुलो नबनाएको बताएको छ ।

अर्कोतर्फ नेपालगञ्ज रङ्गशालाको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद् आफैँले गर्ने भएको छ । राजधानीभन्दा बाहिरका खेलकुदका भौतिक पूर्वाधार प्रदेश वा स्थानीय सरकारलाई दिनुपर्ने माग बढिरहेको बेला राखेपले नियमावली परिमार्जनको मस्यौदा बनाएर देशका प्रमुख सहरका ठूला भौतिक पूर्वाधार आफू मातहतमा राख्ने निष्कर्षमा पुगेको हो ।

नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा राखेप सदस्य गोविन्द भट्टराईले नियमावलीको मस्यौदामा नेपालगञ्ज, धनगढी, महेन्द्रनगरलगायत देशका प्रमुख सहरमा रहेका संरचना आफैँ मातहत राख्न प्रस्तावित गरिएको बताए । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज रङ्गशालालगायतका खेलकूदका पूर्वाधार व्यवस्थापनको जिम्मेवारी दिन माग गर्दै आएको थियो । यद्यपि मस्यौदाबारे अझै खेल क्षेत्रका सरोकारवालाबीच छलफल भइनसकेको उनले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ३ : ५७ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर