कांग्रेसको भविष्यसँग जोडिएको देउवाको जोखिम | Khabarhub Khabarhub

कांग्रेसको भविष्यसँग जोडिएको देउवाको जोखिम



नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम थालेको १६ महिना बितेको छ । क्रियाशील सदस्यता विवादका काररण चौधौँ महाधिवेशन अझै पनि अन्योलमा छ । कांग्रेसले २०७६ मा फागुन १६ गते क्रियाशील सदस्यताको काम थालेको थियो ।

क्रियाशील सदस्यता छानविनका लागि रमेश लेखकको संयोजकत्वमा एक समिति रहेको छ । गुटगत भागवण्डाका आधारमा गठित समितिमा भविष्यको सम्भावना भएका होनाहार युवा नेताहरू छन् । समितिकै नाममा उनीहरूमाथि पार्टीको कोष हिनामिना गरेको आरोप लागेको छ । क्रियाशील सदस्यता छानविनका लागि स्थलगत भ्रमणका नाममा ४० लाख रुपैँया खर्च गरेको भन्ने समाचार सार्वजनिक भएको छ ।

कांग्रेसको भविष्य ठानिएका होनाहार युवा नेताहरूमाथि पार्टीको कोष दुरुपयोग गरेको आरोप आगामी चौधौँ महाधिवेशनमा चर्किने सम्भावना बढेर गएको छ ।

मुलुक संघीय संरचनामा प्रवेश गरेको ६ वर्ष बितिसकेको छ । लोकतान्त्रिक पार्टी मानिने कांग्रेसले अहिलेसम्म प्रदेश स्तरीय संरचना निर्माण गरेको छैन । शुरूको तीन वर्ष पार्टीको विधानले अनुमति नदिएको भन्दै प्रदेश संयन्त्र निर्माण गरिएन । २०७५ पुसमा महासमितिको बैठकले विधान संशोधन गरेपछि प्रदेश संरचना गठन गर्ने बाटो खुलेको थियो तर काम गरिएन ।

प्रदेश समिति गठन नगर्दाको दुस्परिणाम कांग्रेसले पटकपटक भोगेको छ । उदाहरणका लागि केही महिनाअघि लुम्बिनी प्रदेशको राजधानी निर्धारण गर्ने क्रममा कांग्रेसको संसदीय दलको मत आधाआधा भयो । संसदीय दलका सचेतकले नै ह्वीप उल्लंघन गरे ।

अधिनायकवादीहरूले अर्काले नखोसेसम्म सत्ता छाड्दैनन् । लोकतन्त्रवादीहरूले जनमतका आधारमा सत्ता हस्तान्तरण गर्छन् । लोकतन्त्रमा सत्ता खोसिँदैन, जनतासँग मागिन्छ । जनमतले पत्याउनुपर्छ । कांग्रेसमा अहिलेसम्मका ७ जना सभापति जनमतबाटै चुनिएका हुन् ।

वाग्मती प्रदेशको संसदीय दलको बैठक राजधानी हेटौँडास्थित आफ्नो कार्यालयमा हुँदैन । संसदीय दलका नेता इन्द्र बानियाँको काठमाडौँस्थित ठेकेदारी कार्यालयमा बैठक हुन्छ । एक कप चिया खाइन्जेल पनि बैठकको चल्दैन ।

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टी नेकपा एमालेलाई संघीयता विरोधी भन्ने आरोप लगाउँदै आएको छ ।

संघीयताको मूल मर्म भनेकै प्रदेश संरचना हो तर कांग्रेस आफैँले पार्टीभित्र संघीयता कार्यन्वयन गरेको छैन । बरु नेकपा एमालेले संविधान जारी भएको दुई महिनाभित्रै संघीयता कार्यान्वयन गर्दै प्रदेश स्तरीय संयन्त्रहरू गठन गरेको थियो । संघीयता नचाहने प्रधानमन्त्री ओली हुन् कि कांग्रेस सभापति देउवा हुन् भन्ने प्रश्न स्वतः खडा भएको छ ।

सभापति देउवाको साढे पाँच वर्षको कार्यकाल मूल्यांकन गर्दा धेरैले गत चुनावको परिणामलाई केन्द्रबिन्दुमा राख्ने गरेका छन् । चुनावी परिणाममा नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर सावित भएको हो । देउवाले २०७२ साल फागुनको अन्तिम साता सभापति पद सम्हालेका थिए ।

त्यसपछिको दुई वर्षभित्रै देउवाको नेतृत्वमा स्थानीय, प्रदेश र संघीय गरी तीन तहको निर्वाचन सम्पन्न भयो । निर्वाचनमा केन्द्रित हुनुपरेका कारण पार्टी सङ्गठनलाई पूर्णता दिन देउवाले नभ्याएका हुन सक्छन् । २०७४ मंसिर ४ गते आम निर्वाचन सम्पन्न भइसके यताको साढे ३ वर्ष नेपाली कांग्रेसका लागि अन्धकार युग सावित भएको छ ।

यो अवधिमा नेपाली कांग्रेस पूर्णतः फुर्सदिलो थियो । पार्टी सङ्गठन सुदृढ बनाउने बाहेक कांग्रेससँग अर्को कुनै दायित्व थिएन । सङ्गठन विस्तारका लागि ठूलो अवसर थियो तर अवसरको सदुपयोग गर्न कांग्रेसले सकेन ।

विधानले दिएको चार वर्षे कार्यकाल नगुज्रँदासम्म सभापति देउवाले पार्टी सङ्गठनलाई पूर्णता दिन कुनै चासो देखाएनन् । जब म्याज गुज्रियो तब भटाभट केन्द्रीय विभाग गठन गर्न थाले । यसरी गठन गरिएका केन्द्रीय विभागहरूमध्ये एकदुई अपवाद छाडेर कुनैको पनि पहिलो बैठक भएको छैन ।

एक दुई वटालाई छाडेर कुनै पनि विभागको कार्यालय छैन । अहिले पनि विभागमा मनोनयन गर्ने क्रम जारी छ । आर्थिक लाभ लिएर विभागमा सदस्यहरू थपिएको भन्ने आरोपका साथ समाचार आउने गरेको छ । अहिलेसम्म प्रदेश संरचना गठन नभएको त जगजाहेर नै छ ।

वास्तवमा सभापति देउवाले साढे ५ वर्षको आफ्नो कार्यकालको आफैँ मूल्यांकन गर्दै आगामी चौधौँ महाधिवेशनमा उम्मेदवारीको दाबी छाड्नु पर्ने हो । जसरी पटकपटक प्रधानमन्त्री हुँदा देउवा मुलुकमा सुशासन कायम गर्न असफल भए त्यसरी नै हरेक कार्यकालमा कुनै नै कुनै कलंकको टीका उनको निधारमा लाग्यो ।

साढे पाँच वर्ष सभापति पदको जिम्मेवारीमा पनि देउवालाई कलंकको टीका लागेको छ ।

अहिले देउवा भन्दैछन्– महाधिवेशन गराउन नसक्ने पार्टी सभापतिका रूपमा कलंकको टीका लगाउन म चाहन्नँ, भदौ २३ गतेभित्र जसरी पनि चौधौँ महाधिवेशन सम्पन्न गराएरै छाड्नेछु ।

अहिले देउवा भन्दैछन्– महाधिवेशन गराउन नसक्ने पार्टी सभापतिका रूपमा कलंकको टीका लगाउन म चाहन्नँ, भदौ २३ गतेभित्र जसरी पनि चौधौँ महाधिवेशन सम्पन्न गराएरै छाड्नेछु ।

यर्थाथमा देउवाको निधारमा प्रधानमन्त्री हुँदा जस्तै पार्टी सभापति हुँदा पनि कलंकको टीका लागिसकेको छ । आफ्नो आँखाले देख्न नसकिने शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग भनेको टाउको (निधार) हो । देउवाले आफ्नो निधारमा लागेको कलंकको टीका नदेख्नु स्वाभाविकै हो । देउवा आफैँले आफ्नो निधार देखेका छैनन्, उनका आसेपासेले हजुरको निधारमा कलंकको टीका लागिसक्यो है भन्न सकेका छैनन् ।

विगत चार वटा महाधिवेशनमा सभापति पदको उम्मेदवार भएका देउवामाथि पाँचौँ पटक उम्मेदवार नबन्न सुझाब दिनेहरू उनको समूहमा धेरै जना छन् । बीपी कोइराला, सुर्वण शमशेर, कृष्णप्रसाद भट्टराईको अनुसारण गर्दै नेतृत्व सहज हस्तान्तरणका लागि देउवालाई कांग्रेसका शुभचिन्तकहरूले सुझाब नदिएका होइनन् । देउवाले हाँक दिए– नेतृत्व मागेर पाइँने होइन, खोसेर लिने हो ।

नेतृत्व परिवर्तनको अवधारणा विश्वमा दुई वटामात्रै छन् । लेनिनले अघि सारेको अवधारणा अनुसार खोसेर लिइन्छ । महात्मा गान्धीले अघि सारेको अवधारणा अनुसार मागेर लिइन्छ, अर्थात जनमत मागेर ।

खासगरी अधिनायकवादीहरूले अर्काले नखोसेसम्म सत्ता छाड्दैनन्, लोकतन्त्रवादीहरूले जनमतका आधारमा सत्ता हस्तान्तरण गर्छन् । लोकतन्त्रमा सत्ता खोसिँदैन, मागिन्छ, जनतासँग मागिन्छ । नेपाली कांग्रेसमा अहिलेसम्म ७ जना सभापति भए, सबै मागेरै सभापति भएका हुन् । महाधिवेशन प्रतिनिधिहरूसँग दुई हात जोडेर मागैकै हुन् ।

कांग्रेसको इतिहासमा बहालवाला सभापतिले चुनाव हारेको रेकर्ड छैन । जित सुनिश्चित नभई बहालवाला पार्टी सभापति फेरि उम्मेदवार बन्ने चलन छैन । बहालवाला सभापतिले हार्नु भनेको पार्टीले नै हार्नु हो ।

लोकतन्त्र भनेको जनतासँग सत्ता माग्ने शासन प्रणाली हो । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी पार्टी हो । यस्तो पार्टीका सभापतिले अधिनायकवादी भाषा बोल्नु मुलुकका लागि दुर्भाग्य हो ।

सभापति देउवाका पछिल्ला केही अभिव्यक्तिहरू पार्टी हितमा छैनन् । हालै उनले ‘मैले सभापति पदमा हार्ने अवस्था आयो भने पनि महाधिवेशन गराएरै छाड्छु’ भनेका छन् ।

यो राष्ट्रिय निर्वाचन होइन, पार्टीको आन्तरिक निर्वाचन हो । राष्ट्रिय निर्वाचन हुँदो हो त हार्ने अवस्थामा पनि चुनाव लड्नु बाध्यता हुने थियो । पार्टीको आन्तरिक निर्वाचनमा बहालवाला सभापति पराजित हुनु दुर्घटना हुनु हो ।

कांग्रेसको इतिहासमा बहालवाला सभापतिले चुनाव हारेको रेकर्ड छैन । जित सुनिश्चित नभई बहालवाला पार्टी सभापति फेरि उम्मेदवार बन्ने चलन छैन । बहालवाला सभापतिले हार्नु भनेको पार्टीले नै हार्नु हो ।

देउवा चौधौँ महाधिवेशनमा उम्मेदवार भएर पराजित भए भने उनको मर्यादा र साख कहाँ पुग्ला ! समाप्त हुन्छ । यसरी देउवा समाप्त हुनु कांग्रेसका लागि सानो नोक्सानी हुने छैन ।

देउवाले फेरि सभापति पदमा प्रतिस्पर्धा गर्नु उनका लागि धेरै ठूलो जोखिम हो । उनी विजयी हुँदा पनि खासै ठूलो र नयाँ उपलव्धि हासिल हुने होइन । त्यही पुरानो आसन प्राप्त हुने हो, हर्दा त सबै समाप्त हुनेछ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : ०६ बजे

अमेरिकी एयर बेसमा आक्रमणपछि ट्रम्पले युद्धविरामका लागि मनाए नेतान्याहूलाई

दोहा – अमेरिकी सेनाको कतारस्थित सेन्ट्रल कमान्डको हेडक्वार्टरमा इरानले गयराति

बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसीसी तालिम

बैतडी– बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल

भूमिगत विद्युतीकरणको काम तीन महिनालाई स्थगित

चितवन– चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ

क्लब विश्वकप : पिएसजी समूहको विजेता बन्दै दोस्रो चरणमा

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकपको दोस्रो

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी- म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार