काठमाडौँ– तेस्रो प्रयासमा दक्षिण अफ्रिकी लेखक डेमोयन गलगुटले प्रतिष्ठित ‘द बुकर अवार्ड’ जितेका छन् । यसअघि सन् २००३ र सन् २०१० मा पनि मनोनयनमा परेका गलगुटले यसपटक उपन्यास ‘द प्रोमिस’ का लागि उक्त अवार्ड पाएका हुन् ।
गलगुटको नवौँ उपन्यास ‘द प्रोमिस’ मा एउटा दक्षिण अफ्रिकी परिवारले चार दशकदेखि गरिरहेको सङ्घर्षको कथा समेटिएको छ ।
निर्णायक प्रमुख माया जसानोफले ‘द प्रोमिस’ लाई ‘टुर डी फोर्स’ उपमा दिएकी छन् । उनले यस उपन्यासमा विशिष्ट खालको कथा भएको रहेको र ४० वर्षयताको दक्षिण अफ्रिकी इतिहास प्याकेजको रूपमा प्रस्तुत भएको बताएकी छिन् । उनले गलगुटको लेखनशैलीले मान्छेको ध्यान खिचेर राख्न सकेको र उपन्यासको प्रस्तुति रोचक रहेको पनि बताएकी छन् ।
‘प्रोमिस’ को अर्थ प्रतिज्ञा हो । यसअनुसार नै श्वेत जातिका एक व्यक्तिले एक अश्वेत घरेलु कामदार महिलालाई केही जमिन दिन्छन् । यसैमा उनले आफ्नो घर बताउँछन् ।
‘द प्रमिस’ लाई बीबीसीकी समीक्षक रेबेका जोन्सले वर्षको उत्कृष्ट उपन्यास भनेकी छन् । जोन्सको बुझाइअनुसार चार दशकमा दक्षिण अफ्रिकामा एउटा श्वेत परिवार कसरी ओरालो लागेको छ भनेर प्रस्ट पारेको छ ।
यस उपन्यासमा यौन, लागु औषध र हतियारको प्रयोग लगायत विषय उठान गरिएको छ । उपन्यासमा पाठकको रुचि बनाइराख्न अनपेक्षितरूपमा हास्यरस पनि प्रयोग गरिएको छ । जोन्सले यी हास्यरसले आफूलाई मजाले हँसाएको उल्लेख गरेकी छिन् ।
तीन सय पृष्ठभन्दा कमको उक्त उपन्यासमा दक्षिण अफ्रिकाको राजनीतिक परिवर्तनको कुरा समेटिएको छ । परिवर्तनका लागि त्यहाँका नागरिकले गरेको सङ्घर्षको कथा छ । जोन्सका अनुसार उपन्यास पढ्दै जाँदा हामी कुनै भागमा एउटा पात्रका भावना महसुस गर्छांै भने अर्को भागमा पुगेपछि थुप्रै सपना महसुस हुन्छ ।
‘द बुकर अवार्ड’ बाट सम्मानित गलगुट ६ वर्षको उमेरदेखि नै क्यान्सरका बिरामी थिए । झन्डै ज्यान गुमेको थियो । जिन्दगीको त्यो प्रलयकारी समयमा पनि उनी पुस्तक पढ्न अभ्यस्त थिए । पढाइले उनलाई मन बहलाउन मात्र होइन, बाँच्न प्रेरणा पनि दिने गरेको थियो ।
पुरा ठिक भएपछि उनलाई पुस्तकको महत्व महसुस भयो र लेखनमा व्यस्त रहे ।
‘द प्रोमिस’ को कथा सन् १९८६ मा सुरु हुन्छ । यस समयमा चार दशकमा चार जनाको अन्त्येष्टि भएको छ, त्यो पनि प्रत्येक दशकमा एक जनाको दरले । यी हरेक मृत्यु देशको राजनीतिक र सामाजिक अवस्था फरक रहेको समयमा भएको हुन्छ ।
प्रेटोरियामा जन्मिएका ५७ वर्षीय गलागुटले बाल्यकालमा अल्पसङ्ख्यक श्वेत जातिको शासन अनुभव गरेका थिए । यसकारण उनलाई उक्त शासनकै सेरोफेरोमा केही लेख्न रुचि जागेको थियो ।
‘द बुकर अवार्ड’ बाट सम्मानित भएपछि गलागुटले आफ्नो उपन्यासले धेरैलाई महत्वाकाङ्क्षी बनाउने र भविष्यप्रति उत्तिकै आशावादी पनि बनाउने बताएका छन् । एउटा सानो टुक्राको जग्गाको लागि गरेको प्रतिज्ञा साँच्चै हृदयस्पर्शी भएको पनि उनले बताएका छन् ।
‘द प्रोमिस’ गत जुनमा बेलायतमा प्रकाशन भएको थियो । लगत्तै सर्वत्र प्रशंसा भएको थियो । द गार्जियनले यसलाई सनसनीपूर्ण उपन्यास भनेको थियो ।
सन्डे टाइम्सले ‘अन्धकारको उत्कृष्ट वर्णन’ भन्दै ‘द प्रोमिस’ बारे टिप्पणी गरेको थियो । फानान्सियल टाइम्सले ‘जटिल, महत्वकाङ्क्षी र सानदार न्यारेसन’ भएको भनेर उपन्यास भनेको थियो ।
यस वर्ष ‘द बुकर अवार्ड’ का लागि दक्षिण अफ्रिकी लेखक डेमोयन गलगुटको उपन्यास ‘द प्रोमिस’ छानिएको छ । सत्र वर्षको उमेरमा लेख्न थालेका गलगुट ५७ वर्षका भए । उपन्यासमा रङ्गभेदी शासन पल्टाउने सङ्घर्षको कथा छ ।
यस वर्ष यस ‘द बुकर अवार्ड’ का लागि अनुक अरुदप्रगासमको ‘अ प्यासेज नर्थ’, पेट्रिसिया लकउडको ‘नो वान इज टकिङ एबाउट दिस’, नादस्फा मोहम्मदको ‘द फर्च्युन मेन’ रिचार्ड पावर्सको ‘बेविल डर्टमन्यान’ र म्यागी सिप स्टेडको ‘ग्रेट सर्कल’ मनोनयनमा परेका थिए । गत वर्ष ‘सुगी मेन’ का लागि डगलास स्टुवार्टले उक्त पुरस्कार पाएका थिए ।
यस वर्ष पुरस्कार पाउने गलगुटले १७ वर्षको उमेरमा पहिलो पुस्तक लेखेका थिए । सानै अमेरदेखि क्यान्सर रोगबाट पीडित उनले अस्पतालको शय्यामा धेरै दिन बिताए । यही समयमा उनले पढेका पुस्तक र त्यहाँका कथाहरूले उनलाई आकर्षित गरेको थियो ।
गलगुट आफ्नो विगत सम्झँदै भन्दछन्, ‘म कल्पना पनि गर्दिनँ । यदि मैले किताबमा कथाहरू पढ्न नपाएको भए ६ वर्षको उमेरमा भोगेको त्यो प्रलयकारी समय कसरी कटाउँथे भनेर ।’
पेट्रोसिया हाई स्कुलबाट म्याट्रिक पास गरेका गलगुटले युनिभर्सिटी अफ केप टाउनमा नाटकको अध्ययन गरेका थिए । सत्र वर्षको उमेरमा उनको पहिलो उपन्यास ‘सिनलेस सिजन’ प्रकाशित भएको थियो ।
सन् १९८८ मा ‘स्मल सर्कल अप विङ’ प्रकाशमा आएको थियो । यो एउटा कथा सङ्ग्रह हो । यसै कथामा उनले बाल्यकालमै गम्भीर रोगको सिकार भएपछि गरेका सङ्घर्षका पक्षहरू समेटेका छन् ।
थुप्रै उपन्यास र नाटक लेखेका गलगुट युनिभर्सिटी केप टाउनमा नाटक पढाउँछन् । केप टाउनकै स्थायी बासिन्दा उनको मुख्य सोख भ्रमण हो । उनी अहिले पनि धेरैजसो भ्रमणमा रमाउँछन् ।
गलगुटको जीवनका केही रोचक तथ्य पनि छन् । बीस वर्षको उमेरदेखि उनीसँग पार्कर फाउन्टेन पेन छ । उनी यही प्रयोग गर्छन् । कम्प्युटर प्रयोग नगर्ने गलगुटको हातैले लेख्ने र पछि कम्प्युटरमा उतार्ने आदत छ । पूर्वीय दर्शनबाट प्रभावित उनी योगामा पनि रमाउने गर्छन् ।
गलगुटको ‘द प्रोमिस’ नै पहिलो चर्चित पुस्तक भने होइन । उनको उपन्यास ‘स्ट्रेन्ज रुम’ सन् २०१० मा ‘द बुकर अवार्ड’ का लागि नै मनोनयनमा परेको थियो । द गार्जियनका पुस्तक समीक्षक जान मारिसले उक्त पुस्तक पढेर आफूले सिङ्गो जीवनको यात्रा महसुस गरेको प्रतिक्रिया दिएका थिए ।
‘द बुकर अवार्ड’ पाउने गलगुट तेस्रो दक्षिण अफ्रिकी लेखक हुन् । यसअघि नाटाइन गोर्डिमरले उक्त अवार्ड पाएका थिए । जेएम कोयत्जेले दुई पटक उक्त अवार्ड जितेका थिए । गलगुटले रेहालड दहीको कथा ‘पिग’ लेखन प्रेरणाको मुख्य स्रोत भएको बताएका छन् ।
यसअघि यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पनि साम्राज्यवादका कारण मान्छेका जीवनमा देखिएको समस्याबारे लेखेबापत अब्दुल रजाक गुनारले पाए । तान्जानियाका गुरनाहले लेखेका धेरै पुस्तकहरू साम्राज्यवादका कारण अफ्रिकाको जीवनमा परेका कठिनाइका विषयमा छन् ।
गुरनाहको पनि सुरुवाती दिनमै चर्चामा रहेको पुस्तक सन् १९९४ मा प्रकाशित प्याराडाइज थियो । यो पुस्तक पनि बुकर अवार्डको मनोनयनमा परेको थियो । उनको ‘ब्रेक थ्रु’ उपन्यासको रूपमा रहेको प्याराडाइजमा तान्जानियका २० वर्षे एक युवाको सङ्घर्षको कथा लेखिएको थियो ।
१९४८ मा जन्जिबारमा जन्मिएका गुरनाह पनि सन् १९६० मा आप्रवासीको रूपमा बेलायत पुगेका थिए । युनिभर्सिटी अफ केन्टमा प्राध्यापक गुरनाहले सन् १९८६ मा ओले सोयिन्कापछि ‘द बकुर अवार्ड’ पाउने पहिलो अफ्रिकी अश्वेतको रूपमा कीर्तिमान बनाएका थिए ।
एउटा युग थियो जसमा बेलायत संसारको सबैभन्दा ठूलो साम्राज्यवादी शक्ति थियो । संसारमै शासन जमाइरहेको बेलायतको उपनिवेशमा छुटकारा पाउनेमा भन्दापछि अफ्रिकी देश रहे ।
ब्रिटिस वेस्ट अफ्रिकाको रूपमा जाम्बिया, घाना, नाइजेरिया, साउथर्न क्यामरुन र सियरा लीयोन थिए । ब्रिटिस इस्ट अफ्रिकामा केन्या, युगान्डा र तान्जानिया थिए ।
ब्रिटिस साउथ अफ्रिकामा दक्षिण अफ्रिका, रुवान्डा, बोत्स्वना, रुढिसा र जाम्बिया थिए । नर्थ अफ्रिकाको क्याम्पेनको रूपमा अफ्रिकाका लिबियालगायत देशलाई अधीनमा राख्ने विषयमै बढेको विवाद दोस्रो विश्व युद्धसँग पनि जोडिएको थियो ।
बेलायती र अन्य युरोपेली राष्ट्रको उपनिवेशबाट संसार मुक्त भइसकेको छ । अहिले राज्य र सीमाका नाममा लडाइँ झगडा खासै हुने गरेका पनि छैनन् तर औपनिवेशिक कालका प्रभाव अफ्रिकी देशमा लामो समयसम्म कायम रह्यो ।
जुन पीडा परिष्कृत साहित्यको रूपमा प्रस्तुत भएको छ । यी विषयमा लेखिएको पुस्तक र लेखकले पाएका अवार्डसँगै उपनिवेशका पीडा र त्यहाँका बासिन्दाका सङ्घर्षका कथा विश्व समुदायले आत्मसात् गरेको छ । –एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया