कोरोनाको मार : किसानलाई ऋणमाथि ऋणको भार | Khabarhub Khabarhub

कोरोनाको मार : किसानलाई ऋणमाथि ऋणको भार



झापा– किसानहरू लगातारको निषेधाज्ञाका कारण कृषि उपजले बजार नपाउँदा ऋणको भार थपिने चिन्तामा पर्न थालेका छन्।

बजार सहज नभएपछि वर्षे धान, मकै र तरकारी बिक्न सकेको छैन । व्यावसायिक किसानले उत्पादन गरेको दूध पनि खेर गइरहेको छ । बैंक र सहकारी संस्थाहरूबाट ऋण लिएर गरेको खेतीको उत्पादनले नपाउँदा ऋणमाथि ऋण थपिने चिन्ता कृषकहरूलाई छ ।

धानमा लागत उठाउनै मुश्किल

धान उत्पादनको सुपरजोन समेत रहेको झापामा बहुसंख्यक किसानले वर्षे धान समेत गरेका छन् । वर्षे धान किसानको ‘नगदेबाली’ बालीको रूपमा विकास भइरहेको छ । तर लागत अनुसारको मूल्य नपाएपछि फलेको धान पनि ‘निल्नु न ओकल्नु’ भएको छ ।

वर्षे धानमा पानीको मात्र बढी हुने भएकाले नसुकाई लामो समय भण्डारण गर्न मिल्दैन । वर्षा याममा झरी परिरहने हुँदा घामका भरमा सुकाउन पनि सम्भव हुँदैन । कमल–६ का किसान खेमप्रसाद आचार्यले भन्छन्, ‘ऋण लिएर मल र बिउमा लगानी गरियो, अहिले धान फलेपछि बिक्ने अवस्था छैन । भण्डार गरेर राखौँ कुहिने डर, बिक्री गरौँ पशु आहारा भन्दा सस्तो दाम ।’

यस्तै गुनासो छ, दमक–१० का किसान नगेन्द्र न्यौपानेको पनि । उनी भन्छन्, ‘पशुलाई खुवाउने चोकर र दाना प्रतिकेजी ५० रुपैयाँ पर्छ, हामीले फलाएको धानले २० रुपैयाँ पनि पाउँदैन । यस्तो खेतीले किसानलाई झन गरिब बनाउन र ऋण बोकाउन बाहेक के गर्न सक्छ र !’

हाल उत्पादित धानको मुख्य प्रतिक्विन्टल १ हजार ७५० रुपैयाँ हाराहारी अर्थात प्रतिकेजी साढे १७ रुपैयाँ छ । किसानसँग वर्षे धान सुकाउने प्रविधि नभएका कारण जति मूल्य पाए पनि बेच्नै पर्ने बाध्यता छ ।

अहिले चैते धान थन्क्याउन र हिउँदे धानको बिउ राख्न धमाधम छ ।

मकैको पनि भाउ छैन

मकै जोनको रूपमा विस्तार हुँदै गएको झापाका किसानहरूको आम्दानीको अर्को स्रोत मकै खेती हो । जिल्लाका अधिकांश स्थानीय तहमा किसानहरूले व्यावसायिकरूपमा मकै खेती गर्ने गरेका छन् ।

स्थानीय सरकारहरूले समेत कृषि क्षेत्रमा लाग्न विभिन्न कार्यक्रम ल्याएसँगै व्यावसायिक खेती गर्नेको संख्या बढ्दो क्रमा छ । बजार व्यवस्थापन हुन नसक्दा खेतीको क्षेत्रफल विस्तार भए पनि फाइदा लिन नसकेको किसानहरूको गुनासो छ ।

निषेधाज्ञा शुरू हुनुअघि किसानले मकै बिक्रीबाट प्रतिकेजी २४ रुपैयाँ पाएका थिए । अहिले प्रतिकेजी १९ रुपैयाँमा झरेको किसानहरूको भनाइ छ । जिल्लाका गौरादह, कनकाई, कचनकवल, बाह्रदशी, झापा लगायतका स्थानीय तहमा मकै पकेट र जोन विस्तार भएसँगै यी क्षेत्रमा मकै खेती हुने गरेको छ ।

खेतीको क्षेत्रफल बढे पनि किसानले पाउने लाभ नबढेको गौरादह–१ का किसान दिनेश थापाको भनाइ छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लाको करिब ४० हजार हेक्टरमा व्यावसायिक मकै खेती भएकोमा २ लाख ४० हजारा मेट्रिक टन मकै उत्पादन भएको अनुमान गरिएको छ ।

महँगो बिउ, कामदार र मलका लागि ऋण लगानी गरेका किसान घट्दो बजार मूल्यका कारण लागत उठाउन नसक्ने अवस्थामा छन् ।

खाडीमा च्याउ, बगरमा खरबुजा

निषेधाज्ञाका कारण बजार नपाएपछि व्यावसायिक च्याउले पनि बजार पाउन सकेन । सुकाउने प्रविधिको अभावका कारण उत्पादित च्याउ त्यसै नष्ट हुन थालेको किसानहरूको गुनासो छ ।

बजारमा लान नसकेको र लगातारको झरीका कारण सुकाउनका नपाएकाले च्याउ मल खाडीमा हाल्नु परेको गौरादहस्थित ‘सीता च्याउ उद्योग’ का नलबहादुर खड्काले बताए ।

तीन बिगाहा जमिन लिजमा लिएर व्यावसायिक खेती गर्दै आएका नलबहादुर दैनिक २ हजार केजीसम्म च्याउ उत्पादन गर्छन् ।

तराईको उच्च गर्मीका बेला अधिक माग हुने खरबुजाले समेत बजार पाउन सकेको छैन । मेचीनगर–७ का दीपक खत्रीले बजार नपाएकै कारण लाखौँको खरबुझा बगरमै कुहिएको बताए ।

चार लाख रुपैयाँ खर्च गरेर दुई बिगाहा क्षेत्रफलमा खरबुजा खेती गरेको तर निषेधाज्ञाका कारण बजार बन्द हुँदा लगानी समेत उठ्न कठिन भएको उनको गुनासो छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : ४५ बजे

सांसद ढकालको माग : मुक्त कमैयालाई १८ वर्षअघिको लालपुर्जा सरह उपभोग अधिकार दिनुपर्छ

 काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले १८ वर्षअघि मुक्त

ज्येष्ठ नागरिकसम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को व्यावहारिक रूपमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबिच

‘खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता’

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र

खुम बहादुर बिकलाई प्रचण्डको आर्थिक सहयोग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले