अब उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने | Khabarhub Khabarhub

अब उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो ।

अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए ।

केन्द्रको परीक्षण सकिएपछि नयाँ र पूरानो दुवै पोखरीमा पानी पठाइनेछ । नयाँ पोखरीमा गएको पानीले पाइपको परीक्षण गरिनेछ भने पूरानो पोखरीको पानी तत्काल प्रणालीमा जानेछ । उनले भने, “पुरानो पोखरीको पानी पुरानो पाइपमार्फत वितरण हुनेछ ।”

अहिले सुरुङ परीक्षणको क्रममा छ । त्यो सकिएपछि प्रशोधन केन्द्र र त्यसपछि थोक वितरण प्रणाली पाइपलाइनको परीक्षण हुने खानेपानी मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बनेका नौ पोखरी र पहिलेबाट सञ्चालनमा रहेका छ पोखरीमा पानी सँगसँगै जानेछ । नयाँ पोखरीमा भरिएको पानीले चैतमा नै नयाँ पाइपलाइन परीक्षण शुरु हुन्छ । उनले भने, “परीक्षण सबै गरिसक्न दुईतीन महिना लाग्छ ।”

काठमाडौँ उपत्यकामा दुई सातापछि पानी आउँदा एकै पटक क्षमताअनुसारको पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सबै संरचना परीक्षणका क्रममा रहेकाले तत्कालका लागि थोरै परिमाणमा आउनेछ । त्यसलाई क्रमशः बढाउने योजना बनाइएको छ । काठमाडौँमा पानी आयो भन्नासाथ पूरै पानी एकैपटक नआउने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए ।

मेलम्चीबाट पहिलो चरणमा आउने भनिएको दैनिक १७ करोड लिटर प्रणालीमा जान अझै केही समय लाग्ने उनले बताए । आयोजनाले सुरुङ र प्रशोधन केन्द्रको परीक्षण सकेर त्यताबाट पानी पोखरीमा पठाएपछि वितरण तत्काल शुरु गरिने उनले बताए ।

जति पानी पोखरीमा आउँछ त्यति नै धारामा पानी पठाइनेछ । उनले भने, “दैनिक पानी पठाइनेछ, पानी थपिँदै जाँदा घरघरमा जाने पानीको परिमाण पनि बढ्नेछ ।”

पोखरीमा कति मात्रामा पानी उपलब्ध हुन्छ त्यहीअनुसार दैनिक एक/दुई घण्टासम्म पानी वितरण गरिने लिमिटेडले जनाएको छ । परीक्षणका क्रममा समस्या नआएको पाइएमा हेरेर पानीको परिमाण बढाउँदै जाने गरी योजना बनाइएको छ । लिमिटेडअन्तर्गतका सबै शाखा कार्यालयको आआफ्नो फेसबुक पेजबाट कहिले कहिले पानी वितरण गर्ने भनी जानकारी दिने उनले बताए । सोही माध्यममा नै पानी नआउँदा सम्पर्क गर्ने व्यक्तिको समेत टेलिफोन नम्बर राखिनेछ ।

समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको उनले जानकारी दिए । कुनै पनि ठाउँमा चुहावट हुँदा तत्काल मर्मतका लागि निर्माण व्ययवसायी र आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ । उनले भने, “हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ ।”

मेलम्चीको पानी काठमाडौँ आइसकेको र त्यसको वितरणका लागि संरचनाको निर्माण भइसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जानकारी दिए । अबको केही साताभित्रै उपत्यकावासीले नियमितरूपमा पानी पाउने उनको भनाइ छ । मेलम्चीको पानी वितरणकै लागि उपत्यकाका विभिन्न स्थानमा गरी नौ केन्द्रबाट पानी प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । अहिले परीक्षणको काम भइरहेको उनले बताए । उनले भने, “धारामा धमिलो जाँदैन प्रशोधन गरेर सफा पानी जान्छ ।”

अहिले परीक्षणका लागि सुरुङमा जम्मा भएको पानी वाग्मतीमा जाने उनले बताए । सबै संरचनाको परीक्षण गरिएको पानी वाग्मतीमा जानेछ भने परीक्षण सकिएर ठीक छ भनेपछि त्यो पानी प्रणालीमा जानेछ । मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई साता पछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको हो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकसँग सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लो पटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झार्ने लक्ष्य राख्दै आएको थियो । पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो । रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ११ : १३ बजे

तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति

काठमाडाैं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र

काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ