एसिसाट ओसाउलोले जगाएको अफ्रिकी किशोरीको सपना | Khabarhub Khabarhub

एसिसाट ओसाउलोले जगाएको अफ्रिकी किशोरीको सपना


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘म हुर्कंदा र बढ्दा महिलाको नाम लेखिएको जर्सी लगाएर मानिसहरू हिँडेको थाहै थिएन ।’

यो भनाइ हो नाइजेरियाकी स्ट्राइकर एसिसाट ओसाउलाको ।

अहिले समय फेरिएको छ । नाइजेरियाको इकोरोडुमा जन्मिएकी एसिसाटको लोकप्रियता यसरी चुलिएको छ कि उनको नाम लेखिएको बार्सिलोनाको जर्सी लगाएर हिँड्नेहरूको जमात नै देखिने गरेको छ । उनी नाइजेरिया खेलकुदमा नयाँ रोल मोडलको रूपमा उदाएकी छिन् ।

सानदार खेलमात्र होइन, मैदानमा उनको मधुर मुस्कान कारण बार्सिलोना महिला फुटबल टोलीको हरेक जितले क्लबका फ्यानहरूलाई आनन्दित र रोमाञ्चित बनाउने गरेको छ । यो स्टारडमका बाबजुद पनि उनले आफ्नो वास्तविकता बुझेकी छन् । आफ्नो वास्तविक धरातल, आफू जन्मेको थलो र हुर्केको परिवेश सम्झेकी छन् ।

एसिसाट भन्छिन्, ‘म त्यही अफ्रिका महादेशबाट आएकी हुँ जहाँ मानिसहरू हरेक कुराका लागि सङ्घर्ष गरिरहेका छन् । मानिसहरू हरेक दिन केही पाउन सङ्घर्ष गर्दैछन् र आफ्ना आकाङ्क्षाहरू त्यागिरहेका छन् ।

एसिसाट नाइजेरियाको एउटा मुस्लिम परिवारमा जन्मेकी हुन् । उनका बाबुका दुई श्रीमती, सात दाजु र छ दिदीबहिनी मध्यकी एसिसाट गाउँमा जन्मिएकी हुन् जहाँ महिलाको स्थान घर वा पसलमा सीमित छ । उनको बाल्यकाल पनि सहज थिएन । उनले कयौँ दिन घरबाहिर बिताइन् ।

फुटबल खेलेको मन नपरेर आमाले खाजाको पैसामा कटौती गरिन् । फुटबलमै उनको सुन्दर भविष्यको सम्भावना देख्ने र आत्मबल दिने कोही थियो भने उनकी बुढी हजुरआमा मात्र थिइन् ।

‘मन लागेको गर नानी तर असल हुनू अनुशासित हुनू र सबैलाई सम्मान गर्न सिक्नू ।’ हजुर आमाको यही आदेश उनका लागि आत्मबलको स्रोत थियो । अहिले पनि मैदानमा उत्रिँदा हजुरआमाको त्यो आवाज सम्झन्छिन् ।

सन् २०१४ मा उनको जीवनले कोल्टे फेर्‍यो । सात गोलसहित उनी यू–२० महिला विश्वकपमा शीर्ष गोलकर्ता बनिन् । अहिले परिवारको दृष्टिकोण फेरिएको छ । उनी भन्छिन्, ‘यसले केही गर्न सक्छे भन्ने विश्वास मेरा आमाबाबुमा पलाएको छ ।’

एसिसाटले सन् २०१५ मा नाइजेरिया छाडिन् । यसपछि उनले कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेन । लिभरपुलबाट युरोपको यात्रा गरेकी उनी आर्सनल हुँदै डालियनमार्फत एसिया आइपुगिन् । फेरि बार्सिलोनाको जर्सी भिरेर अहिले युरोप फर्किएकी छन् । आफ्नो त्याग मिहिनेत र परिश्रमको फलस्वरूप संसारको जुनसुकै कुनामा सजिलै बाँच्न सक्ने आत्मविश्वास उनलाई छ ।

एसिसाट खेलस्तरकै कारण धेरै टोलीले सफलता पाएका छन् । उनले आफ्नो टोलीलाई थुप्रै महत्वपूर्ण जित दिलाइन् । यस बापत कैयौँ पटक पुरस्कृत पनि भएकी छन् ।

चार पटक ‘अफ्रिकन फुटबलर अफ द इयर’ अवार्ड, दुई पटक ‘अफ्रिकी नेसन्स कप’ उपाधि र दुई पटक विश्वकप सहभागिता चानचुने होइन । यसै सफलताले उनलाई महादेशको सबैभन्दा सुसज्जित खेल व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।

अहिलेको स्टारडमका बारे उनको अभिव्यक्ति छ, ‘मैले कहिल्यै यस स्तरको स्टार हुने सोचेकी थिइनँ । सामान्य फुटबल खेल्दा पाइने रमाइलो र खुसीले उनलाई यहाँसम्मको उचाइ दिएको हो ।’

सन् २०१९ मा लियोन विरुद्धको च्याम्पियन्स लिग फाइनलमा उनले खेलेकी थिइन् । उनको टोली लियोनसँग पराजित भयो तर च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने पहिलो अफ्रिकी महिलाको रूपमा उनले कीर्तिमान कायम गरिन् । यो घटना उनका लागि पीडासँगै गर्वको विषय पनि थियो ।

अफ्रिकी छोरीले खेलेर प्रशंसा कमाउनु चानचुने कुरा होइन । आफ्नी छोरीको सपनामा आमाबाबुलाई पनि विश्वास नहुने नाइजेरियामा एसिसाट ओसाउलोको फुटबल सफलता समस्त अफ्रिकी छोरीहरूको प्रेरणाको स्रोत भएको छ । उनी अफ्रिकाकै रोल मोडल छोरी भएकी छन् ।  

अर्को वर्ष चेल्सीलाई फाइनलमा चार–शून्य गोलले हराउँदै उपाधि जितेपछि उनले च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने पहिलो अफ्रिकी महिलाको कीर्तिमान बनाइन् । बार्सिलोना अहिले पनि लगातार आफ्नो दबाब देखाउँदै छ । एसिसाट पनि झन् उत्कृष्ट देखिएकी छिन् ।

एसिसाटको उपस्थितिमा बार्सिलोना लियोनलाई पछ्याउँदै युरोपको नयाँ शक्ति केन्द्रको रूपमा स्थापित बन्दैछ । ‘बार्सिलोना बार्सिलोना नै बन्नेछ,’ एसिसाट ‘अन्य क्लबसँगै आफ्नो क्लबलाई जोडेर हेर्न आवश्यक नरहेकोमा जोड दिँदै भन्छिन्, ‘हामीले प्राप्त गर्नुपर्ने लक्ष्य छ । यो हामीले गत वर्ष सुरु गरेको छौँ र यो अभूतपूर्व छ ।’

एसिसाट अफ्रिकीको परिचय फेरिएको हेर्न चाहन्छिन् । फुटबल र शिक्षाले नै उनीहरूको जीवन परिवर्तन गर्न सक्ने कुरामा उनी विश्वस्त छिन् । उनको विचारमा नाइजेरियामा परिवर्तनको बाहक भनेकै संस्थागत विकास हो । भावुक हुँदै भन्छिन्, ‘जब म उभिएर हेरिरहँदा त्यहाँ हरेक मानिसको ओठमा हाँसो देख्छु, त्सले मलाई साँच्चै आनन्द दिन्छ ।’

एसिसाटको सफलताले नयाँ पिँढीमा उत्साह जागेको छ । किशोरीहरूको आँखामा सपना बुनिन थालेको छ । त्यही सपनाका साथ नाइजेरियाली किशोरीहरू मैदानमा कुद्न थालेको दृष्यले एसिसाटलाई रोमाञ्चित तुल्याउँछ ।

नाइजेरियामात्र होइन, सिङ्गो अफ्रिकामा पुरुष फुटबलको प्रभावको लामो समय भएको छ । सन् १९९५ मा जर्ज वे फिफा वर्ष खेलाडी भएका थिए । लाइबेरियाका यी स्टारको उदयले सिङ्गो अफ्रिकाले गर्व गरेको थियो ।

सन् १९९५ मा जर्ज वेले विश्व फुटबलमा सनसनी फैलाएको पाँच वर्षअघि भएको विश्वकप फुटबलमा क्यामरुनको सनसनी थियो । सोही विश्वकपमा क्यामरुनले साबिक विश्व विजेता अर्जेन्टिनालाई हराएको थियो ।

विश्वकपको क्वार्टर फाइनलमा इङ्ल्यान्डसँग पराजित क्यामरुनको संसारभर प्रशंसा भएको थियो । सोही विश्वकपका एक स्टार रोजर मिल्लालाई संसारले चिन्न र सम्झन थाल्यो । मिल्ला तिनै फुटबलर हुन्, जसले सन् १९९४ को विश्वकपमा पनि गोल गर्दै सबैभन्दा पाको उमेरमा विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

क्यामरुनको राष्ट्रिय टोलीले प्रभाव जमाइरहेको सन् ९० को दशकमा क्लब फुटबलमा डच स्टार मार्को भान भास्टनको जगजगी थियो । भान भास्टनले एसी मिलान छाडेलगत्तै त्यो अभाव पूरा गर्न जर्ज वे टोलीमा आबद्ध गरिएका थिए । तिनै जर्ज वे पावर, गति, स्टामिना र एक्युरेसीका कारण यसरी छाएका थिए कि १९९५ मा तत्कालीन स्टार रोमारियो र रोबर्टो डी बाजियो पनि छायामा परे ।

जर्ज वेको उदयपछि यदाकदा पुरुष फुटबल स्टारको चर्चा नभएको होइन । सन् २००० को दशकमा सेनेगल र घानाले विश्व फुटबलमा छाप छाडे । आइभोरी कोस्टका डिडियर ड्रोग्वाका फ्यान संसारभर छन् । नाइजेरियाका न्वान्को कानुलाई अझै धेरैले सम्झने गरेका छन् ।

एउटा कालखण्ड पार गरेर आएको पुरुष फुटबलले अफ्रिकामा धेरै कुरा पाउन थालेको छ । नाइजेरिया यस सवालमा अझ अगाडि छ । पुरुष फुटबलको टिभीमा प्रत्यक्ष प्रसारणको अधिकार लिन तँछाड मछाड नै हुने गरेको छ ।

त्यहाँ पुरुष फुटबलको सुपर लिग छ । योसँगै पैसा पनि ओइरिएको छ । यी कुरा महिलाको हकमा छैन । छ त केवल किशोरीहरूको सपना । यसै सपनालाई मूर्त रूप दिन आफू लागिपर्ने एसिसाट बताउँछिन् ।

एसिसाटकै कारण अफ्रिकन फुटबलमा २०१४ मै एउटा आयाम थपिएको हो । युथ विश्वकपमा नाइजेरिया उपविजेता भएको थियो । आर्सनललाई उनले एफए कप दिलाइन् । चीनमा पुगेर त्यहाँको घरेलु फुटबलको उपाधि जितिन् ।

बार्सिलोनामा सन् २०१९ र २०२० को प्रिमियर लिग जितेकी उनले सुपर कोपा र कोपा डेला रेइनाको उपाधि जितिसकेकी छिन् ।

सन् २०१५ मा ‘बीबीसी उमन्स फुटबलर अफ द इयर’ को अवार्ड जित्नुअघि एसिसाटले ‘क्वीन्स अफ द पिच’ अवार्ड जितेकी थिइन् । त्यसअघि फिफा युथ कपमा गोल्डेन बुट र गोल्डेन बल दुवै जित्ने दुर्लभ सफलता उनले पाएकी थिइन् ।

एसिसाटको ड्रिब्लिङ, गति, पावर र एक्युरेसीले उनलाई स्टारको रूपमा त स्थापित गरिसकेको छ तर यो नै उनको सन्तुष्टिको विन्दु भने होइन । ‘अँध्यारो महादेश’ को छवि बनाएको अफ्रिका अझै अन्धविश्वास, अशिक्षा र गरिबीले आक्रान्त छ । त्यहाँ अझै छोरीको सपना पूरा हुनेमा आमाबाबुलाई नै विश्वास लाग्दैन ।

एसिसाटलाई आशा छ कि उनको स्टारडमका कारण धेरै आमाबाबुले आफ्ना छोरीले देखेको सपनामा विश्वास गर्नेछन् । उनलाई थाहा छ, उनको नाम लेखिएको त्यो जर्सी बार्सिलोनाको ‘प्राइड’ मात्र होइन, धेरै अफ्रिकी किशोरीको सपना पनि हो ।

-एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ९ : ०१ बजे

पूर्वाधार निर्माणमा पर्यावरणको मापदण्ड पालना गरौँ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड

भारतले पनि गर्‍यो पाकिस्तानबीच युद्धविरामको पुष्टि

काठमाडौं– पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको भारतीय पक्षले पनि पुष्टि

तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार : विदेशमन्त्री रुबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तटस्थ स्थानमा वार्ता गर्न भारत र

भारत र पाकिस्तान युद्धविराम गर्न तयार भएको पाकिस्तानी विदेशमन्त्रीद्वारा पुष्टि

काठमाडौं– भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको पाकिस्तानका विदेशमन्त्री

भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरणका लागि निरन्तर