‘गेट वे’ चल्न छाडेपछि सुस्ताएको जिरीको पुनर्जागरण « Khabarhub

‘गेट वे’ चल्न छाडेपछि सुस्ताएको जिरीको पुनर्जागरण


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कात्तिकमा बढ्दै गरेको चिसोमा यात्रा रोमाञ्चक हुन्छ । त्यसमाथि हरियाली डाँडाकाँडा, सफा र सुन्दर वातावरणले मन त्यसै फुरुङ्ग हुन्छ ।

डाँडापाखाभरि कुहिरोको लुकामारी खेलेको दृश्य आँखैमा टाँसिन्छ । ठाउँ मनोरम छ, पहाडको उकालो र ओरालो बाटो छ ।

यात्रा काठमाडौँदेखि दोलखाको जिरीसम्मको हो ।

गत साता दोलखाको जिरी र चरिकोटसम्मका लागि स्थानीयवासी लीलाराम खड्कासहित २३ जनाको टोली यात्रामा निस्कियो ।

जिरी नेपालको ‘स्वीट्जरल्यान्ड’ भने प्रख्यात छ ।

यात्रामा महिला पत्रकारका लागि छुट्टै सवारी साधानको व्यवस्था थियो । त्यस्तै फोटो पत्रकार र कविता लेखन टोलीका लागि अर्को गाडी थियो ।

काठमाडौँबाट भक्तपुर–काभ्रे–सिन्धुपाल्चोक हुँदै दोलखा प्रवेश हुन्छ । काठमाडौँबाट १८४ किलोमिटर दूरीमा छ जिरी ।

सिन्धुपाल्चोकबाट दोलखा प्रवेश गर्नासाथ आउँछ खरिढुङ्गा । यस ठाउँलाई सरकारले ‘फिल्म सिटी’ का रूपमा विकास गराउने भएको छ ।

खरीको ढुङ्गामाथि गाडी गुडिरहँदा अनि झ्यालबाट सिसा खोल्दा घाम र हिमाल लुकामारी खेलिरहन्थे । झ्यालबाट प्रस्टै देखिन्थ्यो गौरीशङ्कर हिमाल ।

तामाकोशीमाथिको पुलले जिरीतिर जाने र शैलुङतिर जाने बाटो छुट्याउँछ । पुल तरेर जाँदा जिरी पुगिन्छ भने पुल वारीबाट शैलुङ पुगिन्छ ।

मौसम सफा छ, यात्रा रमाइलो छ । यात्रुहरू गीत गाउँदै रमाउँदै छन् । शहरको धुँवाधुलो सवारीको जाम लगायत समस्याले हैरान भएका मानिसहरू शहरबाट केही पर पुग्दाको अनौठो आनन्द अनुभव भइरहेको थियो ।

आइतवार झण्डै १० घण्टाको बसमा यात्रा गन्तव्य जिरी भेटियो ।

गेट वे टु एभरेस्टकथा

नेपालको स्वीट्जरल्यान्ड भनेर चिनिने जिरी घुम्न अधिकांश यात्रु आतुर थिए । भोलिपल्टको सूर्योदयसँगै सुरु भयो दृश्यावलोकन ।

वरपर डाँडाले घेरिएर सुन्दर बनेर बसेको छ जिरी । बिहान जङ्गल वरपरको भुइँकुहिरोले ढपक्कै ढाकेको थियो । घामको झुल्कोसँगै विस्तारै कुहिरो उघ्रिएर छ्याङ्ग भएपछि साँच्चिकै स्वीट्जरल्यान्ड जस्तै देखियो रे जिरी !

जिरी एउटा सानो पहाडी शहर हो । अधिकांश घर शहरी ढाँचामा आधुनिक छन् । स्थानीयवासीहरूका २०७२ सालको भूकम्पपछि यस्ता घर बनेका हुन् ।

स्थानीयबासिन्दा हरि जिरेलका अनुसार दुई दशकअघिसम्म जिरी पर्यटकले भरिभराउ हुन्थ्यो । सगरमाथा पदयात्राको मुख्य द्वार थियो । विदेशी पर्यटकहरू सगरमाथातिर जाँदा यहीबाट पदयात्रा सुरु गर्थे ।

एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गर्दा यही बाटो प्रयोग गरेका थिए ।

यसपछि हजारौँ पर्यटकले यहीँबाट पदयात्रा सुरु गरे । त्यसैले जिरी ‘गेट वे टू एभरेस्ट’ अर्थात ‘सगरमाथा प्रवेशद्वार’ पनि भनिन्थ्यो ।

विस्तारै यो भनाइ कथा जस्तै बन्यो ।

सोखुम्बुको लुक्लासम्म हवाइै सेवा सुरू भएपछि जिरीको ‘गेट वे’ मन्द हुँदै गयो । अहिले यो ठाउँलाई आन्तरिक र बाह्य पर्यटकमाझ पु¥याउन स्थानीय अगुवाहरू कम्मर कसेर लागेका छन् ।

‘सुन्दर, शान्त र शीतल जिरी हरेक उमेर समूहका पर्यटकका लागि उत्कृष्ट गन्तव्य हो,’ स्थानीयबासी लीला खड्का भन्छन्, ‘यहाँका थुप्रै कुराहरूमा रिब्रान्डिङको खाँचो छ, हामीले यसलाई प्रवद्र्धन गर्न सकेमा जिरी थप आकर्षक केन्द्रबिन्दु बन्न सक्छ ।’

जिरीमा पर्यटन प्रवर्द्धन गर्ने सोचले उनले हरेक वर्ष राजधानी काठमाडौँमा कार्यारत पत्रकारको टोली जिरी पु¥याउने गरेका छन् ।

यसपालिका यात्रा दशौँ हो । ‘आफ्नो ठाउँ प्रमोट होस् भन्ने चाहना हो, मिनी स्वीट्जरल्यान्डको रुपमा चिनिने जिरी अवलोकन गर्नुपर्छ भन्ने सोच हो,’ खड्काले खबरहबसँग भने ।

जिरीमा घुम्न थुप्रै आकर्षक ठाउँहरू छन् । सफा र शान्त वातावरण, पहाडको उकालो र ओरालो बाटो, जिरी सेरोफेरोमा घुम्न मन्दिर, गुम्बा, छोर्तेन र सुन्दर बस्तीहरू छन् ।

बजारबाट करिब आधा घण्टा पैदल यात्रामा जिरेश्वर मन्दिर पुगिन्छ । यस्तै हाराहारी दूरीमा दूर्गेश्वर मन्दिर, राङ राङेश्वरी मन्दिर, देवी मन्दिर र जिरेश्वर महादेवको मन्दिर छन् । बजार छाडेर चार किमीको पर पुग्दा चिया बगान भेटिन्छ ।

हिँड्दै जाँदा करिब अढाई घण्टामा च्योर्दोङ चिज कारखाना पुग्न सकिन्छ ।

च्योर्दोङ डाँडा (३,६९० मिटर) बाट रोल्वालिङ, नुम्बुर, लाङताङ हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

जिरी बजारबाट केहीमाथि डाँडामा बुद्ध पार्क छ । पार्क नजिकै शेर्पा बस्ती छ । पार्कबाट केही तल डाँडाबाट जिरी बजारको मनरोम दृश्य देखिन्छ ।

जिरी बजारबाट करिब ३ किमि पश्चिममा लौटी झरना छ ।

हनुमन्ते डाँडा, बुलबुल डाँडा, हलेसी महादेवको मन्दिर, याक ग्यालरी, याक चिज उत्पादन केन्द्र, जिरेल बस्ती, सिक्री गाउँको संस्कृति, व्यावसायिक पशुपालन फार्म, यलुङ उपत्यका आसपासका क्षेत्रहरू प्रमुख पर्यटकीय आकर्षणका केन्द्र हुन् ।

‘गेट वे’ चल्न छाडेपछि सुस्ताएको जिरी पुनर्जागरणको बाटोमा छ ।

पर्यटन प्रवर्द्धनमा नगरपालिका

विशेषगरी नगरपालिकाले पुराना पर्यटकीय चहल पहललाई फर्काउन विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको नगरकी उपप्रमुख कृष्णमाया बुढाथोकी बताउँछिन् ।

‘एक वडा एक पार्क’ क्लिन जिरी, ग्रीन जिरी र अर्गानिक जिरीजस्ता अभियान चलाएर पर्यटकहरू आकर्षित गराउन स्थानीय तह लागि परेका उनले जानकारी दिइन् ।

जिरी नगरपालिकामा ९ वटा वडा छन् । सबै वडामा सडक सञ्जाल छ । ।

पर्यटन पूर्वाधारका लागि जिरी नगरले ९ वटै वडामा घुम्न लायक पार्कहरू निर्माण गरेको छ ।

बुढाथोकीका अनुसार पहिले व्यवस्थित थिएन । नगरपालिकाले हरेक वडामा पर्यटक लक्ष्यित आकर्षक पार्कहरू बनाएको हो ।

नगरले आन्तरिक तथा बाह्य पर्यटकका लागि विभिन्न स्थानमा सूचना केन्द्र स्थापना गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ४ : ३१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको