विचार गर्नुहोस् त तपाईं कति घण्टा निदाउनु हुन्छ ! | Khabarhub Khabarhub

विचार गर्नुहोस् त तपाईं कति घण्टा निदाउनु हुन्छ !


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गएको सोमबार एक न्युरोलोजी जर्नलमा एउटा अध्ययनको रिपोर्ट प्रकाशित भयो । सोच्ने, कारण पत्ता लगाउने, समस्या समाधान गर्ने, निर्णय गर्ने, सम्झने र ध्यान दिने सबै क्षमता मान्छेको निद्रामा निर्भर रहने कुरा उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

सुत्ने र निदाउने अनुचित तरिकाका कारण अल्जाइमरको समस्या निम्तन सक्छ । एकदमै कम उमेरमा अल्जाइमरको समस्या हुनुको एक प्रमुख कारण नै कम निद्रा हुनु हो भन्ने अध्ययनले देखाएको छ ।

थोरै समय सुत्नाले निराशा हुन्छ र हृदय रोगको जोखिम पनि हुन्छ । सुत्ने समय, जीवनशैली तथा कुनै कुरा पढ्ने तरिकामा मानिसको ‘बेटा एमोलाइड’ को मात्रा निर्भर रहन्छ ।

उमेर बढ्दै गएपछि कम सुतेको र धेरै सुतेको दुवै कारणले हृदय रोगको जोखिम बढ्दै जान्छ । दैनिक छ घण्टाभन्दा कम निदाउनेमा ‘बेटा एमोलाइड’ मात्रा एकदमै बढी पाइयो ।

यस अध्ययनको नेतृत्व गरेका क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्व विद्यालयका पोस्ट डक्टर रिसर्च फेलो जोए विनरका अनुसार कम सुत्ने व्यक्तिमा पागलपनको जोखिम समेत हुन्छ । सातदेखि आठ घण्टा निदाउने व्यक्तिसँग तुलना गरेर यस्तो निष्कर्ष निकालिएको हो ।

निद्रा नपुगेको कारणले पाको उमेरका व्यक्तिहरूमा त गम्भीर समस्या देखिने गरेको छ । कम सुत्नेहरूमा कुनै कुरामा ध्यान दिने, सम्झने र भाषा बुझ्नेलगायत विषयमा समस्या आउँछ । बिस्तारै राम्रोसँग देख्न पनि नसक्ने हुँदै पागलपनको अवस्था हुनसक्छ ।

बढी सुत्नेहरूमा पनि अनेक समस्याहरू उत्पन्न हुन सक्छन् तर यिनीहरूमा ‘बेटा एमोलाइड’ बढ्ने समस्या हुँदैन । नौ घण्टा या वा सो भन्दा बढी समय सुत्नेहरू मानसिक रूपमा कमजोर तथा उनीहरूको मस्तिष्कको क्षमता पनि कम भएको पाइयो । सिकाइको क्रममा बढी सुत्ने कारणले कस्तो असर गर्छ भन्ने पनि अध्ययन भएको थियो ।

मान्छेको जीवनमा सुताइ र निद्राको भूमिकालाई वैज्ञानिकरूपले एक मापदण्डमा प्रस्तुत गर्न यो अध्ययन आवश्यक भएको हो । कम सुत्ने र धेरै सुत्ने दुवैमा बढी वजनको समस्या देखिएको छ । यो समस्या धेरै सुत्नेमा बढी रहेको पाइएको छ ।

कम निदाउँदा बढ्ने ‘बेटा एमोलाइड’ बारे कमैलाई थाहा छ । सामान्यतया हाम्रो मस्तिष्कको गतिविधि भइरहँदा एक खालको प्रोटिन उत्पादन हुन्छ । यो प्रोटिन नै ‘बेटा एमोलाइड’ हो । अल्जाइमरको मापन गर्ने पहिलो आधार नै ‘बेटा एमोलाइड’ हो ।

मस्तिष्कमा ‘बेटा एमोलाइड’ बढ्दै गएपछि भित्तामा टाँसिदै जान्छ । यसले बिस्तारै मानिसमा बिर्सने र मस्तिष्कलाई कमजोर पार्ने समस्या उत्पन्न गराउन सक्छ । कसैमा भने यो प्रोटिन मनग्ये भेटिए पनि स्वास्थ्यमा गडबडी भएको छैन । सत्तरी वर्ष वा सोभन्दा माथिका ३० प्रतिशत स्वास्थ मानिसमा ‘बेटा एमोलाइड’ फेला परेको छ ।

जब मानिसमा अल्जाइमरको समस्या उत्पन्न हुन्छ तब मरेको सेलको पुनर्जागरण हुनमा अवरोध हुन्छ । यसले गर्दा कुनै कुरा भण्डार गर्ने क्षमता मस्तिष्कमा हुँदैन । यसमा आधारित सिद्धान्त ‘एमोलाइड हाइपोथेसिस’ हो । यसले मानिसको मस्तिष्कमा कसरी क्षति हुन्छ भन्ने व्याख्या गरेको छ । यस सिद्धान्तका अनुसार बिस्तारै मस्तिष्कमा एउटा कोषबाट अर्को कोषसँग समन्वय हुन छाड्छ अनि कारण मस्तिष्कका कोषहरू मर्ने गर्छन् ।

बेलायतका अल्जाइमर्स रिसर्चका कम्युनिकेसन प्रमुख लाउरा फिप्सका अनुसार ‘बेटा एमोलाइड’ नियन्त्रण गर्न ठिक्क मात्रामा निदाउने बाहेक अर्को विकल्प नै छैन । अल्जाइमरको लक्षण देखिनुभन्दा धेरै वर्ष अघि नै ‘बेटा एमोलाइड’ बन्न शुरू भएको हुन्छ । यो बढेको पत्तै हुँदैन । अल्जाइमरको लक्षण देखिन थाल्दा धेरै ढिलो भइसकेको हुन्छ ।

यो अध्ययन ४ हजार ४१७ जनामा गरिएको हो । यिनीहरूको औसत उमेर ७१ दशमलव ३ वर्ष हो । अध्ययनमा सहभागी गराइएकाहरू अमेरिका, क्यानडा, जापान र अस्ट्रेलियाबाट थिए ।

यो अध्ययनसँगै देखिएको एउटा तथ्य के हो भने ठिक्क समय (आठ घण्टा) बाहेक घटी या बढी सुत्ने मानिसहरूमा निराशाको समस्या देखिएको थियो । कफी सेवनले सुत्ने समयमा खासै असर गरेको देखिएन तर दैनिक मदिरा सेवन गर्ने मानिस सामान्यभन्दा बढी निदाउने गरेको पाइयो । लैङ्गिक र जिनको आधारमा पनि धेरै कुरा फरक भएको पाइयो ।

मानिसको स्वास्थ्य निद्रा र निदाउने समयसँग धेरै हदसम्म निर्भर रहेको अध्ययनहरुले देखाएका छन् । धेरै सुत्नु वा थोरै सुत्नु दुवै हानिकारक छन् । पछिल्लो एक अध्ययनले अल्जाइमर्स रोग र निद्राको सम्बन्ध फेला पारेको छ ।

महिला र धेरै वर्ष औपचारिक अध्ययनमा बिताउनेहरू धेरै सुत्ने गरेको पाइयो । गोरा जातिका मानिस २४ घण्टामा ७ घण्टा नौ मिनेटको दरले सुत्ने गरेको पाइयो । अफ्रिकी अमेरिकीहरू औसतमा गोरा जातिका भन्दा ३७ दशमलव ९ मिनेट कम सुत्ने गरेको पाइयो ।

गोरा जाति भन्दा एसियालीहरू २७ दशमलव ३ मिनेट कम समय सुत्ने गरेका रहेछन् । ल्याटिनो तथा हिस्पानिकहरू गोराहरू गोरा जातिभन्दा १५ मिनेट कम सुत्ने गरेका रहेछन् ।

सुत्ने समय हृदय रोगसँग मात्र होइन मेटाबोलिक स्वास्थ्यसँग पनि सम्बन्धित रहेको तथ्यले देखाएको छ । मानिसको सुत्ने समय सामाजिक र आर्थिक संरचनामा निर्भर रहेको पाइएको छ । सामाजिक विषयमा जातीय भेदभाव र कथित जातिवादले मानिसको सुत्ने समयमा धेरै असर गरेको देखियो । विभिन्न खाले भेदभाव सहनेहरू कम समय सुत्ने गरेका छन् ।

यी आधार र एक आपसमा सम्बन्धित कुराको सेरोफेरोमा भविष्यमा सुत्ने तरिका र सुत्ने समयका कारण मानिसमा हुने शारीरिक एवं बौद्धिक र मानसिक क्षमतामा पर्ने प्रभावका बारे थप अध्ययन हुने नै छन् ।

फिप्सका अनुसार उनी आबद्ध संस्थाले भविष्यमा ठूलो स्वस्थ मानिसहरूमा पनि अध्ययन गर्नेछ । उनका अनुसार सहभागीले आफूले सुत्ने समयका बारे कतिको सही बताउँछन् भन्ने कुराले पनि अध्ययनको परिणाम निर्भर रहन्छ ।

अनुसन्धानको थप लक्ष्य पनि छ । कुन उमेर कति समय निदाउनु पर्याप्त हो भन्ने कुराको कुराका लागि थुप्रै उमेर समूह र फरक शारीरिक अवस्था भएकाहरूमा अध्ययन हुनेछ ।

यो अध्ययनको अर्को पाटो पनि छ । गहिरो निद्रासहित सुत्ने वा हल्का सुत्ने मानिसको शरीरमा आउने भिन्नताबारे पनि भविष्यमा अध्ययन गर्ने तयारी छ । बुढापाकाहरूमा अर्को अध्ययन पनि एकै पटक गर्ने तयारी छ । सुत्ने समयका साथै भोजन, जीवनयापनको अन्य शैली र शरीरमा पर्ने असरबारे पनि एकै पटक अध्ययन हुनेछ ।

अन्वेषक विनरले यो अध्ययनपछि कुन जीवन शैली भएका मान्छेको सुत्ने समय कति हुनुपर्छ भन्ने पनि मापन हुन सक्ने बताएका छन् ।

सुत्ने आदत र यसले स्वास्थ्यमा पर्न सक्ने दीर्घकालीन असरबारे अझ लामो समय धेरै विषयमा अध्ययन हुने अनुसन्धानकर्ताहरू बताउँछन् । धेरै चिकित्सकको मत के छ भने सात घण्टादेखि नौ घण्टा उपयुक्त हो तर सुत्ने तरिकामा पनि धेरै कुरा निर्भर रहन सक्छ ।

यसअघि पनि सुत्ने समय र मानिसको स्वास्थ्यबारे धेरै अनुसन्धान नभएका होइनन् । पर्याप्त मात्रामा सुतेपछि मानसिक रूपमा स्फूर्ति जाग्ने त धेरैलाई अनुभव भएकै कुरा हो ।

अर्को एक अध्ययनले कम सुत्ने मानिसमा रक्त सञ्चारको समस्या हुने र यसले अन्ततः मुटुमा असर गर्ने ठहर गरेको छ । खेल क्षेत्रको हकमा पनि पर्याप्त मात्रामा सुत्नु र नसुत्नुको अर्थ रहने गरेको छ । शीघ्र स्वास्थ्य लाभका लागि निद्रा सबैभन्दा राम्रो उपाय मानिएको छ ।

मांसपेशीको बनोटमा पनि निद्राले असर गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । यस कारण खेलकुदमा रहेका तथा यसमै जिउन चाहनेका लागि आवश्यक मात्रामा निदाउनु अनिवार्य छ ।

कम समय सुत्ने मानिसलाई ‘लो ब्लड सुगर’ को समस्याले पनि सताउन सक्छ । हामी जति बढी जागा हुन्छौँ, ग्लुकोज पनि बढी नै खपत हुन्छ । शरीरले ‘ब्लड सुगर’ सन्तुलनमा ल्याउन सबै कोषलाई सक्रिय नराख्न पनि सक्छन् । यस कारण कम सुत्ने मानिसमा ‘लो ब्लड सुगर’ को समस्या हुन सक्छ ।

कम सुत्ने मान्छेमा इम्युन कोष पनि कम हुने गरेको पाइएको छ । इम्युन कोषको कमी हुँदा रोगले तत्काल आक्रमण गर्न सक्छ ।

कम सुत्ने मान्छेमा बढी भोक लाग्ने समस्याको पनि हुन सक्छ । सुतेको समयमा विभिन्न हर्मोनको उत्पादन र नियन्त्रण दुवै काम शरीरले गरेको हुन्छ । लगातार लामो समय नसुत्दा यो प्रक्रिया अवरुद्ध हुन्छ ।

पर्याप्त मात्रामा नसुत्दा दुई हार्मोनको सन्तुलन बिग्रन जान्छ । ग्रेहेलिनको मात्रा बढ्छ भने लेप्टिनको मात्रा घट्छ । यो घटबढले थोरै सुत्ने व्यक्तिमा धेरै भोक लाग्ने समस्या उत्पन्न हुने सम्भावना प्रबल हुन्छ ।

सुत्ने समयसँग मानिसको शरीरको सम्बन्धबारे आधुनिक विज्ञानमात्र होइन, आयुर्वेद र अन्य सबै परम्परागत स्वास्थ्य विज्ञानले वर्षौंदेखि अध्ययन गरेका छन् । यी सबै एउटै निष्कर्षमा पुगेका छन्– २४ घण्टामा सातदेखि आठ घण्टा निदाउनै पर्छ ।

 

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : ०१ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको

हिमालयन पावरले हकप्रद शेयर जारी गर्ने 

काठमाडौं– हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको

दार्चुला जिप दुर्घटना : मृतकको सङ्ख्या आठ पुग्यो

खलङ्गा– दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौं– गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको

कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित  जलवायु परिवर्तनसम्बन्धी