चितवनकी सुजिता कसरी मारिइन् ? प्रहरीलाई छैन भेउ | Khabarhub Khabarhub

चितवनकी सुजिता कसरी मारिइन् ? प्रहरीलाई छैन भेउ



चितवन– चितवनको राप्ती नगरपालिका–३, प्रगतिपुर निवासी २३ वर्षीया युवती सुजिता भण्डारी बेपत्ता भएको १० दिनमा मृत फेला परेपछि आफन्त र स्थानीयवासीले अपराधी अविलम्ब पक्राउ गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले सोमबार मध्याह्नदेखि करिब एक घण्टा भण्डारमा राजमार्ग अवरुद्ध गराए । कसैले अपहरण गरेर सुजिताको हत्या गरेको उनीहरूको भनाइ छ । अपहरण लगत्तै जानकारी गराए पनि प्रहरीले गम्भीरतापूर्वक खोजी नगरेकाले उनको हत्या भएको आफन्तजनको आरोप छ ।

प्रदर्शनकारीहरूले ‘सुजिताको हत्या निर्मला पन्तको जस्तो नहोस्’ भन्दै अपराधीलाई छिटो पक्राउ गर्न माग गरेका छन् । उनीहरूले राप्ती नगरपालिकाकी मेयर प्रभा बरालसँग पनि न्यायका लागि गुहारेका छन् ।

सुजिता यही असार ११ गते घरमा रोपाइँ भएको दिन बिहान ६ बजे तरकारी लिन भनेर करिब पाँच सय मिटर टाढा साथी पुनम राईको घर जान भनेर हिँडेकी थिइन् ।

बेपत्ता भएको १० दिनपछि आइतबार च्याउ खोज्न जङ्गल गएका केही स्थानीयवासीले घरबाट करिब तीन किलोमिटर टाढा ब्रह्मास्थानी सामुदायिक वनमा एउटा शव देखे ।

परिवारजनले उक्त शव सुजिताकै हो भन्ने पुष्टि गरेका छन् । उता प्रहरीले फरेन्सिक रिपोर्टपछि मात्रै थाहा हुने जनाएको छ । प्रहरीले सोमबार सुजिताको शव उठाएर लैजाँदै गर्दा स्थानीयवासी र आफन्तजनले प्रदर्शन गरेका हुन् ।

पुनम बिहान ओछ्याउनमा हुँदै सुजिताको मोबाइल फोनबाट म्यासेज आएको थियो । उनले ‘म घर भिन्डी लिन आको है म, तपाईंसँग भेटघाट नि हुन्छ’ भन्ने गरेकी थिइन् तर सुजिता पुनमको घर पुगिनन्, आफ्नो घर पनि फर्किनन् ।

सुजिता धेरै बेरसम्म नफर्किएपछि परिवारका सदस्यहरूले उनलाई फोन गरे तर फोन लागेन ।

सुजिताले आफ्नी दिदी कवितालाई फोन गरेर ‘चोकदेखि मलाई गाडीमा हालेर लगेका छन्, आँखामा पट्टी बाँधिदिएका छन्, टाउकोमा हानिरहेका छन्’ भनेर सहयोगको आग्रह गरेको आफन्तजनको भनाइ छ ।

सुजिताले मध्याह्न १२ बजे दिदीलाई म्यासेज गरेर आफू अपहरणमा परेको जानकारी दिइन् । परिवारका सदस्यहरू पुनमको घर पुगे । सुजिता अपहरणमा परेको भन्ने हल्ला फैलियो ।

अपहरण नै भएको पक्का गरेर परिवारजनले प्रहरीमा जानकारी गराएर खोजी गरिदिन आग्रह गरेका थिए । प्रहरीले खोजी गरे पनि सुजिता फेला परिनन् ।

सुजिताको मोबाइलबाट १२ः४२ बजे ‘घरबाट पूर्वतर्फ लगेको’ भन्ने म्यासेज आए पनि मोबाइल टावरले पश्चिमतर्फ देखाएको प्रहरीलाई उद्धृत एक जना आफन्तले बताए ।

पुनमको घर सुजिताको घरबाट करिब पाँच सय मिटर पर जितपुरमा छ । उनले अपहरणमा परेँ भनेको चोक सिमरा हो, घरबाट करिब एक किलोमिटर पर । पुनमको घर जान सिमरातिर जानु पर्दैन । उनी कसरी सिमराबाट अपहरणमा परिन् भन्ने पनि शंकाको विषय भएको छ ।

विपन्न परिवारकी सुजिता पढाइमा अब्बल थिइन् । उनले स्नातकसम्मै छात्रावृत्तिमा पढेकी थिइन् । फिरौतीका लागि उनको अपहरण नहुनुपर्ने हो । उनी किन र कसरी अपहरणमा परिन् भन्ने कुनै भेउ प्रहरीले पाउन सकेको छैन ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ७ : ३० बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको