दशैँमा च्याङ्ग्राको मूल्यमा वृद्धि, उपभोक्ता निरासमा « Khabarhub

दशैँमा च्याङ्ग्राको मूल्यमा वृद्धि, उपभोक्ता निरासमा


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- वर्षभरि जे–जस्तो खाए, लाए पनि दशैँमा मीठै खाने, राम्रै लाउने नेपाली परम्परा नै बनिसकेको छ ।

यही परम्पराको सिको अहिलेको आधुनिक र नयाँ पुस्ताले पनि गर्दै आएको छ । दशैँसँग जोडिएर आउने प्रमुख चिजमध्ये च्याङ्ग्राको मासुका परिकार पनि एक हो । दशैँको बेला प्रायः नेपालीको घरमा एक दुई छाक भए पनि च्याङ्ग्राको मासु पाक्ने गर्छ । तर यस वर्ष भने न्यून आय भएका सर्वसाधारणले च्याङ्ग्राको मासुको स्वाद लिन नसक्ने भएका छन् ।

सोमबारदेखि म्याग्दीको सदरमुकाम बेनी बजारमा मुस्ताङ्गी च्याङ्ग्रा भित्रिन सुरु गरेका छन् । पहिलो खेपमा भित्रिएका करिब १५० च्याङ्ग्रा हेर्न कालिपुलमा सर्वसाधारणको भीड नै लागेको भए पनि एक/दुई जनाबाहेक अन्यले किन्ने आँट भने गर्न सकेनन् । कारण थियो, च्याङ्ग्राको मूल्य । रोज्जा च्याङ्ग्रालाई रु ५० हजार बताएपछि धेरै ग्राहक पछि हटे ।

कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि यस वर्ष तिब्बतबाट दशैँमा धेरै भेडा, च्याङ्ग्रा नेपाली बजारमा नआएपछि मुस्ताङमा पालिएका भेडा च्याङ्ग्राको मूल्य पनि आकाशिएको हो । तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको भाउ प्रतिगोटामै सातदेखि १० हजारसम्मले महङ्गिएकाले तल झार्दा लागत खर्च, बाटोको समस्याआदि कारणले गर्दा च्याङ्ग्राको मूल्य बढेको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले बताए ।

मुस्ताङमा गत वर्ष व्यापारीले रु २७ हजार प्रतिगोटामा बिक्री गरेको च्याङ्ग्राको भाउ यसपटक च्याङ्ग्रा पाइने मूल थलोमा नै रु ३५ हजार भन्दा माथि पुगेको व्यापारीको भनाइ छ । मूल थलोमै महङ्गो भएपछि बजारमा च्याङ्ग्राको भाउ अझै बढ्न सक्ने च्याङ्ग्रा व्यापारी थानेश्वर खड्काले बताए। गत वर्ष पनि कोरोनाका कारण कोरला नाकाबाट च्याङ्ग्रा नभित्रिएपछि मुस्ताङबाट मात्रै रु सात हजार भेडा, च्याङ्ग्रा बिक्रीका लागि पठाइएको र यस वर्ष मुस्ताङमा पनि धेरै भेडा, च्याङ्ग्रा नभएकाले यसको मूल्य बढेकोे एक दशकदेखि मुस्ताङमा भेडा, च्याङ्ग्राको व्यवसाय गर्दै आएका गुन्जा तेन्जिङले बताए ।

हिमाली जिल्लालाई लक्ष्य गरेर स्थानीय, प्रदेश र सङ्घीय सरकारले भेडा, च्याङ्ग्रापालन व्यवसायका लागि वर्षेनी करोडौँ रकम लगानी गर्दै आएको छ । मुस्ताङमा पनि भेडा, च्याङ्ग्रा र ऊन प्रशोधनका लागि गण्डकी प्रदेश सरकारको मात्रै करोडौँ लगानी छ । तर सरकारले त्यति धेरै लगानी गरेर प्रोत्साहित गरेको भेडा, च्याङ्ग्रापालनको अवस्था मुस्ताङमा कस्तो रहेछ त भन्ने कुराको उदाहरण दशैँ–तिहारमा भेडा च्याङ्ग्राको अभाव र अस्वभाविकरूपमा भएको मूल्यवृद्धिले देखाएको यहाँका वुद्धिजीवीको भनाइ छ ।

स्थानीय जातका बोका र ब्रोइलरको खोजी

दशैँमा मुस्ताङी च्याङ्ग्राको मासु महङ्गो भएर खान नसकिने भएपछि यहाँका सर्वसाधारण र न्यून आय भएका व्यक्तिले स्थानीयस्तरमा पालिएका खसी–बोकाको जोहो गर्न थालेका छन् । च्याङ्ग्राको भाउ महङ्गिएको थाहा पाएपछि स्थानीयरूपमा पालिएका खसी–बोकापालकले पनि यहाँ पाइने खसी बोकाको मूल्यवृद्धि गरेका सर्वसाधारणको भनाइ छ ।

गत वर्षसम्म रु १२ हजारदेखि १८/२० हजारसम्ममा पाइने यहाँका खसी–बोकाको मूल्य खोरमा नै यस वर्ष रु तीनदेखि पाँच हजारसम्म वृद्धि भएको दुधेखोलाका श्याम घर्ती मगरले बताए । अहिलेसम्म प्रतिकिलो रु एक हजारसम्ममा पाइने खसीको मासु दशैँमा रु एक हजार २०० को हाराहारीमा पर्ने उनको भनाइ छ ।

धेरै परिवार हुने र न्यून आय हुने व्यक्तिका लागि यस वर्षको दशैँ अत्यन्त महङ्गो हुने भएको छ । “दशैँमा च्याङ्ग्राको मासु त परको कुरा खसी–बोकाको मासु पनि किनिनसक्ने हुनेभयो”, म्याग्दी नदीमा गिट्टी कुटेर परिवार पाल्दै आएका श्याम विकले भने, “खोरमै गएर चारवटा ब्रोइलर कुखुरा किनेर ल्याएँ, अहिलेको दशैँं ब्रोइलरले काम चलाउने हो ।”

यस्तो अवस्था श्यामको मात्रै होइन, धेरै न्यून आय भएका परिवारको हो । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा–च्याङ्ग्रा खोज्ने गरे पनि थोरै कमाइ भएका व्यक्तिले यस वर्ष स्थानीय खसी, बोका र ब्रोइलर कुखुराको मासुबाटै दशैँमा परिकार बनाएर खाने भएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १० : ३० बजे

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक