होटेल व्‍यवसायीको गुनासो– सरकारले दिने भनेको पुनरकर्जा पाएनौँ « Khabarhub

होटेल व्‍यवसायीको गुनासो– सरकारले दिने भनेको पुनरकर्जा पाएनौँ


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– सरकारले चालु बजेटमार्फत कोभिड–१९ बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि पुनरकर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् ।

कोभिड सङ्क्रमणले होटल तथा पर्यटन व्यवसायमा देखापरेका समस्यामा केन्द्रित भएर पश्चिमाञ्चल होटल सङ्घ पोखराले आइतबार आयोजना गरेको बृहत् छलफल कार्यक्रममा व्यवसायीले त्यस्तो गुनासो गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले विभिन्न बैंकमार्फत सहुलियत दरको पुनरकर्जा व्यवसायीलाई प्रदान गर्ने घोषणा गरे पनि व्यवहारमा उक्त कर्जा नपाएको कार्यक्रमका सहभागीका भनाइ थियो । कोभिडसँगै होटल व्यवसाय र पर्यटन क्षेत्र ठूलो मारमा परेको अवस्थामा सदस्य तथा पदाधिकारी व्यवसायीबीच एकअर्कालाई परेका समस्या आदानप्रदान गर्ने र तिनलाई समाधान गर्न पहल गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

नेपाल सरकारद्वारा व्यवसायीलाई राहत प्रदान गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गर्ने पुनरकर्जा, कर्जाको पुनर्तालिकीकरण र सहुलियत कर्जा प्राप्त गरे नगरेको तथा गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको व्यवसाय जीवन रक्षा (कोष) कर्जा सम्बन्धमा छलफल गरिएको थियो । यसैगरी विद्युत् माग (डिमाण्ड) शुल्क तथा महशुल एवं विभिन्न अन्य कर सम्बन्धमा पनि व्यवसायीले छलफल गरेका थिए ।

होटल सङ्घ नेपालका सदस्य एवं पश्चिमाञ्चल होटल सङ्घ पोखराका सल्लाहकार विप्लव पौडेलले सहज ढङ्गले व्यवसायीले पुनरकर्जा पाउन नसक्नु दुःखद् भएको बताए । अहिले पर्यटन व्यवसाय डुब्ने कि उत्रने भन्ने जस्तो अवस्थामा रहेको स्मरण गराउँदै पौडेलले गण्डकी प्रदेश सरकार र मुख्यमन्त्रीलाई व्यवसायीका समस्याबारे अवगत गराइसकिएको जानकारी दिए ।

पश्चिमाञ्चल होटल सङ्घ पोखराका सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले पर्यटन क्षेत्रले उद्योग सरहको लाभ लिन नपाएको जनाउँदै यसका लागि व्यावसायिक एकतामार्फत सरकारलाई दबाब दिन जरुरी रहेको धारणा राखे ।

होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले व्यवसायीलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक नहुँदा पनि पर्यटन व्यवसाय अहिले थप प्रताडित हुनु परेको गुनासो गरे । पराजुलीले कोभिडको महामारीमा पनि सङ्घले केही महिनाअघि पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियानलाई निरन्तरता दिएको, पूर्वका व्यवसायीको टोलीसमेत पोखरा आएको र आगामी दिनमा पश्चिम नेपालमा पनि ‘जाउँ है पोखरा’ अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।

यसैगरी भारतमा ‘चलिए पोखरा’ र चीन तथा अन्य देशमा समेत नेपाल पर्यटन बोर्डसँग मिलेर प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने योजनामा सङ्घ रहेको उनको भनाइ थियो ।

सङ्घका सल्लाहकार गोविन्दराज पहारी, अग्रज पर्यटन व्यवसायी रामचन्द्र भट्टराईलगायतका व्यवसायीले सबैभन्दा पीडित नै अहिले होटल क्षेत्र भएको जनाउँदै यो क्षेत्रलाई रुग्ण उद्योगका रूपमा सरकारले घोषणा गरेर सहुलियत दिनुपर्ने माग गरे । कर तिरेर पनि होटल व्यवसायीले अहिले सङ्कट पर्दा सुविधा पाउन नसकेको उनीहरुको भनाइ थियो ।

सहभागीले कोभिडको असर अझै कम्तीमा तीन वर्ष पर्यटनमा पर्ने भन्दै दीर्घकालीन योजनाका साथ अगाडि बढ्न जरुरी भएको सुझाव दिएका छन् । सरकारले पुनरकर्जाको व्यवस्था गरे पनि त्यो पाउन नसकिएको, बैंकले अनेक बहाना बनाएर व्यवसायीलाई दुःख दिने गरेको, झुलाउने गरेको र साना व्यवसायीलाई वास्ता नगरेको सहभागीको गुनासो थियो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ९ : ३१ बजे

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि