राजनीति

सभापतिको उम्मेदवार बन्ने बताएका प्रकाशमानले शनिबार अवधारणा सार्वजनिक गर्ने

By खबरहब

December 09, 2021

काठमाडौँ– महाधिवेशन उद्घाटन हुने अघिल्लो दिनसम्म कांग्रेस संस्थापनइतर समूहमा साझा उम्मेदवारीबारे सहमति नभएपछि सभापतिका आकांक्षीहरु अगाडि बढेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्नो उम्मेदवारी घोषणा र अवधारण शनिबार सार्वजनिक गर्ने भएका छन् ।

उनले आफ्नो सम्पर्क कार्यालय एलम्बर पार्टी प्यालेसबाट अवधारणा सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ । संस्थापनइतर समूहमा सिंहका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

लगातार भएका छलफलमा आकांक्षीले दाबेदारी नछाडेपछि फेरि सभापतिको उम्मेदवार बन्न लागेका सभापति शेरबहादुर देउवालाई चुनौती दिने एक्लो उम्मेदवार बनाउन इतर पक्ष असफल भएको छ ।