कोरोनाको कहरले सिकाएको कौसी खेती « Khabarhub

कोरोनाको कहरले सिकाएको कौसी खेती



बुटवललटरम्म टमटर फलेको छ । फूलकोपी फक्रिन थाल्दै गर्दा बन्दाकोपी र ब्रकाउली खाने वेला भइसकेको छ । सयपत्री, गोदावरी र थरिथरिका फूल फुलेका छन् । हावामा फूलको मगमग बास्ना छरिएको छ ।

यो बयान रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ टोलमा १० धुर जग्गामा बनेको एक तले घरको छतको हो । घर हो २९ वर्षीया सावित्रा भण्डारीको । उनको घरको यस्तो दृश्य देखेर नलोभिने कोही हुँदैन ।

घरको छत करेसाबारी र फूलबारी बनेको छ । तरकारी र फूलले कौसी भरिएको छ । शहरमा घर हुनेको खाली जमिन नहुन सक्छ । जमिन नभए पनि घरको छत कसरी सदुपयोग गर्न सकिन्छ भन्ने उदाहरण सावित्राले दिएकी छन् । उनको मिहिनेतले अहिले घरको छत, अर्थात कौसी, हराभरा छ । आजकाल कौसी खेती भनिने काम यही हो ।

उनी शंकरनगरमा फेन्सी पसल गर्थिन् । के सुरले हो लकडाउन हुनुअघि उनले पसल बेचिन् । लगत्तै लकडाउन शुरू भयो ।

खेती गर्न जमिन थिएन । सावित्राले कौसी खेतीको कुरा सुनेकी थिइन् । लकडाउनले दिएको फुर्सदमा उनले युट्युब हेरेर कौसी खेती गर्ने तरिका सिकिन् । सोहीअनुसार सामग्री जुटाउन थालिन् ।

दशैँपछि बजारबाट प्लास्टिकको झोला, गमला र विभिन्न प्रकारका क्यारेट जम्मा पारिन् । तिनमा माटो र प्राङ्गारिक मल भरेर तरकारी, फलफूल र बेमौसमी फूल लगाइन् ।

सावित्राले भान्साबाट निस्कने फोहरबाट प्राङ्गारिक मल बनाउन सिकिन् । उनी भन्छिन्, ‘आफैँले बनाएको मल हालेर बिरुवा हुर्काउने गरेकी छु ।

यति वेला उनको कौसी बन्दा, काउली, धनिया, काँक्रो, टमाटर, खुर्सानी, घिउकुमारी, भान्टा, साग, मरठ्ठी, धुपी सल्ला, सयपत्री, गोदावरी, गुलाब र बेगनबेलीले भरिएको छ । फलफूलका बेर्ना पनि छन् ।

धेरै वर्ष हाटबजारबाट तरकारी किनेर खाइयो, सावित्रा भन्छिन्, ‘कोरोनाले घरमै तरकारी फलाउन सिकायो । अहिले आफैँले उत्पादन गरेको तरकारी खान थालेकी छु, धेरै भएको बेच्ने गरेकी छु ।

लकडाउले धेरैतिर सकस भए पनि यही मौकामा आफूले कौसी खेती सिकेको सावित्राको भनाइ छ । छोटो समयमै कौसी खेतीले सकारात्मक नतिजा दिएको उनको अनुभव छ ।

घरमा १० वर्षकी छोरी र ९ वर्षका छोरा छन् । छोराछोरीले पनि तरकारीमा पानी हाल्न र गोडमेल गर्न सघाउँछन्, उनले भनिन्, ‘तरिका जान्दा छतमै पनि खेती हुँदो रहेछ ।

उनका अनुसार काम शुरू गर्न एक लाख रुपैयाँ लगानी भयो । थप लगानी गरेर खेतीको आकर्षण बढाउने उनको योजना छ । उनका श्रीमान् कामका लागि विदेशमा छन् । छतको खेती फेस बुकमा हेरेर दङ्ग छन् ।

सावित्राको सिको गरेर अहिले सिद्धार्थ टोलका अरू महिलाले पनि छत र बरन्डालाई करेसाबारी बनाउन थालेका छन् ।

छतमा तरकारी खेती थालेपछि सावित्राको मन ढुक्क भएको छ । भान्सा कोठाकै पानी र घरमै बनाएको मलले पुगेको छ । तरकारी बेचेर घर खर्च जुटेको छ । शहरमा घरमात्रै हुनेका लागि कौसी खेती आम्दानीको स्रोत हुन्छ, उनी भन्छिन्, ‘घरायसी प्रयोग गर्न र सामान्य घर खर्च धान्न सजिलो हुन्छ ।

स्थानीय सरकारले गृहिणीहरूलाई कौसी खेतीको तालिम दिने व्यवस्था गर्नुपर्ने सावित्राको सुझाब छ । उनी भन्छिन्, ‘यसो गर्न सके घरघरमा हरियाली हुन्छ र हरेक परिवार आत्मनिर्भरताको बाटोमा लाग्न सक्छन् ।

लुम्बिनी प्रदेशकी कृषिमन्त्री आरती पौडेल पनि सावित्राको कौसी खेती हेर्न गइन् । घरमै आएर मन्त्रीले खेती हरेपछि आफ्नो हौसला सावित्राले बताइन् । मन्त्रीले प्रशंसापत्र पनि दिइन् ।

सावित्रालाई कोरोनाको कहरले कौसी खेती सिकाएको हो । उनी बिहानैदेखि बिरुवा हेर्न र मलजल गर्न व्यस्त हुन्छिन् । आफूले थालेको कौसी खेतीलाई ब्राण्डको रूपमा स्थापित गर्ने सोच रहेको उनको भनाइ छ ।

 

 

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ९ : २० बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका