कांग्रेस महाधिवेशनका सम्भावना र चुनौती | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशनका सम्भावना र चुनौती



लामो रस्साकस्सीबीच नेपाली कांग्रेसले चौधौँ महाधिवेशन सम्पन्न गर्दैछ । नेपालका मुख्य तीन ठूला दलले झण्डै एउटै समयमा महाधिवेशन गरेजस्तो देखिए पनि नेपाली कांग्रेसको महाधिवेशन अन्य दलको भन्दा चर्चामा छ ।

दलहरुको सांगठनिक संरचनामा सबैभन्दा तल्लो तह मानिने वडा अधिवेशन नै कांग्रेसको सन्दर्भमा अन्य दलको महाधिवेशन सरह हुन पुग्यो । नेकपा एमाले र माओवादीले एकै दिनमा सकेको वडा तहको निर्वाचन कांग्रेसले तीन महिनामा पनि सल्टाउन सकेको छैन ।

ठूलो र पुरानो दल कांग्रेसमा सहमति खोज्नेभन्दा बढी आफ्नालाई सदस्यता दिलाउनेमै होडबाजी देखिएपछि वडा तहको निर्वाचन नै ढिला भइसकेको छ ।

यता कांग्रेसले आगामी मंसिरमा जुनै हालतमा पनि चौधौँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता छ ।

कांग्रेसमा आन्तरिक गुटभित्रको प्रतिस्पर्धा त नौलो कुरा रहेन । यतिबेला देशभित्र रहेका सामाजिक समूह पनि आफ्नो आवाजसहित कांग्रेसको अधिवेशनलाई आफ्नो समुदायअनुकूल बनाउन लागिपरेका छन् ।

कांग्रेसको वडा अधिवेशन शुरु नहुँदै दलित समुदायले वडा तहदेखि नै समावेशी गर्नुपर्ने दबाब दियो । त्यसपछि दलित समुदायसँगको छलफलपछि ती समुदायलाई सम्बोधन गरेर कांग्रेस अगाडि बढ्यो ।

अर्कातिर सामाजिक समुदाय खासगरी महिला, मधेशी, दलित, जनजाति लगायत सीमान्तृकृत वर्गालाई वडा तहदेखि नै नेतृत्वमा स्थापना गर्ने नीतिगत निर्णयमा यसपटक कांग्रेस एक कदम अगाडि देखिन्छ ।

त्यसो त विभिन्न सामाजिक समूहको आठ कष्टरवाट एक/एक जना सहमहामन्त्री बनाउने गरी विधानमा गरेको व्यवस्थाले केन्द्रीय पदाधिकारीमा पनि सबैको प्रतिनिधित्व गराउने निर्णय समानुपातिक समावेशिताको बाटोमा अघि बढिरहेको सन्देश दिन खोजेको छ ।

कांग्रेसमा नेतृत्व चयनका लागि क्रियाशील सदस्यताको प्रावधान छ । क्रियाशील सदस्यले दिएको भोटका आधारमा नेतृत्व चयन हुन्छ । आम जनता वा मासमा आधारित दलको चरित्र देखिने कांग्रेसले नेतृत्वका लागि क्याडरको आधारमा मान्ने परम्पराले कतै यो दल कमजोर त भएको छैन भनेर प्रश्न पनि उठेका छन् ।

यो प्रावधानले सक्रिय मतादातालाई प्रभाव पार्न सक्ने स्थानीयहरुभन्दा नेतृत्वमा जान आफू या आफ्नो गुटलाई सहयोग गर्ने व्यक्ति कांग्रेसका माथिल्लो स्तरका नेताहरुको रोजाइमा पर्ने गरेको भनेर आलोचना पनि हुने गरेको छ ।

आन्तरिक किचलोका कारण दलभित्र हुने होडबाजी र आन्तरिक गुटका कारण आम निर्वाचनमा सबै कार्यकर्ताको सक्रियता पनि समान रुपमा हुँदैन । कांग्रेसको विधानमा गरिएको समावेशी प्रावधानका लागि क्रियाशिल सदस्यको संख्यामा पनि महिला, दलित लगायतको संख्या अरु थप गर्नुपर्ने अवस्थामा अब कांग्रेसको नेतृत्त ‘हाम्रा’ का लागि भन्दा पार्टीका हितका लागि आम निर्वाचनमा ‘राम्रा’ लाई जिताउनतर्फ लाग्नुपर्ने देखिन्छ ।

केन्द्रमा कम्तिमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित भए पनि क्रियाशील सदस्यमा २५ प्रतिशत रहेको महिला सदस्यता संख्या कसरी थप्ने भन्नेमा विचार पुर्‍याउनुपर्ने आवश्यकता एकातिर देखिन्छ भने अर्कातिर १८ देखि ४० बर्षका क्रियाशील सदस्य एक तिहाइ देखिइरहँदा केन्द्रीय नेतृत्वमा उक्त उमेर समूहलाई कसरी स्थान दिने भन्ने अर्को चुनौती थपिएको देखिन्छ ।

कांग्रेसमा नेतृत्व चयनका लागि क्रियाशील सदस्यताको प्रावधान छ । क्रियाशील सदस्यले दिएको भोटका आधारमा नेतृत्व चयन हुन्छ । आम जनता वा मासमा आधारित दलको चरित्र देखिने कांग्रेसले नेतृत्वका लागि क्याडरको आधारमा मान्ने परम्पराले कतै यो दल कमजोर त भएको छैन भनेर प्रश्न पनि उठेका छन् ।

देशभर २५ बर्षभन्दा कम उमेर समूहका सदस्य राम्रो संख्यामा देखिनु उक्त दलका लागि सुखद समाचार हो । अझ त्यो समूहको संख्या कियाशील सदस्यतामा मात्र नभएर जिल्ला, प्रदेश र केन्द्रीय तहमा पनि बढेर गयो भने पछिल्लो पुस्ताले पनि का‌ंग्रेसलाई विश्वास गर्ने वातावरण बन्छ । पहिलोपटक देखिएको उक्त उमेर समूहको उल्लेख सक्रियतालाई महाधिवेशनले कहाँ र कसरी व्यवस्थापन गर्छ भन्ने आधारमा आगामी दिनमा उनीहरुको संख्या बढ्ने वा घट्ने निर्धारण गर्छ ।

प्राय: सबै जिल्लाको अधिवेशनको परिणाम आइसकेका कारण अब केन्द्रीय नेतृत्वको अनुमान शुरु हुनु स्वभाविक हो । सरसर्ती हेर्दा विभिन्न चरणमा चुनिएर आएका प्रतिनिधिहरुको आकर्षण शेरबहादुर देउवा, गगन थापा लगायतमा रहेको देखिन्छ ।

विगतको महाधिवेशनमा पहिलो चरणमा ५० प्रतिशत ल्याउन नसके पनि पहिलो भएर दोस्रो चरणमा बहुमतमा पुगेका देउवा अहिले आफ्नो विगतका साथी विमलेन्द्र निधिका कारण केही कमजोर अवश्य देखिन्छन् । तर, संस्थापन इतर भनिएका कोइराला, सिंह, पौडेल, सिटौला र निधि सबैले एक्लैले पाउने मतभन्दा बढी मत देउवाले पाउने लगभग पक्का छ ।

महाधिवेशनमा देउवालाई साथ दिने डा. प्रकाशशरण महत, बालकृष्ण खाँड, पूर्णबहादुर खड्का लगायतले आफूहरुले देउवालाई सभापति बनाउने एक मात्र रणनीतिमा काम गरिदिएका कारण अन्य प्रभावशाली नेताहरुभन्दा देउवा यसरी एक्लै शक्तिशाली देखिनु अस्वभाविक होइन ।

संस्थापन इतरमा एकल उम्मेदवार छैनन् र हुन सक्दैन भन्ने सन्देश केही समयदेखि सतहमा आइरहेका कारण पनि अरुका तुलनामा देउवा झन् शक्तिशाली हुँदै गएको देखिन्छ ।

आफैमा अरुभन्दा बलिया भएर कांग्रेस सभापति भएका देउवाको पक्षमा सशक्त रणनीतिसहित का म गर्ने समूहको निरन्तरको सक्रियताका बीच देउवालाई च्यालेन्ज गर्नेहरु आपसमा कसरी जाने भनेर योजना बनाउन नै एकै स्थानमा बस्न नसक्ने आजको अवस्था बन्नु आफैमा देउवाका लागि सफलताको कडी देखिन्छ ।

हामी एक भयौँ, हामीले यसरी पद विभाजन गरेर अघि बढ्यौँ भनेर देउवा पक्ष बाहेक अरुको अझै प्रष्ट सन्देश नआएको विश्लेषण कांग्रेसभित्र र बाहिर देखिन्छ ।

सुभेच्छुकहरुका अनुसार संस्थापन इतरका खेमामा एकल मत दुई कोइरालामध्ये एकजना उठ्दा उनीहरुको पक्षमा केही समर्थन त देखिएला तर अरुलाई साथ लिन नसके एक्लै जित्नका लागि त्यो मत काफी हुँदैन ।

काठमाडौं र बाग्मती प्रदेशमा राम्रो पकड बनाएका प्रकाशमान सिंहको अवस्था पनि उस्तै हो ।

महाधिवेशनमा निर्वाचित हुन धेरैथोरै सहयोग गर्न कसैले सक्ला तर कसैको आड भरोसाका आधारमा मात्र नेपाली कांग्रेसको या अरु कुनै दलको निर्वाचन जितिन्न भन्ने कुरा पनि दक्षिणले बुझेको हुनुपर्छ । यस्तो अवस्थामा बिस्तारै दलभित्र थप बलियो बन्दै गइरहेका देउवालाई चिढ्याउने भारतीय संस्थापनको नीति नहुने संकेत नेकपा एमालेको महाधिवेशन विवादमा पनि देखिन्छ ।

कोइराला पक्षलाई कुनै पनि हालतमा सहमति नदिने सिंहको भनाइ आफैमा सामूहिक रुपमा एउटै समूह भन्नेमा बाधक देखिन्छ ।

यी दुवै खेमाले आफ्नो दोस्रो रोजाइमा रामचन्द्र पौडेललाई अगाडि सारेका छन् ।

कोइराला पक्षधर र सिंह पक्षधर दुवैको धारणामा हुन त रामचन्द्र पौडेल पनि कमजोर नेता हुन् । अब उनले कांग्रेसलाई पार लगाउन सक्दैनन् । उमेरको हिसाबले जीवनको उत्तरार्धमा देखिए पनि राजनीतिक सक्रियताका हिसाबले पौडेल केही हठी देखिन्छन् ।

संविधानका पक्षमा वकालत गर्ने साहस र सरल जीवनशैली पौडेलका सबल पक्षहरु हुन् ।

विषम् परिस्थितिमा पनि कांग्रेसको वैचारिक धारको नेतृत्व गरेका पौडेललाई गुट–उपगुटका कारण पाखा लगाउन खोज्दा देउवा इतरको सती भई जानुपर्छ भन्ने पनि कांग्रेसीहरुले बुझेका छन् ।

यो परिस्थितिमा देउवा इतरको धार थप कमजोर भई देउवालाई पहिलो चरणमा नै निर्वाचित हुने माहोल खडा हुन सक्छ ।

नेपाली कांग्रेसभित्र चल्ने अर्को बहस हो, दक्षिणको छिमेकी ।

कांग्रेसभित्र मौलाएको यो बहसले वडादेखि चुनिएर आएका मतदातामा कस्तो प्रभाव पार्ला भन्ने थप अध्ययनको विषय हो । तर, नेता कार्यकर्ता तहमा भारतले जसलाई सघाउँछ त्यसैका आधारमा आगामी नेतृत्व आउँछ भन्ने बहस पनि कांग्रेसमा देखिन्छ ।

अहिलेको संविधानका अवयवहरुको अक्षरस वकालत गर्ने अहिलेको भारतीय संस्थापनको रोजाइमा नपर्ने भएकाले देउवा, पौडेल, निधि लगायतलाई यसपटक सजिलो भने छैन ।

कांग्रेसभित्रै कतिपयले अहिलेसम्म यही आशयमा धारणाहरु बनाइरहेका छन् ।

महाधिवेशनमा निर्वाचित हुन धेरैथोरै सहयोग गर्न कसैले सक्ला तर कसैको आड भरोसाका आधारमा मात्र नेपाली कांग्रेसको या अरु कुनै दलको निर्वाचन जितिन्न भन्ने कुरा पनि दक्षिणले बुझेको हुनुपर्छ । यस्तो अवस्थामा बिस्तारै दलभित्र थप बलियो बन्दै गइरहेका देउवालाई चिढ्याउने भारतीय संस्थापनको नीति नहुने संकेत नेकपा एमालेको महाधिवेशन विवादमा पनि देखिन्छ ।

हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनमा ओलीलाई भारतले अन्तिमसम्म दिएको साथलाई हेरेर पनि यसबारे आँकलन गर्न सकिन्छ ।

सारमा भन्नुपर्दा रातारात केही भएको अवस्थामा बाहेक यसपटक कांग्रेस सभापतिमा नयाँ अनुहार आउने सम्भावना न्यून देखिन्छ । यद्यपि विमेलेन्द्र निधि, प्रकाशमान सिंहजस्ता दोस्रो पुस्ता बनेर बसेकाको खबरदारी सहितको सभापतिमा उम्मेदवारी दिने निर्णयले नेताहरुको फेरि पनि सभापतिमा उम्मेदवारी दिने चाहनालाई अब स्थान नरहने प्रशस्त आधार भने खडा गर्नेछ ।

आगामी महाधिवेशनसम्म डा. प्रकाशशरण महत मात्र होइन, विश्व प्रकाश शर्मा र गगन थापाजस्ता पछिल्लो पुस्ताका नेताहरु पनि सभापति पदका लागि बलियो दाबेदार भइसक्नेछन् ।

दोस्रोपटक मै अध्यक्ष पदमा च्यालेन्ज गर्ने कांग्रेसभित्रको यही संस्कृतिलाई बचाउन सके आगामी नेतृत्व ६० वर्ष उमेर समूहभन्दा तल्लो पुस्तामा हस्तान्तरण हुने देखिन्छ ।

अर्कातर्फ के पनि सोचनीय छ भने आज ६० वर्ष र त्यसभन्दा माथिका पदाधिकारीका आकांक्षी हेर्दा धेरै त कांग्रेसले लडेर ल्याएको संविधानका अवयव, जसले पार्टी र समाजलाई थप लोकतान्त्रिक बनाउन मद्दत गर्छ, त्यसलाई पनि अपनत्व लिन हिच्किचाउनेहरु पनि छन् ।

आफैले संघर्षमार्फत ल्याएको संविधान बुझ्न नखोज्ने नेताले छिमेकी नीति, विदेश निती र सम्बन्धका अवयवहरु बुझ्ने कुरै भएन । त्यसैले सभापतिमा जसले आफ्नो पल्ला भारी गरे पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनिती समेत बुझेर देश, जनता र वाह्य दुनियासँग बहस गर्नसक्ने नेताहरु यसपटक पदाधिकारी, विशेष गरी महामन्त्री चुन्नपर्ने देखिन्छ । मतदाताहरुको हाउभाउले त्यो संकेत पनि देखाइसकेको छ ।

पहिलोपटक पदाधिकारीमा समावेशी चरित्र देखाउन थप गरिएको आठ क्लष्टरवाट आउने सहमहामन्त्री पदमा संविधानवाद र लोकतन्त्रका सवालमा चिन्ता गर्ने ४० बर्ष नपुगेको पुस्तालाई ल्याउन सके कांग्रेस पुर्नजागरण हुन पनि सम्भव देखिन्छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १ : २५ बजे

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको

फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

काठमाडौं– गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।

उपेन्द्र यादव विदेशमै हुँदा फुट्यो जसपा, सात सांसदले नयाँ दल दर्ता गर्दै

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ

जापानी विदेशमन्त्री खामीखावा र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी