मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री « Khabarhub

मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन् ।

गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध गराएको तालिम लिएपछि च्यास्मिटारका ३० महिलाले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन सुरु गरेका हुन् ।

स्थानीय महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले ‘गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम’ अन्तर्गत मकैको खोसेलाबाट घरायसी काममा उपयोग हुने सामग्री उत्पादनसम्बन्धी एक महिने तालिम आयोजना गरेको थियो ।

तालिमपछि च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट झोला, डोर म्याट, चप्पल, ढाकी, ह्याट, टि–म्याट, फूलदानी, पिरा, डायनिङ म्याट, चकटी, पूजाका सामग्री बोक्ने झोलालगायतका सामग्री उत्पादन गर्न थालेका छन् ।

त्रिधार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीले हलेसीको चिनोका रूपमा खोस्टाको आकर्षक सामग्री खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ महिलालाई सोसँग सम्बन्धित तालिम दिइएको नगरप्रमुख इवन राईले बताए ।

‘मकैको खासेला गाईवस्तुलाई खुवाउन मात्र उपयोग भइरहेको थियो,’ उनले भने, ‘मकैको खोसेलाबाट आकर्षक र उपयोगी सामग्री उत्पादन गर्ने तथा बिक्री वितरण गर्दै आम्दानीको स्रोत बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।’

लघुउद्यमसम्बन्धी आठ दिनको तालिम दिएलगत्तै काठमाडौँबाट तीन दक्ष प्रशिक्षकलाई ल्याएर उनीहरुलाई खोसेलाको सामग्री उत्पादनसम्बन्धी तालिम दिइएको नगरपालिकाले जनाएको छ । क्रमशः हलेसी, धितुङलगायतका वडामा पनि खोसेलाको सामग्री तयार पार्ने सीप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ ।

नगरपालिकाका अनुसार तालिममा सहभागीले व्यक्तिगत वा सामूहिकरूपमा मकैको खोसेलाबाट सामग्री उत्पादन गर्ने छन् । मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गरेर व्यवसाय गर्न चाहने महिलालाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

मकैको खोसेलाबाट निर्माण गरिएका सामग्री जिल्लाका विभिन्न बजार तथा छिमेकी देश चीनसम्म निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको छ । मकैको खोसेलाबाट महिलाले उत्पादन गरेका घरेलु सामग्रीको मूल्य निर्धारण तथा बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने जनाइएको छ ।

आम्दानीको अन्य स्रोत नभएको उक्त क्षेत्रमा यसअघि खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको थियो ।

कच्चापदार्थ (कपास) अभावमा सङ्कटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनःसञ्चालनमा ल्याउन नगरपालिकाले कपासखेती प्रवद्र्धनमा १० लाख बजेट लगानी गरेको हो ।

पछिल्लो समय सङ्कटमा पर्दै गएको पुर्ख्यौली व्यवसायलाई जगाउन नगरपालिकाका तर्फबाट किसानलाई कपासखेती गराउन बजेट विनियोजन गरिएको नगर उपप्रमुख बिमला राईले बताइन् ।

‘बजारमा हलेसी क्षेत्रमा बुनिएका खाँडी कपडाको माग धान्न गाह्रो देखिएको छ,’ उनले भनिन्, ‘लोपोन्मुख अवस्थामा पुगेको खाँडी कपडा बुन्ने व्यवसायलाई पुनःसञ्चालनमा ल्याउन नगरपालिकामा यस वर्षबाट कपासखेतीका लागि बजेट व्यवस्था गरेका हौँ ।’

कपासखेतीका लागि ७ नं वडा कार्यालयको तर्फबाट आर्थिक वर्ष २०७६/७७ मा १५ महिलालाई कपासखेती प्रवर्द्धनसम्बन्धी तालिम दिइएको थियो । हलेसी क्षेत्रका स्थानीय कृषकले कपासखेती गर्न छाडेपछि कच्चापदार्थ अभावमा अहिले खाँडी कपडा उत्पादन हुन छाडेको छ ।

कपासबाट उत्पादन गरिएको दौरा/सुरुवाल पुग्ने कपडा प्रतिथान १५ हजार र कोगटीको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान २० हजारमा बिक्री हुने गरेको छ । कोगटीबाट उत्पादन गरिने खाँडी कपडाको माग बजारमा उच्च रहेको जनाइएको छ ।

हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बाहिरी जिल्ला तथा विदेशमा समेत निर्यात हुने गरेको थियो । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा पर्यटकलाई हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बिक्री गर्दा आम्दानीको स्रोतसमेत वृद्धि हुनेको गरेको थियो । रासस

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १ : ०० बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने