देउवाको डडेलधुरा र देशको कांग्रेस | Khabarhub Khabarhub

देउवाको डडेलधुरा र देशको कांग्रेस



गत शनिबार काठमाडौँ पार्टीको महानगरपालिका अधिवेशन उद्घाटन गर्दै नेपाली कांग्रेसका पूर्वउपसभापति प्रशानमान सिंहले भने, ‘शेरबहादुरजीले फेरि सभापति पदमा चुनाव जित्नुभयो भने सबै जिल्लामा नेपाली कांग्रेसको हालत डडेलधुराको जस्तै बन्छ, मैले जितेँ भने सबै जिल्लाको हालत काठमाडौँकै जस्तो बनाउँछु ।’

सिंहले यस्तो भनाइ राखिरहँदा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको गृहजिल्ला डडेलधुरामा नेपाली कांग्रेसको हालत के भइरहेको छ भन्ने खुलदुली काठमाडौँका केही क्षेत्रीय प्रतिनिधिहरूलाई भएको थियो । वडातह हुँदै जिल्ला समितिमार्फत आएको क्रियाशील सदस्यको सूचीबाट सभापति देउवाले ४५६ जनाको नाम झिकेर ५८१ जनाको नाम थपेको विषयमा पनि काठमाडौँका कतिपय क्षेत्रीय प्रतिनिधि अनभिज्ञ रहेछन् ।

सभापति देउवाले त्यसरी नाम हेरफेर गर्दा पुराना खाँटी कांग्रेसी पाखा लागेको र गैरकांग्रेसीहरू हाबी भएको विषयमा पनि जानकारी रहेनछ । यसैगरी प्रहरी परिचलान गरेर सभापति देउवासँग असहमत पक्षलाई वडा अधिवेशनस्थलमा प्रवेश नै निषेध गरेको विषयमा पनि धेरैले जानकारी पाएका रहेनछन् ।

वडा अधिवेशन अस्वीकार गर्दै जिल्ला कार्यसमिति रिले अनशनमा बसेको घटना पनि राजधानी काठमाडौँका केही क्षेत्रीय प्रतिनिधिलाई थाहा रहेनछ ।

अनशनप्रति ऐक्यबद्धता जनाउन डडेलधुरा पुगेका नेता डा. शेखर कोइराला, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, युवा नेता गुरु घिमिरे, पुरञ्जन आचार्य लगायतको टोलीलाई स्वागत गर्न हजारौँ कांग्रेसजनहरू भेला भएको र उनीहरूमाथि प्रहरी प्रशासनले लाठी प्रहर गरेको समाचारमा पनि काठमाडौँका क्षेत्रीय प्रतिनिधिहरूले खासै चासो दिएका रहेनछन् ।

कांग्रेसलाई काठमाडौँको जस्तो बनाउने कि डडेलधुरा जस्तो भन्ने पूर्वउपसभापति सिंहको प्रश्नपछि मात्रै काठमाडौँ महानगरपालिकाका क्षेत्रीय प्रतिनिधिहरूले डडेलधुरामा के भइरहेको छ भन्नेतर्फ ध्यान दिए ।

राजधानी काठमाडौँ सूचनामा पहुँचको हिसाबले पनि सबैभन्दा सुगम छ तर राजनीतिकरूपमा काठमाडौँका कार्यकर्ता बाहिर जिल्लाका भन्दा कम सूसुचित भएको गुनासो उपसभापति सिंहले कार्यक्रम स्थलमै गरे ।

देउवाले मतदान गर्दा पृष्ठभूूमिमा देखिएको विद्यालय भवनको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यतिबेला देउवा चौथो पटक प्रधानमन्त्री थिए । अहिले उनी पाँचौ पटक प्रधानमन्त्री छन् र उनको गाउँको त्यो विद्यालय भवनबारे धेरैको चासो छ ।

देशको संघीय राजधानी काठमाडौँसँग र काठमाडौँबाट सबैभन्दा दूरदराजको जिल्ला डडेलधुरालाई तुलना गर्नु भनेको धृष्टता मात्रै हो ।देशभरिका सचेत मानिसहरू बस्ने ठाउँ काठमाडौँ र बसाइँ सर्नेहरूको ओहिरो लागेका कारण हरेक दशकको जनगणनामा जनसंख्या घट्दै गएको डडेलधुरा तुलना हुँदैन ।

पछिल्लो समयमा पढेलेखेका मानिसहरू बसाइँ सराइका लागि सबैभन्दा बढी बाहिरिएको जिल्लाको सूचीमा छ डडेलधुरा । पढेलेखेका मान्छे डडेलधुरा जिल्लाबाट अन्यत्र पलायन नहुन पनि किन ! डडेलधुराका शैक्षिक संस्थाको हालत के छ ! स्वास्थ्य संस्थाको हालत के छ ! केन्द्रीय तथ्यांक विभागको दस्तावेजमा मात्रै होइन सबैतिर छताछुल्ल छ ।

गत आमनिर्वाचनमा प्रधानमन्त्री देउवाले मतदान गर्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रधानमन्त्रीले मतदान गरेका कारण फोटो भाइल भएको थिएन, फोटोको पृष्ठभूमिमा मतदान केन्द्र रहेको विद्यालय भवन थियो ।

प्रधानमन्त्री देउवाको आफ्नै गाउँको विद्यालय भवनको बेहाल दखाउने फोटो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भाइरल बनाइदिएका थिए ।
जुनबेला बेहालको विद्यालय भवनसहितको फोटो भाइरल बनेको थियो त्यतिबेला देउवा मुलुकको प्रधानमन्त्रीका रूपमा चौथो पटक आसीन थिए । हाल पाँचौ पटक लागि प्रधानमन्त्री छन् । उनको गाउँको विद्यालय भवनको हालत त्यस्तै छ कि सुधार भयो ? यसमा ती सबैलाई चासो छ जसले त्यो फोटो हेरेका थिए ।

पाँच पटक प्रधानमन्त्री भएका र प्रधानमन्त्री नहुँदा पनि राज्यको साधनस्रोतमा ठूलै पहुँच राख्ने हैसियतका देउवाले आफूलाई २०४८ सालदेखि अविछिन्नरूपमा चुनाव जिताउने डडेलधुराबासीको जीवनस्तर उकास्नमा के योगदान पु¥याए ? यो प्रश्न उठ्नु स्वाभाविक हुन्छ ।

गुजरातको समृद्धि देखेरै भारतीय जनताले नरेन्द्र मोदीलाई केन्द्रीय सत्तामा पु¥याएका हुन् । विहारको दूरवस्थाले लालु यादव बदनाम भएका हुन् ।

लगातार ६ पटक चुनाव जितेका र पाँच पटक प्रधानमन्त्री भएका देउवाको गृह जिल्ला डडेलधुरा पञ्चायतकालमा पश्चिमको इलाम भनेर चिनिन्थ्यो । हवापानी र भौगोलिक अवस्थिति इलामसँग ठ्याक्कै मिल्छ । पञ्चायत ढलेर देउवा सत्तामा हाबी भएको ३२ वर्ष बित्दै गर्दा इलाम र डडेलधुरामा के अन्तर आयो त ?

झापाका मानिसहरू इलाममा बसाइँ सर्न लालायित हुने गरेका छन् । ‘इलाममा चार आना भए पनि जग्गा जोड्न पाए’ भन्ने धोको झापाबासीले राख्न थालेका छन् । उता डडेलधुराबासीहरू धमाधम कैलाली र कञ्चनपुरतिर झरिरहेका छन् । कैलाली र कञ्चनपुरमा ९ धुर भए पनि जग्गा जोड्न पाए टाउको लुकाउने ठाउँ हुन्थ्यो भन्ने धोको डडेलधुराका हरेक घरपरिवारलाई छ ।

देउवा सत्तामा हाबी हुन थालेको ३२ वर्षको अन्तरालमा डडेलधुरा जिल्ला बस्नलायक समेत नहुने गरी पछाडि धेकेलिएको यर्थाथ उल्लेख गर्न हिचकिचाउनु पर्दैन । डडेलधुरामा नेपाली कांग्रेस कुन हालतमा पुगेको छ ! चौधौँ महाधिवेशन निष्पक्ष हुनेछैन भन्ने संकेत डडेलधुराले दिएको छ भन्ने कुरा मिडियामा छताछुल्ल भएको छ ।

देउवालाई बदनाम गराउन उनकै आडमा कसैले डडेलधुरालाई विवादमा ल्याएको अनुमान धेरैको छ ।

डडेलधुरा भनेको संघीय निर्वाचनमा एक निर्वाचन क्षेत्र हो । चौधौँ महाधिवेशनमा सामेल हुने ४८ सय प्रतिनिधिमध्ये डडेलधुराबाट जम्मा २६ जनाले भाग लिन्छन् । निष्पक्ष अधिवेशन गरेको भए पनि डडेलधुराबाट कम्तीमा २० जना प्रतिनिधि देउवा पक्षकै आउने निश्चित थियो । बाँकी प्रतिनिधि इतरपक्षका आएर देउवालाई केही फरक पर्ने थिएन ।

देउवा सानो छाती भएका नेता पनि होइनन् तर यतिबेला डडेलधुराको विवादमा देउवाको नाम बदनाम छ । यसकारण देउवा सचेत हुनु जरुरी छ । डडेलधुराको समस्या समाधानमा जति ढिलाइ हुँदै जान्छ प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको बदनामी पनि त्यति नै बढ्दै जान्छ ।

पहिलो कुरा त आफ्नै गृह जिल्लामा समेत धाँधलीको सहरा लिने नेताले गराएको महाधिवेशन निष्पक्ष होला र ! यस्तै सन्देश प्रवाह भएको छ । उनले सभापति पदमा चुनाव जित्दा पनि धाँधली गरेर जितेको आरोप लाग्नेछ ।

दोस्रो कुरा, पार्टीको आन्तरिक लोकतन्त्र कस्तो हुनुपर्छ भनेर मलुकलाई नजीर दिनसक्ने ठाउँमा देउवा छन् तर डडेलधुरा जिल्लाको घटनाले नराम्रो नजीर स्थापित गरेको छ ।

डडेलधुराकै शैलीमा महाधिवेशन गराएर फेरि पार्टी सभापति बन्छु भन्ने आँट देउवामा छ भने छुट्टै कुरा हो, होइन भने देउवालाई फेरि सभापति निर्वाचित हुन सजिलो छैन ।

मुलुकका धेरैजसो वडामा निकै सानदारका साथ आन्तरिक लोकतन्त्रको अभ्यास गराएका कारण नेपाली कांग्रेसको साख बढ्नुपर्ने थियो । त्यसो हुन सकेन । डडेलधुराको विवादका कारण सानदारका लोकतान्त्रिक अभ्यास भएका वडा, पालिका तथा जिल्लाहरू छायामा परेका छन् । डडेलधुराको घटनाले नेपाली कांग्रेस बदनाम भएको छ ।

आफ्नै गृहजिल्लामा आफ्नै पार्टीको आन्तरिक लोकतन्त्रको समेत हुर्मत लिने व्यक्तिले सिङ्गो मुलुकको लोकतन्त्र कसरी जोगाउन सक्ला भन्ने प्रश्न खडा भएको छ ।

अन्यत्र जेसुकै भए पनि डडेलधुराका सन्दर्भमा प्रधानमन्त्री देउवाले ठूलो छाती देखाउन सक्नु पथ्र्याे । आफूलाई सच्याउने अवसर देउवालाई अझै पनि बाँकी छ ।

डडेलधुराकै घटनाका कारण अन्य कतिपय जिल्लामा संस्थापन पक्ष बढारिएको छ । फेरि काठमाडौँ महानगर पालिकातिर हेरौँ । महानगरका सभापतिमा नीलकाजी शाक्य ७ सयभन्दा बढी मत पाएर निर्वाचित भए । उनका प्रतिद्वन्दी प्रगतिमान रञ्जितले ३ सय मत पाए ।

सबै जसो मतदाताको मुखबाट सुनिथ्यो कि महानगरको सभापति बन्न लायक त प्रगतिमान नै हो तर देउवाको उम्मेदवार परेछ ! देउवा टिमका अरू उम्मेदवार २ सय मतको हाराहारीमा खुम्चिँदै गर्दा प्रगतिमानले ३ सय कटाउनु व्यक्तिगत प्रभाव मानिएको छ ।

महानगर कार्यसमिति छान्ने मतदाता नै महाधिवेशन प्रतिनिधि छान्ने मतदाता तिनै हुन् । दश वटा निर्वाचन क्षेत्र भएको काठमाडौँबाट देउवालाई भोट दिने महाधिवेशन प्रतिनिधि छानिन सजिलो छैन ।

दोलखा जिल्लामा देउवा पक्षधर भएकै कारण बहालवाला सभापति रुद्रबहादुर खड्का तेस्रो भोट ल्याएर पहिलो चरणमै रिङ आउट भए ।

संखुवासभामा देउवा पक्षीय उम्मेदवारले १०७ भोट पाउँदा ११ सय भोट कटाएर इतरपक्षका उम्मेदवार जिल्ला सभापति निर्वार्चित भए ।

डडेलधुराकै शैलीमा महाधिवेशन गराएर फेरि पार्टी सभापति बन्छु भन्ने आँट देउवामा छ भने छुट्टै कुरा हो, होइन भने देउवालाई फेरि सभापति निर्वाचित हुन सजिलो छैन ।

डडेलधुरा प्रकरणले देशव्यापीरूपमा गलत सन्देश दिएको यर्थाथ अवगत गराउन निकटस्थहरूले देउवालाई किन सकिरहेका छैनन् ? सभापति पदमा चुनाव हारे भने देउवाले डडेलधुरामा कसरी मुख देखाउलान् ? देउवाका समर्थकहरूले यो पाटोबारे सोचेको देखिएन ।

 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : ०५ बजे

युक्रेनले पायो नयाँ प्रधानमन्त्री

एजेन्सी – युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार

पाकिस्तानमा भारी वर्षा, ५४ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण

मन्त्री अधिकारीले भने- घुस लेनदेनमा नाम मुछेर चरित्र हत्या गरियो, गल्ती भेटिए सजाय भोग्छु

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले

रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

काठमाडौं – स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित

जेलमा रहेका रविको पक्षमा २४ लाख ५७ हजारको हस्ताक्षर

काठमाडौं- भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति