महोत्तरीकी बेपत्ता सुजिता : शवको अवशेष फेला पर्‍यो, फेला परेन रहस्य « Khabarhub

महोत्तरीकी बेपत्ता सुजिता : शवको अवशेष फेला पर्‍यो, फेला परेन रहस्य


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको लोहरपट्टी नगरपालिका–७ की सुजिता ठाकुर बेपत्ता भएको एक महिनाभन्दा बढी भयो तर प्रहरी घटनाबारे ठोस निष्कर्षमा पुगेको छैन ।

सुजिता बेपत्ता भएको तेइसौँ दिनमा उनकै घरबाट एक किलोमिटर पर आफ्नै खेतमा गाडिएको अवस्थामा मानव अवशेष फेला परे पनि सुजिताकै हो भन्ने टुङ्गो लागेको छैन ।

गत जेठ १९ गते सुजिता एकाएक बेपत्ता भएपछि उनका घर (ससुराल) पक्षले उनी परपुरुषसँग भागेको भन्ने हल्ला चलाए । दुई सन्तानकी आमा सुजितामाथि घरमा कुटपिट हुने गरेको र ज्यान मार्ने धम्की दिने गरेको भन्ने थाहा पाएका माइतीहरूले परपुरुषसँग भागेको भन्ने कुरा पत्याएनन् ।

माइती पक्ष हत्याको किटानी जाहेरी लिएर असार ७ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुग्यो । सुजिताका बुबा कामेश्वर पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालयले जाहेरी लिन आनाकानी गरेपछि उनीहरूले महिला सेलमा निवेदन दिए तर प्रहरीले बेवास्ता गर्‍यो ।

माइतीहरूले सुजिता जानसक्ने सम्भावित सबै ठाउँमा खोजी गरे, केही पत्तो लागेन । कामेश्वरले नेताहरू पनि गुहारे । सुजिता बेपता भएको तेस्रो साता कामेश्वरले स्थानीय सामाजिक अभियानी सरोज रायसँग भेट गरे । रायले सक्रियता बढाएपछि प्रहरी अनुसन्धान शुरू भयो ।

असार १० गते सुजिताको घरपक्षकै खेतमा गाडिएको अवस्थामा थोरै मानव अवशेष फेला पर्‍यो । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश अर्चायका अनुसार उत्खनन गर्दा केश, रगतले रातो भएको माटो, मलखाद र नुन भेटियो । शव गलाउन मल र नुन प्रयोग गरेको हुन सक्ने उनले बताए । सो अवशेष सुजिताकै हो भन्ने निश्चित भएको छैन ।

६ जनाविरुद्ध किटानी जाहेरी

सुजिताको हत्या गरेको आरोपमा माइती पक्षले प्रहरी कार्यालय, महोत्तरीमा ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । यसमा घरपक्षका पाँच जना र हत्यामा सहयोग गरेको आरोपमा एक जना छन् । प्रहरीले आरोपितको नाम सार्वजनिक गरेको छैन । जाहेरी एक महिनापछि दर्ता भएको हो ।

अपराधीको छैन सुइँको

प्रहरीले सुजिताका पति मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई पक्राउ गरेको छ तर हत्याको सुइँको र ठोस प्रमाणबारे केही बताएको छैन । ससुरा पतिराम ठाकुर फरार छन् ।

ससुरा पतिराम नै हत्याका मुख्य योजनाकार हुन् भन्ने माइती पक्षको आरोप छ । एसपी आचार्यले उत्खननमा भेटिएको बाहेक थप प्रमाण फेला नपरेको र प्राप्त दसी प्रमाणित हुन बाँकी रहेको बताए ।

प्रहरी नियन्त्रणमा रहेका मुकेश र रूपेशको बयानबाट पनि ठोस कुरा आउन नसकेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरीलाई प्रदेश प्रहरीेले प्राविधिक सहयोग गरेको जनाइएको छ ।

सुजिताका छोराले खोलेको रहस्य !

सुजिताका दुई सन्तान छन्, ९ वर्षकी छोरी आँचल र पाँच वर्षका छोरा रौनक । अहिले दुवै जना मावलीमा छन् । सुजिताकी आमा सीतादेवीले नाति रौनकलाई घटनाबारे सोध्दा पोल खुलेको देखिने भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा रौनकले तोते बोलीमा आमालाई काठ काट्ने मसिनले घाँटी रेटेर बुबा, अंकल र हजुरबुबाले मारेको बताएका छन् । आमालाई मारेर फ्रिजभित्र राखेको र आफूलाई अर्को कोठामा सुत्न पठाएको रौनकले बताएका छन् ।

रौनकको ज्यान जोखिममा !

स्थानीयवासीका अनुसार सुजिताका घरपक्ष धनाढ्य छन् । छिमेकीहरू उनीहरूविरुद्ध बोल्न हच्किन्छन् ।

प्रहरीको पहुँच बाहिर रहेका पतिरामले नाति रौनकको ज्यान लिन सक्ने अशांका सुजिताका माइतीलाई छ । पोल खोल्ने बालकको ज्यान जोखिममा रहेको माइती पक्षको भनाइ छ ।

कामेश्वरले शुक्रबार प्रदेश २ का आन्तिरक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई भेटेर नातिको ज्यान जोगाइदिन आग्रह गरेका छन् । यसअघि प्रदेश २ का प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश रञ्जितकारलाई भेटेका थिए । माइतीहरूले प्रमाण मेटिन सक्ने शंका गर्दै अनुसन्धानको गति बढाउन आग्रह गरेका छन् ।

पतिरामको घरपरिवारलाई नजिकबाट जान्ने स्थानीय केही व्यक्तिहरूका अनुसार पतिराम र उनका छोराहरू सुजितामाथि हिंसा गर्थे । उनी बेपत्ता भएको भनिएको रात पनि मुख थुनेर कोठामा कुटपिट गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १० : ३८ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान

पूर्वगृहमन्त्री लेखकले गरे कञ्चनपुरबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मतदान

स्याङ्जाको एउटा केन्द्रमा भिजेका मतपत्र, मत बदर हुने चिन्ता

स्याङ्जा- मतदान अधिकृतको लापरबाहीले स्याङ्जाको एउटा मतदान केन्द्रमा मतपत्र भिजेको