काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई पदमा पुगेर पैसा कमाउनु नपर्ने बताएका छन् ।
नेपाली कांग्रेस नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले यसपटक आफू सभापति पदमा लड्ने दोहोर्याउँदै भने, ‘प्रजातन्त्र जोगाउनुपर्यो । पार्टी संस्थागत गर्नुपर्यो । जनतालाई सहयोग गर्नुपर्यो भन्ने हो । मलाई पदमा पुगेर पैसा कमाउनु छैन।’
१३औँ महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको स्मरण गर्दै सिंहले यसपटक काठमाडौँबासीले नेपाली कांग्रेसको नेतृत्व गर्न पर्ने पनि बताए ।
‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ?,’ उनले भने, ‘के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने?’
नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको उनको आरोप छ । सभापति शेरबहादुर देउवाले चार वर्षसम्म पार्टीको विभागसम्म गठन गर्न नसकेको उनले बताए ।
नेपाली कांग्रेसमा गुट नै गुटले पार्टी विभाजित देखिँदा पनि जनताले खोजेको बताएका सिंहले आफूले नेतृत्वको अवसर पाए पार्टी एक ढिक्का बनाउने पनि उद्घोष गरे ।
नेताको छोराछोरी वा परिवारको मान्छै भन्दैमा क्षमतावानहरुलाई पाखा लगाउन नहुने उनले बताए ।
‘त्याग नै त्याग भनेर मात्र हुन्छ ? १३ औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो । म पहिले महामन्त्री जितेको हुँ । बीपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ’, उनले थपे, ‘गणेशमानको छोरा भन्छन् तर नेतृत्वमा आउन परिवादबादको ट्याग लगाउने ?’
प्रतिक्रिया