यसरी बढ्दैछ झापामा कोरोनाको जोखिम | Khabarhub Khabarhub

यसरी बढ्दैछ झापामा कोरोनाको जोखिम



झापा— झापाको कन्काई नगरपालिकाकी एक कोरोना संक्रमित महिलाको गत साता मृत्यु भयो । ३९ वर्षीया ती महिला केही दिनअघि भारतमा रहेका आफन्तकोमा गएर आएकी थिइन् ।

कोरोनाको पहिलो लहर कम भएपछि झापामा संक्रमितको यो पहिलो मृत्यु हो ।

यसलगत्तै झापामै विर्तामोडकी अर्की एक महिलामा कोरोना संक्रमण पुष्टि भयो । उनी पनि केही दिनअघि भारत पुगेर आएकी थिइन् । भारतसँग सीमाना जोडिएको पूर्वी जिल्ला झापामा यसरी फेरि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ ।

भारतका विभिन्न राज्यमा कोरोना भाइरसको दोस्रो लहर शुरू भएको छ । यसको प्रभाव पूर्वी नाकामा पनि देखिन थालेको छ । भारतको विहार र पश्चिम बङ्गालसँग जोडिएको झापामा खुला सीमाना भएका कारण पनि आउजाउ नियन्त्रण र व्यवस्थापन सजिलो छैन । काँकडभिट्टा नाकाबाट मात्रै होइन, अन्य थुप्रै ठाउँबाट खुला आवतजावत हुन्छ ।

नाकामा कडाइ

जिल्लामा संक्रमितहरू भेटिन थालेपछि मुख्य नाका काँकडभिट्टाबाट आउजाउमा कडाइ गर्न शुरू गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार हाल नाकाबाट नेपाल आउने र भारत जानेको अभिलेख राख्न थालिएको छ । परिचयपत्र देखाएरमात्र आउजाउको व्यवस्था गरिएको प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताए ।

यस्तै, कोरोना संक्रमण रोकिएपछि नाकामा बन्द भएको हेल्थ डेस्क फेरि सञ्चालनमा ल्याइएको छ । मेचीनगर नगरपालिकाको ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति’ ले हेल्थ डेस्क प्रभावकारीरूपमा सञ्चालन गर्ने र विगतमा रहेका आइसोलेसन तथा क्वारेन्टिनहरू तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

हाल नाकामा सुरक्षाकर्मीसहितको समन्वयमा आउजाउ गर्नेको स्वास्थ्य परीक्षण शुरू गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई ७२ घण्टाभित्रको नेगेटिभ नतिजाको पीसीआर रिपोर्ट पनि अनिवार्य गरिएको छ ।

घर फर्कने बढे

रोजगारीका लागि भारतका विभिन्न ठाउँ पुगेका नेपालीहरू भारतका विभिन्न राज्यमा कोरोना संक्रमण फैलिन थालेसँगै घर फर्कन थालेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबारमात्र झन्डै दुई हजार नेपालीहरू प्रवेश गरेका छन् ।

नाकामा अभिलेखीकरण भएका मात्र दैनिक २ हजार जनाको हाराहारीमा नेपाल आउने गरेका छन् । अन्य अनौपचारिक मार्गबाट आउनेहरूको संख्या पनि कम छैन । उनीहरूको कुनै अभिलेख रहँदैन ।

यस्तै, झापामा भारतको बिहार र पश्चिम बङ्गालबाट उपचारका लागि नेपाल आउने भारतीयको संख्या पनि उच्च रहने गरेको छ । खासगरी बिहार र बङ्गालका असम, सिक्किम लगायतका ठाउँबाट झापाका आँखा अस्पतालहरूमा भारतीय नागरिकहरू बढी आउने गरेका छन् ।

सभासमारोहमा कडाइ

झापाको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल र दक्षिणतर्फ बिहार राज्य पर्दछन् । सीमावर्ती क्षेत्रका नेपालीहरू दैनिक उपभोगका वस्तु खरिद र उपचारका लगायतका कामका लागि दैनिक निकै ठूलो संख्यामा भारत जाने गरेका छन् ।

यस्तै, भारतका सीमावर्ती बस्तीबाट भारतीयहरू पनि नेपाल आउने गरेका छन् । नेपाल र भारत बीच आउजाउ खुला रहेका कारण सीमावर्ती बस्तीमा संक्रमण फैलिने जोखिम बढेको छ ।

जोखिम कम गर्न विर्तामोड नगरपालिकाले ठूला सभा–समारोह र भिडभाड नगर्न आग्रह गरेको छ । यस्तै अन्य स्थानीय तहहरूमा पनि क्वारेन्टिन र आइसोलेसन केन्द्रहरू तयारी अवस्थामा राख्ने क्रम शुरू भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ९ : ०१ बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको