राजधानीमा बढ्न थाले हत्या घटना : एक वर्षमा एकै प्रकृतिका तीन हत्या | Khabarhub Khabarhub

राजधानीमा बढ्न थाले हत्या घटना : एक वर्षमा एकै प्रकृतिका तीन हत्या

टोखामा श्रीमान श्रीमती नै मृत फेला



काठमाडौँ – एउटा शव खाटमा अनि अर्को झुण्डिएको अवस्थामा । शुक्रबार राति करिव ९ बजे प्रहरी पुग्दा काठमाडौँको टोखास्थित ग्राण्डी भिलामा श्रीमान–श्रीमतीको शव भेटियो ।

भिलामा शव भेटिएको खबर हुनासाथ प्रहरीको टोली पुग्दा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरीको शव भेटेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्टका अनुसार उमेश कोठाको बेडमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।

डीएसपी विष्टले खबरहबसँग भने, ‘घटना कसरी घट्यो भन्ने नखुले पनि श्रीमान–श्रीमतीबीचको विवादले यो घटना निम्तिएको हुन सक्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ । यद्यपि हामीले घटनाबारे थप अनुसन्धान जारी राखेका छौँ ।’

प्रहरीका अनुसार उमेशको शीरमा चोटपटक देखिएको छ । घटनास्थल नजिकै रगत लागेको ढुँगा समेत प्रहरीले बरामद गरेको छ । डीएसपी विष्टले भने, ‘अहिले शवलाई पोष्टमार्टको लागि त्रिवि शिक्षण अस्पताल महाजगञ्ज पठाएको छ । विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टबाट खुल्छ ।’

प्रहरीका अनुसार उमेश तीन महीना अघिमात्र अमेरिकाबाट नेपाल आएका थिए । उनी श्रीमती सुदीक्षा गिरीसँग टोखास्थित ग्य्राण्डी भिलामा भाडामा बस्थे । उनका सहोदर दाजु हिमेश केसीका अनुसार उनी १४ पुसमा अमेरिका फर्कँने तयारीमा थिए । यसका लागि उनको टिकट समेत भइसकेको थियो ।

काठमाडौँ उपत्यकामा पछिल्लो एक वर्षमा मात्र झण्डै यस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् । गत भदौ २६ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित निकोसेरामा एउटा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको थियो ।

प्रहरीका अनुसार एकै घरका ३६ वर्षीय सुदिप अधिकारी उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा घरको छुट्टा–छुट्टै तलामा मृत अवस्थामा भेटिएका थिए । पछि प्रहरीको अनुसन्धानबाट सुदीपले श्रीमती र छोराको हत्या गरी आफू पनि विष सेवन गरेर आत्महत्या गरेको खुलेको थियो ।

त्यस्तै २०७६ माघमा पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको ललिपतुरस्थित उनकै निवासमा हत्या भएको थियो । हत्यापछि उनको शवसँगै घरमा काम गर्न राखिएका २२ वर्षीय विजय चौधरीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

घरमा भएको सीसीक्यामेरा तथा अन्य प्रमाणको आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले तीनै विजय चौधरीले मुनाको हत्या गरी आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।

जानकारहरुका अनुसार भक्तपुरको घटना र अहिले टोखामा देखिएको घटना झण्डै उस्तै प्रकृतिका देखिएका छन् ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले भने, ‘भक्तपुर, लतिलपुर र काठमाडौँको तीनवटै घटना एउटै प्रकृतिका देखिएका छन् । भक्तपुरको घटनामा एक जनाले अरुको हत्या गरेर आफूले आत्महत्या गरेको खुलेको थियो भने ललितलपुरको घटना पनि उस्तै प्रकृतिको देखियो । पहिलो हत्या अनि आत्महत्या ।’

मल्लका अनुसार अहिलेको घटना पनि उस्तै प्रकृतिको देखिको छ । यद्यपि टोखाको घटना अनुसन्धानको चरणमै रहेकाले घटना कसरी भयो ? एकीन भन्ने अवस्था छैन ।

काठमाडौँ उपत्यकामा महीनामा ५ जनाको हत्या

महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्र महीनाका सरदर ४ देखि ५ जनाको हत्या हुने गरेको छ ।

तथ्याङ्क अनुसार साउनयता साढे तीन महीनामा काठमाडौँ उपत्यकामा २१ वटा हत्याका घटना भएका छन् । साउनमा ५ वटा, भदौमा ४ वटा, असोजमा ३ वटा, कात्तिक ४ वटा र मंसिरमा ५ वटा हत्याका घटना भए ।

यसअघि तीन आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा १४८ हत्याका घटना भएका थिए ।

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा काठमाडौँ उपत्यकामा खुनडाका तथा कर्तव्य ज्यान गरी ५३ जनाको हत्या भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा यो संख्या बढेर ६० जना पुगेको थियो । आर्थिक वर्ष २०७६/७७ मा भने ३५ वटा हत्याका घटना भएका थिए ।

प्रहरीका अनुसार घटनाको विश्लेषण गर्दा सामान्य विवादमै आफन्त र चिनजानकै व्यक्तिबाट हत्या हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भन्छन्, ‘कतिपय घटना सामान्य विवादमै भएको देखिन्छ । अवैध यौन सम्बन्ध र त्यसलाई लुकाउने प्रयास, सामान्य लेनदेन, झैझगडा र तनावका कारण आवेगमा आएर हत्या हुने गरेको पाइएको छ ।’

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार अपराधका घटना संख्याभन्दा पनि मनोविज्ञानसँग जोडिएको हुन्छ ।

‘आम नागरिकले कति सुरक्षित अनुभव गरे भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ मल्ल भन्छन्, ‘नेपालमा भन्दा अमेरिकामा हत्याको तथ्यांक धेरै छ, तर त्यहाँका जनाताले आफू सुरक्षित महसुस गर्छन् । नेपालमा एकजनाको हत्या हुँदा पनि आम नागरिकमा मनोवैज्ञानिक रुपमा ठूलो असर पर्छ ।’

मल्लका अनुसार समाजमा अपराधका घटना कम गर्न सबैभन्दा महत्वपूर्ण कुरा नैतिक शिक्षा हो । जघन्य अपराधका घटना नियन्त्रणका विषयमा नैतिक शिक्षा फैलाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ९ : ५९ बजे

प्रदेशभर अनुगमनमा दौडिँदै मधेशका मुख्यमन्त्री- बन्द भए अवैध रुपमा सञ्चालित २१ अस्पताल

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंह पछिल्ला समय प्रदेशभरकै अस्पताल

वैदेशिक रोजगारीमा एक करोड ४४ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले रुद्ध

 काठमाडौं– जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण

काठमाडौँमा ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक

पुल भत्किँदा दुई चिनियाँसहित चार जनाको मृत्यु, छ घाइते

एजेन्सी– दक्षिण कोरियाको एक द्रुतमार्ग निर्माण स्थलमा मंगलबार पुल भत्किँदा