जबराको अविलम्ब बहिर्गमन | Khabarhub Khabarhub

जबराको अविलम्ब बहिर्गमन


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई साताभन्दा बढी भयो मुलुकको सर्वोच्च न्यायालय सर्वोच्च अदालत अवरुद्ध भएको । अवरोधको कारण अरू कोही नभएर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नै हुन् । उनले प्रधानन्यायाशीधका रूपमा आफ्ना सहकर्मी न्यायाधीशहरू र अदालतको अभिन्न अङ्ग मानिने बारको विश्वास गुमाएका छन् । एक न्यायाधीशका रूपमा हुनुपर्ने निष्पक्षता र प्रधानन्यायाधीशका रूपमा जबराको नेतृत्व क्षमतामा अनेक प्रश्नहरू उठेका छन् ।

प्रधानन्यायाधीश जबरामाथि उठेको सबैभन्दा पछिल्लो र गम्भीर प्रश्न हो मन्त्रिपरिषद्‌मा उनले खोजेको भागबण्डा । आफ्नो मान्छेलाई मन्त्री नियुक्त गराउन प्रधानमन्त्रीसँग भाग मागेको भन्ने सूचना सञ्चारमाध्यममा चुहिएपछि उनी विवादको चुलीमा पुगेका हुन् । अदालतको प्रशासनिक निकायबाट आरोपको खण्डन गराएका पनि हुन् तर जबराका नातेदार गैरसांसद व्यक्ति मन्त्री नियुक्ति भएपछि आरोप पुष्टि भयो । उनको खण्डन झुटो ठहरियो ।

प्रधानन्यायाधीशका नातेदार गैरसांसद मन्त्री नियुक्त भएको घटना विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको सौदाबाजीका रूपमा जोडिन गएपछि जबराको न्यायिक निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ । मन्त्री नियुक्त व्यक्ति प्रधानमन्त्रीको पार्टीका त्यागी नेता, मन्त्री नियुक्ति प्रधानमन्त्रीको अधिकार, नाता टुटिसकेका व्यक्ति इत्यादि भनेर चोख्याउन र चोखिन खोजे पनि प्रधानन्यायाधीश जबरा भाग खोजेको आरोपबाट मुक्त भएका छैनन् ।

जबराले गरेको सौदाबाजीले प्रतिनिधिसभा दुई पटक विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदममा भएको ऐतिहासिक फैसला फिका बनाइदिएको छ ।

कुरा मन्त्रिपरिषदमा भागको मात्रै होइन । बेन्च सपिङ गरेको आरोप जबराकै सामुन्ने उभिएर बहस गर्ने कानून व्यवसायीहरूले लगाएका हुन् । अदालतमा भ्रष्टाचार छ, सुधारको काम हुन सकेन, पेशी तोक्दा प्रधानन्यायाधीश पक्षपाती देखिए भन्ने आरोप उनकै सहकर्मी न्यायाधीशहरूले लगाएका हुन् ।

प्रधानन्यायाधीश राणामाथि मुद्दाका पक्ष–विपक्षका अनेक धारणा र आरोपहरू होलान्, तिनलाई गौण मान्न पनि सकिएला तर उनकै सहकर्मी न्यायाधीशहरूले र संस्थागतरूपमा नेपाल बार असोसिएशनले लगाएका आरोपमा कुनै पनि सचेत नागरिक आँखा चिम्लेर बस्न सक्दैन । सबै न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका रिटबाहेक बेन्च बहिस्कार गरेका छन् । यस्तो घटना न्यायालयमा विरलै हुनेमध्येको एक हो, नेपालको न्यायिक इतिहासमै पहिलो हो र निकै गम्भीर हो ।

बारले संस्थागतरूपमा प्रधानन्यायाधीश जबराको निष्पक्षता र नेतृत्व क्षमतामाथि प्रश्न उठाएर राजीनामा मागेको छ । न्यायाधीशहरूले गरेको बेन्च बहिष्कार र कानून व्यवसायीहरूले कालोपट्टी बाँधेर गरेको विरोध प्रदर्शनलाई जबराले बेवास्ता गरेका छन् । बारले जबरालाई अदालत प्रवेशमा रोक लगाउने आन्दोलनको चेतावनी दिएको छ । जबरा भने संवैधानिक प्रक्रिया अनुसारमात्रै हट्छु भन्दै महाभियोगका लागि हाँक दिइरहेका छन् ।

सर्वोच्च न्यायिक नेतृत्वको निष्पक्षता र नेतृत्व क्षमतामा प्रश्न उठ्नु तथा यही कारणाले न्यायिक वृत्तमा बहिष्कृत हुनु सामान्य घटना होइन । प्रधानन्यायाधीश जबरा सम्पूर्णरूपमा असफल सावित भएका छन् । कानूनका अक्षरहरूले प्रक्रियामात्रै निर्धारण गर्छन् । विवेक कानूनका अक्षरभन्दा उन्नत मानवीय गुण हो । प्रधानन्यायाधीश जबराले आफूमाथि उठेका गम्भीर प्रश्नहरू पर्गेल्ने र न्यायालयको निष्पक्षताका लागि आफ्नो हठ त्याग्ने विवेक गुमाइसकेको आभास भएको छ ।

न्यायाधीश व्यक्तिगत हिसाबले पनि सम्पूर्णरूपमा निष्पक्ष र निष्कलङ्क हुनुपर्छ । उसमाथि मुद्दाका पक्ष–विपक्ष दुवैको बराबर विश्वास हुनुपर्छ । आमरूपमा पनि न्यायाधीशबारे यही मान्यता लागु हुन्छ ।  यस्तो अवस्थामा मात्रै न्यायालयको गरिमा उचो रहन्छ, सर्वमान्य आस्था हुन्छ । यस्ता न्यायाधीश र न्यायालयले मात्रै साँचो अर्थमा न्याय गर्न सक्छन्, संवैधानिक प्रश्नहरूमा विश्वसनीय ढङ्गले फैसला दिन सक्छन् ।

प्रधानन्यायाधीश जबराले यी सबै पक्ष गुमाइसकेका छन् । जम्मा २० जना न्यायाधीश भएको अदालतमा १९ जनाले प्रधानन्यायाधीशको नेतृत्व अस्वीकार गरेर बेन्च बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश भने पेशी तोक्दै अधिकारको हुङ्कार गर्दैछन् । खासमा उनी अधिकारको नाममा नौटङ्की चलाइरहेका छन् ।

नेपालको न्यायालय कमजोर होइन । पूर्ववर्ती न्यायिक नेतृत्वले न्यायालयको निष्पक्षता, गरिमा र विश्वसनीयता अभिवृद्धि गर्न गहन भूमिका निर्वाह गरेका छन् । अपवादबाहेक सबैजसो प्रधानन्यायाधीश कुनै न कुनै गौरव छाडेर बिदा भएका छन् । राजाको निरङ्कुश शासनकालमा हुकुम प्रमाङ्गीले बनेको ‘शाही आयोग’ असंवैधानिक करार गरेको हाम्रै अदालतले हो । अदालतलाई संसद अन्तर्गत राख्न र छुट्टै संवैधानिक अदालत गठन गर्न चाहनेहरूको अभिष्ट प्रधानन्यायाधीशको नेतृत्वमा असफल बनाइदिको पनि हाम्रै न्यायाधीशहरूले हो ।

जुनै संस्था पनि पूर्ववर्तीहरूले कायम गरेको गरिमाको जगमा बलियो हुँदै जान्छ । आज हाम्रा प्रधानन्यायाधीश जबरा आफ्नो आङको भैँसी लुकाउन अर्काको आङको जुम्रो देखाउने प्रयासमा छन् । आफ्ना पूर्ववर्तीहरूका खोट देखाएर आफूलाई खोटरहित प्रमाणित गर्ने प्रयास गर्दैछन् । उनी केही पूर्वप्रधानन्यायाधीशहरूबारे नकारात्मक टिप्पणी गर्न थालेका छन् ।

आफ्ना पूर्ववर्तीहरूबारे जबरालाई थुप्रै जनकारी होला । उनले सार्वजनिक पनि गर्लान् तर त्यसले उनलाई चोख्याउँदैन, आरोपमुक्त गर्दैन । झिल्काहरू थिए होलान् तर डढेलो लागेको जबराकै कार्यकालमा हो । यो डढेलो निभाउने नेतृत्व कौशल उनीसँग छैन भन्ने प्रष्ट भइसकेको छ । उनले नैतिक जिम्मेवारी लिनै पर्छ ।

अनेक आरोप र विवादका बीच प्रधानन्यायाधीश जबराको पद जोगिएला पनि । कतैबाट उनले अभदायन पनि पाउन सक्लान् तर न्यायालयको निष्पक्षता, विश्वसनीयता र गरिमा धुलीसात हुनेछ । उनलाई जोगाउन र चोख्याउन खोज्नेहरू र उनी स्वयंम घामजत्तिकै छर्लङ्ग यति तथ्य बुझेर पनि पचाउँछन् भने तिनले न्यायालयको स्वतन्त्रता ध्वस्त पार्नेछन् ।

एक न्यायाधीशका रूपमा न्याय र न्यायालयका मूल्यमान्यता र गरिमाप्रति आस्थाको लेशमात्रै बाँकी छ भने प्रधानन्यायाधीश जबराले अविलम्ब राजीनामा गरून् र आफ्नो मूल्याङ्कन गर्ने जिम्मेवारी भविष्यलाई छाडून् । आफू असफल सावित भएपछि बाटो खुला गरिदिनु विवेकसम्मत र सम्मानजनक हुन्छ ।

जबरा यो मार्ग अवलम्बन गर्दैनन् भने महाभियोगबाट उनलाई बर्खास्त गर्न सत्तापक्ष र विपक्ष एक ठाउँमा उभियून् । न्यायालय जोगाउने हो भने सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । न्यायालयको स्वतन्त्रता र निष्पक्षता जोगिएन भने हाम्रो राज्य व्यवस्था पनि जोगिने छैन । अब खुच्चिङ गरेर रमिता हेर्ने समय छैन । जबराको अविलम्ब बहिर्गमन अनिवार्य छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ६ : ०१ बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा