भोलिदेखि माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन, प्रधानमन्त्रीले उद्घाटन गर्ने « Khabarhub

भोलिदेखि माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन, प्रधानमन्त्रीले उद्घाटन गर्ने


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उनका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले जानकारी दिए ।

आयोजनाले आज मात्रै विद्युत्गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

यस्तै जीआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आजसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ ।

आयोजनाबाट उत्पादित बिजुली विद्युत्‌गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । उद्घाटनको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता न्यौपानेले नेपाली जनताले विगत १० वर्षदेखि देखेको सपना पूरा भएको प्रतिक्रिया दिए । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो ।

यस्तै यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । त्यसमा विशेषगरी प्रसारण लाइन व्यवस्थापनको काम गरिएको डा न्यौपानेले जानकारी दिए ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो ।

सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबारदेखि कोहरपुरसम्मका सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटो समयका लागि विद्युत् कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो । यसअघि आयोजनाको सुरुङमा पानी हालेर पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो ।

शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : ४३ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित