५२ वर्षपछि फर्किए गङ्गाबहादुर « Khabarhub

५२ वर्षपछि फर्किए गङ्गाबहादुर


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कमल खत्री

बेनी- सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने)को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो ।

विसं २००३ मा जन्मिएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुग्नुभएको खबर त्यतिबेला परिवारले पाएका थिए । त्यसपछि पनि उनी परिवारको सम्पर्कमा आएनन् । हालैमात्र स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्वीर राखेका र उनले बागलुङ, बेनी, तातोपानीको नाम लिएको जानकारी गराएका थिए । आफ्नो पुख्र्यौली थलो बेनी भएको र आफू त्यहाँ फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।

रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट वर्षौँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबीच टेलिफोनमा संवाद गराइएको थियो । आफन्तले झण्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उनले दिएको जवाफले उनको यकिन गरेका थिए ।

कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा बसोबास गर्दै आएका गुरुङ थामडाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उनका भाइका परिवारसँग मङ्गलबार पुनःमिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलाली पुगेर आफ्ना माइला बुबालाई उद्धार गरी ल्याएका हुन् ।

रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक पुनःमिलन गराइएको थियो । ‘पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ’, रेडक्रस म्याग्दीका सभापति हमालले भने।

साउन अन्तिम साता पूर्णानन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा असोज तेस्रो साता पारिवारिक पुनःमिलन भएको रेडक्रसले जनाएको छ । विभिन्न कारणले हराएका व्यक्तिको खोजी गर्ने काम रेडक्रसले गर्दै आए पनि विरलै यस्तो प्रकारको पुनःमिलन सम्भव हुने गरेको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताए।

घरबाट हराएपछि भौँतारिएका गुरुङ तत्कालीन समयमा अत्तरियादेखि डडेल्धुराको महेन्द्र राजमार्गमा काम गर्दागर्दै ठेकेदारले पारिश्रमिक नदिएपछि पैदलै हिँडेर कैलालीको मस्यगाउँमा पुगेको गुरुङले बताए । त्यहाँ पुगेपछि स्थानीयवासीसँग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर जीविकोपार्जन गर्दै आएका उनले माछा मार्ने पेशा अँगाल्नेका थिए । उनलाई लिन पुगेका आफन्तलाई गाउँलेहरुले भव्य सम्मानसहित बिदाइ गरेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : ३५ बजे

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी