प्रधानसेनापति कमाण्ड बलाधिकृतरथी शर्मालाई « Khabarhub

प्रधानसेनापति कमाण्ड बलाधिकृतरथी शर्मालाई


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारत गरेका हुन् ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसकेकी छन् । सेनाको परम्पराअनुरुप प्रधानसेनापति थापा आफ्नो तीनवर्षे कार्यकाल सकिनु एक महिनाअघि अर्थात् मङ्गलबारदेखि घरबिदामा रहने भएकाले सेनाको कमाण्ड शर्मालाई हस्तान्तरण गरिएको हो ।

कायममुकायम जिम्मेवारी तोकिएका शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रुपमा सैनिक नेतृत्व सम्हाल्नेछन् । स्वदेशमा सबै व्यावसायिक तालिम प्राप्त बलाधिकृतरथी शर्मा भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।

सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहेका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार छन् ।

आफ्नो ३७ वर्षे लामो सैनिक सेवाका क्रममा गुल्म, गण, बाहिनी, पृतनालगायत जङ्गी अड्डास्थित सैनिक सचिव, भर्ना छनोट निर्देशक, नीति तथा योजना निर्देशक, सह–बलाध्यक्ष, संभाररथीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका कायममुकायम प्रधानसेनापति शर्मा नेपाली सेनाको हरेक जिम्मेवारीको बारेमा नजिकबाट अनुभव र ज्ञान छ ।

संयुक्त राष्ट्रसङ्घको शान्ति मिशनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गर्ने अवसर प्राप्त गरेका शर्मा भारतमा सम्पन्न भएको नेपाल–भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी भएका थिए ।

बङ्गलादेशमा सैनिक सहचारीको कार्यभार उदाहरणीयरुपमा सम्हाली सकेका कारण उनको कार्यकालमा सेनाको सैनिक कूटनीतिमा उल्लेखनीय परिणाम आउने अपेक्षा गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमए र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका कारण शर्माले नेपालको मात्र नभएर विश्वको इतिहासलगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययनसमेत गरेका छन् ।

भर्खरै लागू भएको सेनाको तीन जोड एक अवधारणाअनुसारको पुनः संरचनालाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउनु पनि उनको प्रमुख कार्यभर रहनेछ । पूर्वप्रधानसेनापतिले शुरु गरेका असल कार्यक्रमको प्रभावकारिताको मूल्याङ्कन गर्दै निरन्तरता दिने र संस्थागत गर्न पनि उनले ध्यान केन्द्रित गर्नेछन् ।

सङ्गठनभित्र सकल दर्जामा हौसला अभिवृद्धि र सैनिक परिवारको कल्याण कार्य पनि कायममुकायम प्रधानसेनापति शर्माका प्राथमिकताका क्षेत्र हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  २ : ३९ बजे

अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला

काबुल – अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

इलाम गोल्डकप : मछिन्द्र फाइनलमा

इलाम – मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको

भक्तपुर मालपोत कार्यालयबाट ११ जना विचौलिया पक्राउ

भक्तपुर – भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश

सञ्चार मन्त्रालयले भन्यो : हचुवाका भरमा भ्रामक सामग्री सार्वजनिक नगर्नू

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय विभिन्न