सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन | Khabarhub Khabarhub

सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् ।

दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण भेगमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो ।

जिल्लाका व्यास, भिमाद, शुक्लागण्डकी, भानु नगरपालिका तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाले विद्यालय सञ्चालन गराएका छन् । देवघाटले आइतबार मात्र विद्यालय सञ्चालन गराएको हो भने अन्य स्थानीय तहले केही दिन अगाडिबाट विद्यालय खुलाएका थिए ।

देवघाटका शिक्षा अधिकृत होमनाथ लामिछानेले तोकिएको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालन गरी विद्यालयमा पठनपाठन सुरु गरिएको जानकारी दिए । “जोखिम कायमै रहेकाले सबै मापदण्ड अपनाउन विद्यालयलाई निर्देशन दिएका छौँ”, उनले भने ।

व्यासले गत सातादेखि विद्यालय सञ्चालन गरेको थियो । शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले सम्भव भएसम्म वैकल्पिक विधिअनुसार अनलाइन कक्षा सञ्चालन गर्न र अनलाइन कक्षा सञ्चालन हुन सम्भव नभएमा १०० भन्दा कम विद्यार्थी भएका विद्यालयमा नियमित २ बजेसम्म प्रत्यक्ष सबै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिए ।

सयभन्दा बढी विद्यार्थी भएमा एउटा कक्षामा २५ भन्दा बढी विद्यार्थी नरहने गरी दिउँसो २ बजेसम्म मात्र कक्षा सञ्चालन गर्न र धेरै विद्यार्थी भएका विद्यालयले २५ भन्दा बढी प्रत्यक्ष कक्षामा नरहने गरी विभिन्न समूह वा सिफ्ट वा जोरबिजोर आधारमा कक्षा सञ्चालन गर्न भनिएको उनले जानकारी दिए ।

शुक्लागण्डकी–९ घारीस्थित तालबेँसी माध्यमिक विद्यालयका प्रधानाध्यापक धु्रव वाग्लेले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा अपनाएर कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

“विद्यार्थी विद्यालय छिर्ने बेलामा ज्वरो नाप्छौँ, मास्क अनिवार्य गरिएको छ । विद्यार्थीले घरबाट नलाइकन आएमा विद्यालयले मास्क दिन्छ । स्यानिटाइजर लगाएपछि मात्र कक्षाकोठामा प्रवेश गर्न दिएका छौँ”, उनले भने ।

कक्षामा एउटा बेन्चमा दुई जनामात्र विद्यार्थी राख्ने गरेको उहाँले बताउनुभयो । कक्षामा २५ बढी राखिएको छैन । १–५ का विद्यार्थीलाई बिहान १० बजेदेखि १ बजेसम्म र  ६–१० का विद्यार्थीलाई दिउँसो १ देखि ४ बजेसम्म आलोपालो गरेर विद्यालय चलाइएको छ ।

शुक्लागण्डकीकामा विद्यालय खुले पनि पृथ्वी राजमार्गसँग जोडिएका बजार क्षेत्रका झण्डै आधा दर्जन विद्यालय बन्द छन् । कोरोनाको जोखिम कायम रहेकाले बजार क्षेत्रका विद्यालय बन्द रहेको शिक्षा शाखा प्रमुख नवराज चापागाईले जानकारी दिए ।

घिरिङले गत साउनको सुरुआतदेखि नै विद्यालय सञ्चालन गरेको थियो । गत असार महिनामा भर्ना अभियान चलाएर साउनबाट विद्यालय खोलिएको हो ।

सङ्क्रमणको कम जोखिम भएका विद्यालय खुलाएर पठनपाठन जारी राखेको शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए । “ बिरामी देखिन्छन् त्यहाँ विद्यालय बन्द गर्‍यौँ । जोखिम नभएका विद्यालयमा निरन्तर पढाइ चल्यो । यसैगरी साउनदेखि विद्यालय चलाएका छौँ”, उनले भने ।

विद्यालय नखुलेका स्थानीय तहमा पनि विद्यालयले खोल्ने अनुमति मागेका छन् । भिमादले पनि विद्यालय खोल्ने तयारी गरेको स्रोतव्यक्ति केशवराज वाग्लेले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ८ : ३० बजे

दमौलीमा हुलाकको प्रभावकारिता कायमै

दमौली- जिल्ला हुलाक कार्यालय तनहुँले चालु आर्थिक वर्षको तीन महिनाको

जेन-जी आन्दोलनमा सुन्धारा कारागारबाट फरार जाम्बियाकी कैदी दुई महिनापछि पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनको मौका पारेर गत भदौ २४ गते केन्द्रीय

ओलीले आफूसँग तुलना गरेका दार्शनिक सुकरात कस्ता थिए ? 

शुक्रबार नेकपा एमालेको शिक्षा तथा मानव स्रोत विभागले अध्यक्ष केपी

शिक्षक र प्राध्यापकका संगठन अमान्य घोषित, राजनीतिक गतिविधिमा भाग लिए कारबाही गरिने

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक

टेलिकमको काममा ढिलाइ गर्ने ठेकेदारको सम्झौता तत्काल रद्द गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको काममा