काठमाडौँ– विहीबार राष्ट्रिय जनगणना सुरु हुँदैछ । जनगणनाका लागि देशभर ४० हजार गणक खटाइएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
विभागले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जनाकारीअनुसार जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म, १५ दिन, चल्नेछ । जनगणनाको सबै तयारी पूरा भएको छ ।
राष्ट्रिय जनगणनाको बाह्रौँ शृंखला बिहीबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सुरु गर्ने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए ।
विभागका अनुसार नेपालको कुल जनसङ्ख्या ३ करोडभन्दा केही कम हुने अनुमान गरिएको छ । जन्मदर कम हुँदै गएको र विदेश पलायनमा वृद्धि भएकोले जनसंख्या वृद्धि कम हुने विभागका महानिर्देशक श्रेष्ठले बताए ।
उनका अनुसार पहिलो चरणमा गरिएको घरपरिवार सूचीकरणबाट पनि जनसंख्या तीन करोड नपुग्ने अनुमाण गरिएको छ । श्रेष्ठले भने, ‘अहिले नै यकिन भन्न त सकिदैँन तर ३ करोड नपुग्ने अनुमान विभागले गरेको छ ।’
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल सन्देशका साथ जनगणना गर्न लागिएको छ ।
पहिलो चरणको घरपरिवार सूचीकरण कार्यमा छुटेकाको विस्तृत विवरण पनि जनगणनामा समावेश हुने महानिर्देशक श्रेष्ठले बताए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जनगणनाका लागि सात वटै प्रदेशमा प्रदेश जनगणना कार्यालयसहित ७७ जिल्लामा ८७ जनगणना कार्यालय र त्यसअन्तर्गत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएका छन् ।
धेरै जनसंख्या भएका जिल्लाहरूमा एकभन्दा बढी जनगणना कार्यालय छन् । जनगणना सफल बनाउन केन्द्रदेखि वडातहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ ।
श्रेष्ठका अनुसार केन्द्रीय स्तरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा जनगणना निर्देशक समिति रहेको छ । प्रदेशस्तरमा प्रमुख सचिवको अध्यक्षतामा प्रदेश जनगणना समन्वय समिति रहेको छ ।
पालिकास्तरमा प्रमुख सम्बन्धित स्थानीय तहको अध्यक्षको संयोजकत्वमा स्थानीय जनगणना समन्वय समिति र वडास्तरमा वडाअध्यक्षको संयोजकत्वमा वडास्तरीय जनगणना सहजीकरण समिति रहेका छन् ।
श्रेष्ठका अनुसार जनगणनाको लागि करिब ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षकहरू परिचालन हुनेछन् ।
यसपटका गणक छनोटमा कक्षा १२ पास गरेर बेरोजगार बसेका युवा र स्थानीयबासीलाई प्राथमिकता दिइएको जनाइएको छ । गणकमा महिला र पुरुष बराबर संख्यामा रहेको विभागले जनाएको छ ।
महानिर्देशक श्रेष्ठका अनुसार जनगणना गर्न करिब ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । उनका अनुसार जनगणनाको तथ्याङ्कको गुणस्तर सुनिश्चित गर्न केन्द्रदेखि स्थानीय तहसम्म थप कर्मचारी परिचालन गरिएको छ ।
एक जना गणकलाई एउटा परिवारको प्रश्नावली भर्न औसतमा २० मिनेट लाग्ने अनुमान गरिएको छ । सोही अनुसार एक जना गणकले १५ दिनमा १७५ घरको जनगणना गर्ने महानिर्देशक श्रेष्ठले बताए ।
यसअवधिमा सुपरीवेक्षकले देशभरका ६ हजार ७४३ वडाबाट आधारभूत, आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद अवस्थाको जानकारी सङ्कलन गरी सामूदायिक प्रश्नावली भर्नेछन् ।
काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका ६ वटा नगरपालिकामा डिजिटल पद्धतिमा आधारित क्यापी विधि प्रयोग गरेर ट्यावलेटबाट जनगणनाको विवरण संकलन गरिने भएको छ ।
अन्य ठाउँमा कागजी प्रश्नावली प्रयोग गरिनेछ ।
त्यस्तै विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरू (राजदूतावास, महावाणिज्य दूतावास र स्थायी नियोग) मा ई–सेन्सस विधिबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरूको विवरण संकलन गर्न लागिएको छ ।
जनगणनामा सङ्कलन हुने सबै व्यक्तिगत विवरण तथ्याङ्क ऐन २०१५ अनुसार गोप्य राखिने र सामूहिकरूपमा मात्र विवरण प्रकाशन हुनेछ ।
जनगणनामा सहभागी नहुनेलाई कानून बमोजिम कारबाही हुने महानिर्देशक श्रेष्ठले बताए ।
जनगणना पूरा भएको करिब ६ देखि ८ महिनासम्ममा जनसंख्याको यकिन तथ्याङ्क आउने र सम्पूर्ण तथ्याङ्क आउन करिब २ वर्ष लाग्ने पनि उनले बताए । महानिर्देशक श्रेष्ठले जनगणनामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।
नेपालमा हरेक दश–दश वर्षमा राष्ट्रिय जनगणना गर्ने गरिएको छ । नेपालमा वि.सं. १९६८ पहिलो जनगणना भएको थियो।
लिपुलेक लिम्पयाधुरामा जनगणना हुन्छ कि हुँदैन भन्ने प्रश्नमा केन्द्रका महानिर्देशक श्रेष्ठले सरकारले आवश्यक कूटनीतिक पहल गरेर लिपुलेक, लिम्पियाधुरामा गणकहरू जान सक्ने वातावरण सिर्जना गरिदिए त्यस क्षेत्रमा पनि जनगणना हुने बताए ।
उनले भने, ‘गणकहरूको सुरक्षाको सुनिश्चितता भए गणना हुन्छ, सरकारले जारी गरेको नयाँ नक्साको क्षेत्रमा गणना होस् भन्ने मेरो पनि चाहना हो ।’
प्रतिक्रिया