किसान भन्छन् : तरकारी खेर गयो, कृषि एम्बुलेन्स चलाइदेऊ « Khabarhub

किसान भन्छन् : तरकारी खेर गयो, कृषि एम्बुलेन्स चलाइदेऊ



बुटवल– लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला हरियो तरकारीमा आत्मनिर्भर छ । जिल्लामा सिजनमा प्रशस्त मात्रामा हरियो तरकारी उत्पादन हुन्छ । यहाँको तरकारी अन्य जिल्लामा समेत जाने गरेको छ ।

ग्रामीण क्षेत्रका किसानहरूले समूह बनाएर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारणले बारीबाट तरकारी बजारसम्म पुग्न पाएको छैन । यति वेला किसानको बारीमा घिरौँला, बोडी, टममटर, करेला लौका लगायतको तरकारी छ । गाईभैँसीलाई खुवाएर बढी भएको तरकारी बारीमै खेर जान्छ ।

‘बारीमा तरकारी छ, बजारसम्म पुर्‍याउन पाएको छैन,’ शुद्धोधन गाउँपालिकाको बेलहवाका किसान राजन मल्लाह भन्छन्, ‘सबै तरकारी बोटमै कुहिएर खेर जान्छ ।’ गाईबस्तुलाई खुवाएर पनि नसकिने भएकाले बारीमै छाड्न बाध्य भएको उनले बताए ।

शुद्धोधन गाउँपालिकामा उत्पादन हुने तरकारीको मुख्य बजार बुटवल हो । ‘तरकारी लिएर बुटवल जाँदा हामीलाई प्रहरीले लखेट्यो,’ राजनले भने, ‘बजार लैजाँदा प्रहरीको कुटाइ खाइन्छ, गाउँमा बिक्री हुँदैन ।’

बेलहवाका अर्का किसान बालकृष्ण मल्लाहको तरकारी खेती छ । उनको आम्दानीको मुख्य स्रोत पनि तरकारी खेती नै हो । सबै परिस्थिति अनुकूल हुँदा उनी तरकारी बेचेर वार्षिक ५ देखि ७ लाख रुपैँयासम्म आम्दानी गर्छन् ।

‘पोहोर साल र यसवर्ष राम्रो आम्दानी भएन, लगानी पनि नउठ्ने भयो,’ बालकृष्ण भन्छन्, ‘बारीको तरकारी बजार जान नपाएपछि के गर्नु र !’ बजारमा भारतीय तरकारी छ्याप्पछ्याप्ती पाइने गरेको तर नेपाली किसानले बजार पुर्‍याउन नपाएको उनको गुनासो छ ।

उनले भने, ‘भारतीय तरकारीका विषादी हालेको हुन्छ, त्यही तरकारी सजिलै घर–घरमा पुग्छ, हामीले उत्पादन गरेको तरकारी खेतमै कुहिएको छ ।’

तरकारी खेतीका लागि बेलहवा गाउँ जिल्लाकै उर्भर भूमि मानिन्छ । यहाँका कृषकहरूको मुख्य आम्दानीको स्रोत तरकारी खेती नै हो । किसानहरूले समूहमा मिलेर तरकारी उत्पादन गर्दै आएका छन् ।

अहिले हरियो तरकारी उत्पादनको मुख्य सिजन हो तर लकडाउनका कारणले उनीहरू बजार पुग्न पाएका छैनन् । पोहोर साल प्रदेश र स्थानीय सरकारले कृषि एम्बुलेन्स सञ्चालन गरेर केही सजिलो बनाएका थिए । यस वर्ष कृषि एम्बुलेन्स चलाउन सरकारले ध्यान नदिएको किसानहरूको गुनासो छ ।

‘बेलहवा प्रगति तरकारी ब्लक’ का अध्यक्ष सुनिल हरिजनले सरकारले किसानको मर्का बुझ्न नसक्दा करोडौँको तरकारी खेर गएको बताए । कृषि एम्बुलेन्स चलाएर आफ्नो उत्पादन बजार पुग्ने व्यवस्था गरिदिनुपर्ने उनको माग छ ।

 

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ४ : ३९ बजे

दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू

एकताका विषयमा भएका छलफलबारे रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता तथा सहकार्यका लागि विभिन्न व्यक्ति

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले