कोरोना पछि उघ्रिएको रंगमञ्चको पर्दा « Khabarhub

कोरोना पछि उघ्रिएको रंगमञ्चको पर्दा



झापा– डेढ वर्षभन्दा लामो समय कोरोना महामारीले अधिकांश क्षेत्र खुम्चिए ।

दैनिक क्रियाकलाप र मानवीय दैनिकी पनि नियन्त्रित बन्यो । लकडाउन, निषेधाज्ञा जस्ता प्रतिवन्धात्मक आदेशका कारण कलाकारीता क्षेत्र पनि चलायमान हुन सकेन ।

मोफसलमा भर्खरै बामेसर्न थालेको रंगमञ्च पनि शुन्य बन्यो । झापाको दमक–९ मा निर्माणाधीन कदम थिएटरको सेउपाखा नाटकघरमा पनि पर्दा झर्‍यो । तर करिव ४ महिना अघि कोरोना क्रमिक नियन्त्रणमा आउन शुरुगरेसँगै कलाकारले नाटकघरमा लागेको माकुराको जालो झार्न शुरु गरे, खुईलिएको रंग चम्काउन थाले र आँगन–पिढीँ सफाचट पारे ।

नाटकघर भित्र सुस्तरी शुरु भएको अभ्यास ४ महिना पछि पोखियो नाटक–‘तिम्रो आँखामा खसेको साँझ’ बनेर ।

दशैँको संघार पारेर मञ्चन शुरु भएको नाटक हेर्न आउने दर्शकको संख्याले भने सबैलाई कोरोना बिर्साएको देखियो । थिएटरका अध्यक्ष हेमन्त बुढाथोकीले भने, ‘कलाकारिता ठप्प जस्तै बनेको लामो समय भएको थियो । साथीहरूले रिक्स मोलेर नाटकको तयारी गरेका थिए तर आज आएर नतिजा हेर्दा खुसी लागेको छ ।’

५० दर्शक क्षमताको नाटक घरमा असोज २२ देखि २५ सम्म हरेक दिन दुई सोको तालिकामा कुनै सिट खाली रहेनन् । नाटकका कलाकार समेत रहेका थिएटरका आर्ट डाईरेक्टर सिजन दाहालले भने, ‘दर्शक नआटे पछि थप शो समेत माग भयो, त्यसैले दिनमा ३ शोसम्म नाटक देखाईयो ।’

केही वर्ष अघिदेखि थिएटरको अभ्यास थालेको थिएटर अन्य नाटकघर जस्तै महामारी अवधिभर शुन्य भएको थियो । पछिल्लो यो नाटकसँगै यसको ढोका खुलेको छ ।

स्वतन्त्रताको कथा

नाटक–‘तिम्रो आँखामा खसेको साँझ’ बहुदल पछिको समय आसपासको कथा हो ।

यसमा दूई मूल महिला मात्र देखिन्छन् । तर जैवीक रुपमा उनीहरू समलिङ्गी हुन् । आजभन्दा करिव ३ दशक अघि समलिङ्गी विवाह गर्ने आँट यहाँ देखाईएको छ ।

यस्तै मानवीय स्वतन्त्रता, पुरुषवादी चिन्तनले थिचिएको समाज अनि अझैसम्म पनि कायमै रहेको लाहुरेमोह पनि कथामा बुनिएको छ ।

नाटकका लेखक प्रकाश शर्मा अधिकारी नाटक मार्फत मानवीय स्वतन्त्रताको खोजी गरिएको बताउँछन् । उनको पहिलो नाटक ‘चुपचाप’ मञ्चनको तयारी गरिए पनि लकडाउनका कारण चुपचापै रहयो । त्यस पछिको दोस्रो नाटकले भने मञ्च पाएको हो ।

 

नयाँ कलाकारको उदय
नाटकमार्फत नयाँ कलाकारसमेत उभ्याउने प्रयास गरिएको छ । खागर खाती कामीले निर्देशन गरेको नाटकमा सुशान्त लिम्बू, करिना बास्तोला, सिजन दाहाल, सोना यादव, दिपक खरेल, स्वेच्छा नेपाल, युवराज भण्डारी, मनिक शंकर र रमिला राई विभिन्न पात्रका रुपमा देखिएका छन् । ती मध्ये केहीलाई थिएटरमै अभ्यास गरेर कलाकारको रुपमा अभ्यास गराईएको थिएटरका महासचिव कमन देवानले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  २ : ३१ बजे

उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण

दोधारा चाँदनी- कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि

हेलिकप्टरमा वनभोज खान गएका बानियाँ भन्छन् : मुख्यमन्त्री भएयता मितव्ययी र पारदर्शी भएको छु

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार सम्हालेसँगै प्रदेश सरकारको

प्रचण्डले जितेको गोरखा २ बाट एमालेले चक्रे मिलनलाई अघि सार्‍यो

काठमाडौं- गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको

पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास

डुम्रे– पदमार्गले तनहुँका दुई पालिकाका घरबास (होमस्टे) जोडिएका छन् ।

मिर्गौला पीडितहरूद्वारा सहयोगको याचना

गलकोट– मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी