प्रतिनिधिहरू भन्छन्ः पार्टी विभाजन भएको हो र ! | Khabarhub Khabarhub

प्रतिनिधिहरू भन्छन्ः पार्टी विभाजन भएको हो र !



गोदावरी (ललितपुर)– नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज सम्पन्न हुँदैछ । समूहका नेताहरूले शनिबार प्रस्तुत गरेका प्रतिवेदनहरूमा उठाइएका प्रश्नहरूको जवाफ नेताहरूले दिएपछि महाधिवेशनले केही प्रस्तावहरूले पारित गर्नेछ ।

महाधिवेशनको अन्तिम दिन आइतबार मध्याह्न १२ बजेसम्म प्रतिनिधिहरू आपसमा भेटघाट, चिनापर्ची, फोटो सेसन र खानामा व्यस्त थिए ।

पार्टीका झण्डा र व्यानरहरूले झकिझकाउ सम्मेलन केन्द्रलाई पृष्ठभूमिमा राखेर तथा कुनै नाम चलेका नेता देख्नेबित्तिकै बीचमा राखेर समूहमा फोटो खिच्ने काम तीनै दिन एकनासले चल्यो ।

प्रतिनिधिहरू पार्टी विभाजन भएको मान्न तयार छैनन् । खबरहब प्रतिनिधिले प्रत्यक्ष सम्पर्क गरेका सय जना भन्दा बढी प्रतिनिधिहरू कसैले पार्टी विभाजन भएको भन्ने कुरा मानेन् ।

उनीहरूले पार्टी विभाजन भएको होइन, पदलोलुप केही नेताहरू छोडेर गएका हुन् भन्ने समान धारणा प्रकट गरे ।

सप्तरीका प्रतिनिधि मोहम्मद कलिम आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा एमालेले बहुमत हासिल गर्ने र फेरि एक पटक केपी ओली प्रधानमन्त्री हुनेमा ढुक्क छन् ।

उनले भने, ‘यो महाधिवेशनले पार्टीका सबै तहका नेता, कार्यकर्ता र शुभेच्छकलाई ऊर्जा दिएको छ, मनोबल बढाएको छ । मंसिरमा हुने राष्ट्रिय महाधिवेशनले यसलाई अझै सुदृढ गर्नेछ । एमालेको बहुमत आउनेमा कुनै शंका छैन ।’

कलिमका अनुसार यो महाधिवेशन नेकपा एमालेको पार्टी जीवनमा मात्रै नभई सिङ्गो देशका लागि महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय समुदायले समेत यसमा नजर लगाएको छ ।

कलिमले अरू पार्टीबाट एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । उनका अनुसार नव प्रवेशीमा सबैभन्दा बढी माओवादी केन्द्रका छन् । यसपछि नेपाली कांग्रेसका र मधेश केन्द्रित दलका छन् ।

उनले भने, ‘म एउटै वडाबाट पाँच सय जनालाई हाम्रो पार्टीमा प्रवेश गराएर काठमाडौँ आएको हुँ ।’

पार्टी विभाजन भएकोमा कलिम केही दुःखी देखिए तर आउने निर्वाचनमा कुनै पनि असर नपर्ने उनको ठोकुवा छ ।

सुनसरीका मोहम्मद शाहिद हुसेन पनि कलिमको विचारमा सहमत देखिए । उनी पार्टी विभाजनबाट एमालेको मतमा कुनै पनि असर नपर्नेमा ढुक्क छन् ।

बैतडीकी कुश्मा चन्दका अनुसार विधान महाधिवेशन निकै महत्वपूर्ण रह्यो । समूह छलफलका क्रममा प्रतिनिधिहरूले आफ्ना कुरा भन्न पाए, नेताहरूले समूहका प्रतिवेदन ध्यानपूर्वक सुने ।

उनले भनिन्, ‘यो महाधिवेशन ठिक समयमा आयोजना भएको छ, यसले पार्टी विभाजन भएको होइन भन्ने कुरामा सबैलाई ढुक्क बनाएको छ ।’

चन्दले घरको कुरा छिमेकमा गएर सुनाउनेहरू पार्टी छाडेर हिँडेको बताइन् । यो महाधिवेशनले पार्टीलाई जनतामाझ अझै सशक्त ढङ्गले अघि बढाउन र आगामी निर्वाचनमा बहुमत हासिल गर्न ऊर्जा दिएको उनको ठहर छ ।

उनले भनिन् ‘हामी अत्यन्त ठूलो ऊर्जाका साथ जिल्ला फर्किंदैछौँ, हामीलाई कसैले हराउन सक्दैन ।’

पार्टी एकताका क्रममा माओवादी केन्द्रबाट अएका र एमालेमै रहेका प्रतिनिधिहरू विभाजनमा पुष्पकमल दाहाल र माधव नेपाल बराबर दोषी रहेको ठान्छन् ।

पूर्वमाओवादी नेता तथा महाधिवेशनका लागि ओखलढुङ्गाका प्रतिनिधि बालकृष्ण ढुङ्गेलका अनुसार माओवादीको जनयुद्धले देशलाई गणतन्त्रसहित युगान्तरकारी राजनीतिक उपलव्धि दियो तर अब प्रचण्ड त्यसको नेता रहेनन् ।

उनका अनुसार प्रचण्डले न जनयुद्ध गर्ने माओवादी पार्टी जोगाउन र चलाउन सके, न पार्टी एकता कायम राख्न सके । यस्ता नेताले देश चलाउन सक्ने कुरै भएन ।

अर्घाखाँचीकी प्रतिनिधि बिजुला रायमाझीका अनुसार विभाजनबाट नेकपा एमालेलाई केही पनि असर परेको छैन तर विभाजनमा को को जिम्मेवार थिए, ककसको भागमा कति कति दोष पर्छ भन्ने कुुरा इतिहासले मूल्याङ्कन गर्नेछ ।

उनले भनिन्, ‘कम्युनिस्ट पार्टीको जीवनमा यस प्रकारको विधान महाधिवेशन पहिलो पटक भएको हो । यसले पार्टी सङ्गठनलाई थप बलियो, अनुशासित र ऊर्जावान बनाउनेछ ।’

पार्टी अध्यक्ष ओलीको देवत्वकरण गरिएको र उनका प्रतिस्पर्धी नेताहरूलाई दानव देखाउने प्रयास भएको भन्ने टिप्पणीहरूप्रति पनि प्रतिनिधिहरू सहमत छैनन् ।

रायमाझीका अनुसार माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले संवादबाट मिलाउन सकिने विवादहरूमा धेरै निहुँ खोजेर पार्टी छाडेका हुनाले ओली एक्ला नेता भएका हुन् । देवतै ठानिए भने पनि यसमा उनको दोष छैन ।

सुनसरीका कलिमका अनुसार पार्टीका सबै तहका अधिकांश नेता, कार्यकर्ता, शुभेच्छक र आम नागरिकले ओलीलाई पत्याए, भरोसा गरे, उनैलाई नेता माने भने त्यसमा उनको के दोष ! उहाँले मलाई नै सबैले मान्नुपर्छ भन्नुभएको छैन ।’

अर्का एक सहभागीले समाचारमा नाम उल्लेख नगर्ने गरी ओलीको चलाखी र रणनीतिको चर्चा गरे । उनका अनुसार माओवादी केन्द्रसँग चुनावी गठबन्धन र पार्टी एकीकरण मूलतः आलीको रणनीतिक कदम थियो । एकता टिक्दैन भन्ने कुरा उनलाई थाहा थियो ।

उनको रणनीतिको फलस्वरूप साढे तीन वर्ष कम्युनिस्ट पार्टीको सरकार बनेको र देशमा विकार समृद्धिको जग बसेको हो । ओलीले यस्तो रणनीति नलिएको भए साढे तीन वर्ष उनले सकार चलाउन सम्भव थिएन ।

ती प्रतिनिधिका अनुसार आफ्नो रणनीतिअनुसार नै चलेको हुनाले एकीकरण भङ्ग हुनुमा ओलीलाई कुनै पछुतो छैन । उनले यस्तो अवस्था त्यति बेलै अनुमान गरेका थिए, जुन बेला पार्टी एकीकरणको घोषणा हुँदै थियो ।

यसै कारण ओलीले पार्टी सञ्चालनमा सचेततापूर्वक कदम चाले आफूलाई कतै पनि कमजोर हुन र चुक्न दिएनन् । ती प्रतिनिधिका अनुसार नेपाल, खनाल र गौतमबाट भने एमाले विभाजनसम्मको निर्णय हुनेछ भन्ने ओलीलाई लागेको थिएन ।

महाधिवेशनको समापनका दिन बिहानैदेखि उत्साहको महोल थियो । मध्याह्नतिर सुदूरपश्चिमका प्रतिनिधिहरू जम्मा भएर देउडा खेलेका थिए ।

शनिबार सभाहलमा पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशनबारे अन्य पार्टीका नेताहरूले गरेका टिप्पणीको खण्डन गरेका थिए ।

उनले पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले गरेको टिप्पणीको खण्डन गरे ।

डा. भट्टराईले ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लुटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’ भनेर ट्वीट गरेका थिए ।

ज्ञवालीले भट्टराइको नाम भने लिएनन् ।

ज्ञवालीले सोह्रश्राद्धको समयमा एमालेले मासुभात खुवाएको भनेर समेत आलोचना भएको भन्दै खण्डन गरे ।

सहभागीहरूका अनुसार आज साँझ ७ बजेसम्ममा महाधिवेशन समापन हुनेछ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  २ : ४४ बजे

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको