काठमाडौँ– सन्ना मिरेला मारिन २०१५ मा पहिलोपटक सोसल डेमोक्रेटिक पार्टीको प्रतिनिधित्व गर्दै फिनल्यान्डको संसदमा प्रवेश गरिन् । त्यसै वर्ष उनी सञ्चार र यातायात मन्त्री भइन् । चार वर्षपछि २०१९ को डिसेम्बर ८ मा ३५ वर्षको उमेरमा प्रधानमन्त्री भइन् । फिनल्यान्डको इतिहासमै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने कीर्तिमान पनि उनले बनाइन् ।
यो सनसनीपूर्ण इतिहास कायम गर्ने मारिनको बाल्यकाल भने सङ्घर्षमय थियो । उनी १६ नोभेम्बर १९८५ मा राजधानी हेलसिन्कीमा जन्मिएकी हुन् । घरमा जँड्हाया बाबु थिए, आर्थिक सङ्कट थियो । यसै कारण उनका आमाबाबु छुट्टिए । यसपछि मारिन आमाका साथमा हुर्किन् । आमाकी जीवनसाथी अर्की एक महिला नै थिइन् । उक्त सम्बन्ध विच्छेदसँगै महिलालाई यौन पार्टनरका रूपमा स्वीकार गरेकी थिइन् ।
सन् २००४ मा १९ वर्षको उमेरमा ग्राजुएजेन गरेकी मारिन २००६ मा सोसयल डेमोक्रेटिक युथमा आबद्ध हुँदै राजनीतिमा प्रवेश गरिन् । सन् २०१० देखि २०१२ सम्म उनी युवा सङ्गठनको उपाध्यक्ष रहिन् । विद्यार्थीकालमा उनी बेकरीमा काम गर्थिन् ।
मारिन सन् २०१२ मा फिनल्यान्डको टेम्पारेमा सिटी काउन्सिलको निर्वाचनमा विजयी भइन् । त्यसको केही महिनापछि नै उनी काउन्सिलको प्रमुख भइन् । सन् २०१४ मै पार्टीको द्वितीय उपाध्यक्ष निर्वाचित भइन् । यसको एक वर्षपछि संसद् सदस्य भइन् ।
सन् २०१९ मा एन्टी रिनेले राजीनामा दिए पछि मारिन प्रधानमन्त्री भएर फिनल्यान्डको इतिहासमा तेस्रो महिला प्रधानमन्त्री बनिन् ।
मारिन विवादरहित भने भइनन् । घर भाडाको सुविधामा प्राप्त रकमबाट खाद्यान्न किनेको आरोपमा उनलाई लागेको थियो ।
मारिनले आफ्नो जीवनलाई इन्द्रेणीको संज्ञा दिने गरेकी छिन् जहाँ थुप्रै रङ्गहरूको संयोग हुन्छ । उनका जिन्दगीका आयामहरू अन्यका भन्दा पृथक् रहे । आमाबुबाको सम्बन्ध विच्छेद भएपछि आमाले रोजेकी महिला यौन साथी बाबु जस्तै भइन् ।
सन् २०१८ मा मार्कस रोइकोनेबाट एक छोरी जन्माएकी मारिनले २०२० मा राइकोेनेनसँग बिहे गरिन् । ट्रेन्डी म्यागेजिनका लागि भित्री वस्त्र नलगाईकन फोटो खिचेपछि उनको चर्को आलोचना भएको थियो ।
कम उमेरमा सफलता पाउने उनी एक्लो राजनीतिज्ञ भने होइनन् । जिकिन्डा आर्डन न्यू २०१७ मा ३७ वर्षको उमेरमा न्यू जिल्यान्डकी प्रधानमन्त्री बनिन् । सन् २००१ मा युनिभर्सिटी अफ वाइकाटोबाट ग्राजुएट हुने बित्तिकै उनले तत्कालीन प्रधानमन्त्री हेलेन क्लर्कको कार्यालयमा रिसर्चरको रूपमा काम सुरु गरिन् ।
यसपछि लन्डन पुगेर मन्त्री परिषद् कार्यालयमा सल्लाहकारको रूपमा काम गर्न थालिन् । सन् २००८ मा उनी समाजवादी युवाहरूको अन्तर्राष्ट्रिय सङ्घमा अध्यक्षमा निर्वाचित भइन् । सोही वर्ष उनी उनी सांसद बनिन् तर उनको दल लेबर पार्टीले नौ वर्षमा पहिलो पटक नराम्रोसँग हार व्यहोर्नु पर्यो ।
फिनल्यान्डकी सन्ना मिरेला मारिन ३५ वर्षको उमेरमा र न्यु जिल्यान्डकी जिकिन्डा आर्डन ३७ वर्षमा प्रधानमन्त्री भए । अस्ट्रियाका ३५ वर्षीय सेबास्टिन क्रुज दोस्रोपटक चान्सलर छन् । विश्वमा युवा वयका यस्ता नेता अरू पनि छन् ।
सन् २०१७ मा उनी सांसदसहित लेबर पार्टीको उपनेता भइन् । यस पटक उनको पार्टीले ४६ सिट र नेसनल पार्टीले ५६ सिट जिते । उनको दलले ग्रीन पार्टीसँग मिलेर सरकार बनायो । यस सरकारको प्रधानमन्त्री हुँदा उनी ३७ वर्षकी थिइन् । सन् २०१८ मा उनले छोरीको जन्माइन् । निर्वाचित सरकारको प्रमुख रहेकै समयमा बच्चा जन्माउने उनी बेनजिर भुट्टोपछि दोस्रो महिला थिइन् ।
आर्डन आफूलाई समाजवादी, प्रजातान्त्रिक र प्रगतिशील भन्न रुचाउँछिन् । उनको नेतृत्वमा रहेको सरकार गरिबीको मारमा परेका बालबालिका र आर्थिक असमानतामा केन्द्रित रहेको छ ।
कोभिड महामारी सुरु भएपछि आर्डनले चालेको कदम र महामारीको क्षति न्यूनीकरण गर्न पाएको सफलताका कारण संसारमै उनको सराहना भएको थियो । यसकारण २०२० को आम निर्वाचनमा उनको दल ६५ सिट जित्दै प्रस्ट बहुमत ल्याउन सफल भयो । सन् १९९६ मा समानुपातिक निर्वाचन प्रणाली लागु भएपछि कुनै दलको एकल बहुमत आएको यो पहिलो पटक हो ।
राजनीतिमा उनलाई प्रवेश गराउने काम काकी मोरिया आर्डनले गरेकी थिइन् । सन् २००८ मा उनी सांसदको आठ नम्बर सूचीमा रहेकी थिइन् । सन् २०१७ मा उनी छोटो समय विपक्षी दलको नेता भइन् ।
आन्द्रयु लिट्टेले राजीनामा दिएपछि आर्डन विपक्षी दलको नेता भएकी थिइन् । सोही समय उनले हेलने क्लर्कपछि दोस्रो महिला प्रधानमन्त्रीका रूपमा पनि कीर्तिमान बनाइन् ।
सन् २०१९ मा क्राइस्ट चर्च मस्जिदमा भएको बन्दुक प्रहारमा धेरै जना घाइते भए । सो समयमा इस्लामहरूप्रति मस्जिदमा उपस्थित भएर उनले देखाएको सहानुभूतिको संसारले प्रशंसा गरेको थियो ।
कोभिड महामारीको समयमा आर्डनले लगाएको लकडाउनको कारण मानवअधिकार हनन भएको आरोपसहितको मुद्दा चलाइएको थियो ।
पछि उनको प्रशंसा गर्दै प्राय ओसियाना देशहरू उनीसँग मिलेर सहकार्य गर्न तयार भए ।
न्यु जिल्यान्डको एउटा चर्चको सदस्य रहेकी उनले २५ वर्षको उमेरमा त्यो सदस्यता त्यागिन् । उनी कुनै खास एक धर्मको सदस्यको रूपमा आफूलाई राख्न असमर्थ रहेको प्रतिक्रिया दिँदै त्यहाँबाट बाहिर निस्किएकी थिइन् ।
सन् २०१२ मा चिनजान भएका टेलिभिजन प्रस्तोता क्लर्क भे गफर्डसँग उनले २०१९ मा बिहे गरिन् । बिहेको उनले एक छोरी जन्माएकी थिइन्।
३५ वर्षीय सेबास्टिन क्रुज अस्ट्रियाका चान्सलर छन् । सन् २०१७ मा पहिलोपटक चान्सलर भएका उनी सन् २०१९ सम्म उक्त पदमा आसीन थिए ।
सन् २०२० मा उनी दोस्रो पटक चान्सलर निर्वाचित भएका हुन् । सन् २०१७ मा ३१ वर्षको उमेरमा चान्सलर भएर उनले अस्ट्रियाको कान्छो चान्सलरको रूपमा कीर्तिमान बनाएका थिए ।
भियनामा जन्मिएका क्रुज सन् २००४ मा ग्राजुएट भएपछि उनले त्यहाँ अनिवार्य मानिएको सैनिक कार्यकाल पूरा गरे । सन् २००३ मा युथ पिपुल्स पार्टीमा आबद्ध भएर उनले राजनीतिमा पहिलो पाइला चालेका थिए ।
सन् २०१० मा उनी युथ सङ्गठनको प्रमुख भए, २०१३ को निर्वाचन पछि विदेशमन्त्री भए । सन् २०१७ सम्म उनी देशको उच्च कोटीका कूटनीतिज्ञ भइसकेका थिए ।
सन् २०१७ मा भाइस चान्सलर रेनहोल्ड मिटरलेनरले राजीनामा दिएपछि उनी पार्टी प्रमुख भए । मिटरलेनरले सोही वर्ष राजनीति त्यागे । सोही वर्षको निर्वाचनपछि सेबास्टिनको दलले पिपुल्स पार्टी र फ्रिडम पार्टी मिलेर सरकार गठन गर्यो ।
अस्ट्रियामा धेरै परिवर्तन ल्याएका क्रुज थुप्रै स्क्यान्डलमा पनि परे । संसदमा विश्वासको मत पाउन नसकेर उनको पहिलो कार्यकाल सकिएको थियो । सन् २०१९ मा भएको अर्को संसदीय निर्वाचन पछि क्रुज फेरि शक्तिशाली भए । ग्रीन पार्टीसँग मिलेर उनले फेरि सरकार चलाए । यो सरकार २०२० मा गठन भएको हो ।
कामदारले धेरै समय काम गर्न पाउनुपर्ने आवाज उठाउन थाले पछि क्रुज नेतृत्वको सरकारले दैनिक १२ घण्टाको चलन सुरु गरेको थियो । यसबाट कामदारको कमाइ बढ्यो । सन् २०१९ मै युरोपेली पर्यटकका पारिवारिक राहतको नीति ल्याएका थिए । उनको यो नीति पनि चर्चामा रहेको थियो ।
क्रुज कार्यकालमा सन् २०१९ मा समलिङ्गी विवाहलाई मान्यता दिने जनाए । यसलाई संसदमा निर्माणार्थ प्रस्तुत गरियो । सोसयल डेमोक्रेटिक पार्टीको यो प्रस्ताव पिपुल्स पार्टी र फ्रिडम पार्टीले अस्वीकार गरे ।
क्रुज आणविक हतियारले वातावरणमात्र बिगार्ने नभई मानवता विरोधी शीतयुद्धकालीन समयको अवशेष मान्दै यसको विरुद्धमा रहे । सामाजिक न्याय र समानताको पक्षमा आवाज उठाउने उनले प्रतिव्यक्ति न्यूनतम आवाजको पक्षमा आफूलाई उभ्याए ।
सन् १९८६ मा जन्मिएका लुइजी डि माइयो २०१९ को सेप्टेम्बर देखि इटालीको विदेश मन्त्री छन् । यसअघि २०१८ मै उनी उपप्रधानमन्त्री भएका थए । सोही समयमा उनले आर्थिक विकास, श्रम र सामाजिक सुरक्षा मन्त्रालय सम्हालेका थिए ।
सन् २०१७ देखि २०२० को बीचमा उनी फाइभ स्टार मुभमेन्टका नेता थिए । माइयो पछि वाम मध्यमार्गी डेमोक्रेटिक पार्टीमा आबद्ध भए ।
२००७ मा माइयो लगायत मिलेर ‘फ्रेन्ड्स अफ पेपे गिलो’ समूह स्थापना गरेका थिए । यही समूह फाइभ स्टारमा परिणत भयो । सन् २०१० मा काउन्सिल निर्वाचनमा उनी पराजित भए । सन् २०१३ मा उनी इटालियन संसद्को चेम्बर अफ डेपुटी निर्वाचित भएका थिए ।
यी उल्लेख गरिएका नाममात्र होइन नाइजेरियाका मार्क ओकाइया अर्का युवा नेता हुन् जो ३० वर्षको उमेरमा कमिस्नर भए । अर्को अफ्रिकी देश केन्यामा २०१३ मै संसदमा सञ्चारकर्मी समेत रहेकी २९ वर्षीय नेउसुला लेसुडाको भूमिकाले उनी चर्चामा रहेकी थिइन् । यस्तै युवा वयका अन्य धेरै राजनीतिज्ञ संसारमा छन्, जो राजनीतिमा प्रभावकारी ढङ्गले उभिएका छन् ।
जिन्दगीभर बिहानै उठेर चिया पसल पुग्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिको गफ हाँक्ने, आफूलाई पार्टीका वफादार कार्यकर्ताको रूपमा प्रस्तुत गर्दै समाजलाई चिराचिरा बनाउने र जिन्दगीमा मुस्किलले वडा सदस्य हुने प्रचलन रहेको नेपालीका लागि उल्लेख गरिएका नामहरू अनुकरणीय हुन सक्छन् ।
–एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया