कोरोना कहरमा दीर्घरोगीलाई विशेषज्ञको सुझाव | Khabarhub Khabarhub

कोरोना कहरमा दीर्घरोगीलाई विशेषज्ञको सुझाव



काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म देशभर ९७ हजार ६९९ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

संक्रमण फैलिएसँगै आइसोलेसनमा बस्नेहरुको संख्या पनि बढ्दो छ ।

विशेषगरी कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका दीर्घरोगीलाई विशेषज्ञले विभिन्न सुझाव दिएका छन् ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर हरिहर खनाल

कोरोना माहामारीका समयमा पनि मुटु रोगका बिरामीहरुलाई नियमित औषधी सेवन गर्न सुझाव दिन्छन् वरिष्ठ रोग विशेषज्ञ डाक्टर हरिहर खनाल ।

उनकाअनुसार कोरोना भनेकै फोक्सोको रोग हो, फोक्सोमा निमोनिया भएपछि शरीरमा अक्सिजनको अभाव हुन्छ, अक्सिजन लिने र कार्बनडाइ अक्साइड फ्ँयाक्ने प्रक्रियाको दक्षता पनि घट्छ जसकारण मुटुलाई भार पर्छ र जोखिम बढ्ने गर्छ ।

विशेषगरी मुटु रोग हृदयघात, डाइबेटिज, उच्च रक्तचाप लगायतका बिरामीलाई खतरा हुने डा. खनालको भनाइ छ ।
कोरोना संक्रमणबाट मुटुका रोगीलाई बच्न स्वास्थ्य मापदण्डलाई अनिवार्य पालना गराउन अनुरोध गर्छन् उनी ।

कोरोना संक्रमित भएका र आइसोलेशनमा बसेका बिरामीले खानपिनमा ध्यान पुर्‍याउनुपर्छ, ‘भिटामिन सी’, भिटामिन बी कम्प्लेक्स, भिटामिन डी खानुपर्छ’ खनालले खबरहबसँग भने, ‘खोकी लागेको भए औषधी सेवन गर्नुपर्छ, पे्रसर सुगर र मुटुको औषधी नियमित खाएमा कोरोनालाई जित्न सकिन्छ ।’

ती बाहेक मुटु हल्लने, छाति चिरिने, दुख्ने, अप्ठ्यारो हुने समस्या देखिएमा आइसोलेसनबाट तुरुन्त अस्पताल जान उनी अनुरोध पनि गर्छन् ।

क्यान्सर रोग विशेषज्ञ डाक्टर मदन पिया

नेपालमा हरेक वर्ष ५० हजारको संख्यामा क्यान्सरका नयाँ बिरामी थपिने नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको अनुमान छ ।

केमियो थेरापी र ट्रिटमेन्ट सकाएर घरमा बसेका बिरामीका लागि कोरोना संक्रमणबाट बच्न अस्पतालका क्यान्सर रोग विषेशज्ञ डाक्टर मदन पिया सुझाव दिन्छन् ।

केमियो थेरापी गरिरहेका बेला ख्याल गर्नुपर्ने बताउदै उनी भन्छन्, ‘त्यो बेला शरीरको संरचना कमजोर भएको हुन्छ इन्फेक्सन भइहाल्यो भने निको हुन समय लाग्छ ।’

त्यस्तै उपचार ट्रिटमेन्ट गराएर घरमा बसेका र घरमै उपचार गरिरहेका क्यान्सरका बिरामीलाई पनि स्वास्थ्यका मापदण्ड पालना गरी कोरोनाबाट सुरक्षित भएर बस्न अनुरोध गर्छन् डाक्टर पिया ।

‘पछिल्लो समय मानिसले स्वास्थ्य मापदण्ड पालनामा हेलचक्राइ गरेका छन्’ पिया भन्छन्, भीडभाड, बिहे, पूजा लगायतका कार्यक्रममा जाने कोरोना बोकेर परिवारसम्म पुग्ने, परिवार र समुदायस्तरमा फैलाइरहेका अवस्था छ ।’

के हुन्छ र ? भन्नु भन्दा पनि कसरी संक्रमणबाट आफू र परिवारलाई जोगाउनेतर्फ ध्यान पुर्‍याउन उनी अनुरोध गर्छन् ।

केमियो थेपारी गरिरहेका र क्यान्सरका बिरामीले भ्याक्सिन लगाउन हुँदैन ।

उनकाअनुसार केमीयो थेरापी गरिरहेका र रगतको कमी भएका बिरामीले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन । तर अवस्था सामान्य भएमा लगाउन पनि सकिन्छ ।

‘सामान्य ज्वरो आउने घाँटी दुख्ने लगायत केही समस्या वा लक्षण देखिएमा परिवारका सदस्यबाट टाढा रहेर आइसोलेसनमा बस्नुपर्छ, सिटामोल खाने गर्नुपर्छ’ डा.पियाले भने ।

‘त्यस्तै आइलोसेनमा बस्दा प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन सी र डी खानुपर्छ,’ उनले भने, ‘बेसार—पानी, झोलिलो पदार्थ पिउने, चिकेन सुप खाने र आराम गर्नुपर्छ ।’

अहिलेसम्म कोरोना संक्रमित भएका क्यान्सरका बिरामीले आइसोलेसनमै बसेर निको भएको बताउदै सबैलाई अनिवार्य आइसोलेसनमा बस्न उनले सुझाएका छन् ।

मधुमेह रोग विशेषज्ञ डा. अंशुमाली जोशी

मधुमेहका बिरामी कोरोनाबाट संक्रमित भइरहेको बताउँछन् मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डाक्टर अंशुमाली जोशी ।

उनकाअनुसार पछिल्लो समय भएका अध्ययनले कोरोनाकै कारण पनि मधुमेह हुन सक्ने सम्भावाना रहेको देखाएको छ ।

अस्पतालमा उपचार गर्न आउने बिरामीले दिनहुँ जसो कोरोना लाग्यो कसरी आइसोलेसनमा बस्ने ? आफू बच्ने र बचाउने भनेर सम्पर्क गर्ने गरेको उनले बताए ।

‘कोभिड लाग्न नदिन पनि मधुमेह नियन्त्रणमा राख्न जरुरी छ’ उनले भने, ‘यदी कोभिड लागि हाले पनि मधुमेह नियन्त्रणमा ल्याउन निकै जटिल छ ।’

हालसम्म कोरोना संक्रमण हुनबाट जोगिएका मधुमेहका बिरामीलाई डा. जोशी भन्छन्, ‘खाना कन्टोल गर्ने र धेरै आराम गर्दा मधुमेह बढ्ने सम्भावना हुन्छ । त्यसैले व्यायाम निरन्तर गर्नुपर्छ ।’

लकडाउनको अवस्थामा बाहिर निस्कन निषेध गरिए पनि घरभित्र भर्‍याङको तलमाथि, कौशी, बगैँचामा भएपनि व्यायाम गर्न सुझाव दिन्छन् उनी ।

खाने कुरामा चिल्ला कम गरेर सागसब्जी सलाद बढी प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

कोरोना संक्रमण भई आइसोलेसनमा बसेका मधुमेहका बिरामीलाई विशेषगरी भिटामीन सीको लागि फलफूल, कागती खाना अनुरोध गर्छन् उनी ।

‘भिटामिन किन्न पसलसम्म जानुपर्दैन सामान्यतया भिटामिन सी फलफूल कागतीहरूमा पाइन्छ’, उनले भने, ‘भिटामिन डी घामबाट मात्र पाइने हुँदा र अहिले आइसोलेसनमा कोठाभित्र बस्नुपर्ने हुँदा यो किनेर खाँदा पनि राम्रो हुन्छ खाइरहनुभएकाले निरन्तरता दिनुपर्छ ।’

कोरोनाको संक्रमण नियन्त्रण गर्न मुलुकमा हाल निषेधाज्ञा कायमै छ । निषेधाज्ञाकै समयमा पनि मुलुकभर दैनिक ५ देखि ६ हजारभन्दा बढी संक्रमित थपिरहेका छन् ।

संक्रमणकै कारण मर्नेको संख्या दैनिक झण्डै सयको हाराहारीमा पुगेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ११ : २८ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला