नवरात्र र दुर्गोत्सवको महिमा | Khabarhub Khabarhub

नवरात्र र दुर्गोत्सवको महिमा



प्राचीनकालदेखि सम्पूर्ण भारतवर्षमा आश्विनशुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गापूजा गर्ने तथा दुर्गोत्सव मनाउने परम्परा छ । नवरात्र भनेको यही अवधि हो । शरद (आश्विनशुक्ल) र वसन्त (चैत्रशुक्लपक्ष) मा समान रूपले दुर्गोत्सव गर्नुपर्ने कुरा धर्मशास्त्रहरूमा उल्लेख गरिएको छ ।

हुन त वर्षमा चारवटा नवरात्र मनाउने परम्परा पनि देखिन्छ जसअनुसार आषाढशुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्र र पौषशुक्लपक्षको प्रतिपदादेखि नवमीसम्म नवरात्र मानिएको छ । यसको वर्णन देवीभागवत आदि पौराणिक ग्रन्थहरूमा छ । आषाढशुक्लमा पर्ने नवरात्र र पौषशुक्लको नवरात्रलाई त्यति महत्व दिएको देखिँदैन ।

नेपालमा आश्विनशुक्लपक्षको नवरात्रलाई जति महत्व चैत्रशुक्लपक्षको नवरात्रलाई छैन । चैत्रशुक्लपक्षमा पनि शक्तिपीठहरूमा भवानी दुर्गाको पूजा तथा आराधना गर्ने परम्परा भने छ ।

नेपालका सबै भागका साथ भारतको बङ्गाल, विहार र कामरूपमा पनि आश्विनशुक्लपक्षको दुर्गोत्सव विशेषरूपले मनाइन्छ । वर्तमानमा नेपाली संस्कृति र परम्पराका अनुयायीहरू संसारको कुनाकुनामा पुगेका छन् जसले गर्दा संसारभरि नै धुमधामका दुर्गोत्सव हुने गरेको छ । नेपालमा मनाइने सबैजसो चाडपर्वहरू नेपालीका माध्यमबाट संसारभरि पुगेका छन् ।  यातायात र सञ्चारको विश्वव्यापीकरणका कारण आज हाम्रा चाडपर्वहरूको पनि विश्वव्यापीकरण भएको छ ।

हिन्दू सनातन धर्ममा सबै व्रत, उत्सव तथा पर्वहरूका लागि विशेष काल धर्मशास्त्रीय नियम र विधानअनुसार निर्धारण गरिएको छ । व्रत तथा उत्सवहरूको प्रारम्भ तथा अन्त्य विशेष काल तथा समयमा गर्नुपर्ने शास्त्रीय विधान छ ।

यसरी विशेष कालमा व्रतोत्सव गर्नुपर्ने हुँदा कालसम्बन्धी ज्ञान अवश्यक हुन्छ । हिन्दु सनातन धर्मशास्त्रीय ग्रन्थहरूमा विशेष गरेर आठ प्रकारका काल व्यवहारमा मानिएको छ । यी काल सम्वत्सर, अयन, ऋतु, महिना, पक्ष, तिथि, वार र नक्षत्र हुन् ।

यहाँ सम्वत्सर र दुर्गोत्सवका सम्बन्धमा उल्लेख गरिएको छ ।

सम्वत्सर

सम्पूर्ण ऋतुहरूको एउटा चक्र सम्वत्सर हो । कुनै ऋतुबाट प्रारम्भ भएर पुनः त्यही ऋतु आउन जति समय लाग्छ त्यही अवधि सम्वत्सर हो । एउटा सम्वत्सरभित्र सम्पूर्ण ऋतुहरू पर्छन् भनी अमरकोशको कालवर्गमा सम्वत्सर शब्दको व्याख्या गरिएको छ ।

सम्वत्सरको माध्यमबाट मानिस लगायत सम्पूर्ण प्राणीहरूको आयुको गणना हुने गरेको छ । जसमा सबै प्राणी रहन्छन् त्यो समयविभागको नाम नै सम्वत्सर हो भनेर निरुक्तमा उल्लेख गरिएको छ ।

यसरी सम्पूर्ण ऋतुहरूको र सबै प्राणीहरूको कालविभाजनको आधारको नाम नै सम्वत्सर हो । मानवलाई सम्वत्सरको ज्ञान हुँदैनथ्यो भने न उसले ऋतुविभाग जान्दथ्यो न त प्राणीको आयुको गणना नै हुनसक्थ्यो । यसरी सम्वत्सर समस्त प्राणीको जीवनसँग जोडिएको छ ।

सम्वत्सर तथा ऋतु–विभागको सम्बन्ध सूर्यको गतिसँग छ । सूर्य सम्वत्सर तथा कालका अधिदेवता मानिएका छन् । सूर्यको अभावमा न त सम्वत्सर नै हुन्थ्यो न त कालको विभाजन नै ।

सम्वत्सरारम्भ (चैत्रशुक्ल प्रतिपदा)

धेरैजसो धर्मशास्त्रीय एवं ज्योतिषशास्त्रीय ग्रन्थहरूमा चैत्रशुक्ल प्रतिपदा नयाँ सम्वत्सरको आरम्भ भएको दिन भनेर उल्लेख गरिएको छ । त्यसमा पनि जुन दिन सूर्योदयको अवसरमा प्रतिपदा तिथि रहेको छ त्यही दिनलाई सम्वत्सरारम्भ मान्नुपर्ने कुरा धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।  बह्मपुराणमा त्यही दिन सूर्योदय हुने बेलामा ब्रह्माले यो संसारको सृष्टि गरेको कुरा उल्लेख गरिएको छ

यदि दुबै दिन सूर्योदयको बेलामा प्रतिपदा रहेको छ भने या दुबै दिन सूर्योदयको बेलामा प्रतिपदा छैन भने पनि पहिलो दिनलाई नै सम्वत्सरारम्भ मान्नुपर्ने कुरा निणर्यसिन्धुकारले वृद्धवशिष्ठको वचनका रूपमा उल्लेख गरेका छन्–

वत्सरादौ वसन्तादौ बलिराज्ये तथैव च ।

पूर्वविद्धैव कत्र्तव्या प्रतिपत् सर्वदा बुधैः ।

(निर्णयसिन्धु, वृद्धवसिष्ठ)

यदि चैत्र महिनामा अधिकमास (मलमास) परेको छ भने प्रथम चैत्रशुक्ल प्रतिपदालाई नै सम्वत्सरारम्भ मान्नुपर्छ किनभने निर्णयसिन्धुकारले अधिकमासको गणना अघिल्लो वर्षमा गरिन्छ भनेका छन् ।

सर्वप्रथम ब्रह्माले चैत्रशुक्ल प्रतिपदाको सूर्योदयको समयमा यो संसारको निर्माण गरेका थिए भन्ने कुरा विभिन्न पुराण तथा धर्मशास्त्रीय ग्रन्थहरूमा वर्णन गरिएको पाइन्छ । पुराणहरूका अनुसार त्यसै दिन यो संसारमा कालगणना प्रारम्भ भएको हो ।

धर्मशास्त्रीय निबन्धग्रन्थहरूमा यस दिन महाशान्तिका साथ ब्रह्मासहित वर्ष, महिना, ऋतु, पक्ष, दिन आदि कालका अवयवहरूको पूजा गर्नुपर्ने विधान छ ।

यसरी ब्रह्मादिको पूजा गर्नाले सम्पूर्ण पापहरू नाश हुनुको साथै आयु, आरोग्य, धन, धान्य तथा शौभाग्य पनि अभिवृद्धि हुन्छ र घरमा मङ्गल एवं पवित्रता हुन्छ भने विश्वास रहिआएको छ । यसबाट यस लोक र परलोक पनि सुखदायक रहन्छ भन्ने कुरा व्रतार्कमा उल्लेख गरिएको छ ।

नवसम्वत्सरारम्भको दिन घर ध्वजा–पताकाहरूले सजाउने, स्नान गर्ने, ब्राह्मणहरूका साथ मङ्गलगान गर्ने; देवता, मान्यजन, नारी एवं बालबालिकालाई नयाँ वस्त्र तथा अलङ्कार प्रदान गरेर ज्योतिषहरूबाट पञ्चाङ्ग श्रवण गर्नुपर्ने कुरा धर्मशास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

दुर्गापूजा नित्य र काम्य दुबै हो  । सात्विक, राजसी र तापसी तीन वटै उद्देश्यले अलगअलग विधिद्वारा देवी दुर्गाको आराधना गर्न सकिन्छ । वर्षमा चार पटक दुर्गोत्सव हुने मानिए पनि आश्विनशुक्लपक्षले बढी महत्व पाएको छ ।

तैलाभ्यङ्ग अर्थात् शरीरमा तेल लगाउनु नवसम्वत्सरम्भमा अनिवार्य नै मानिएको छ । सम्वत्सरारम्भमा तैलाभ्यङ्गादि कार्य नगरे नरकको भागी बन्नुपर्ने कुरा निर्णयसिन्धुमा उल्लेख गरिएको छ ।

रोगशान्तिका लागि मरिच, नुन, जिरा र ज्वानो तथा नीमको फूलका साथ कोमल पातको चूर्ण बनाएर खान पनि धर्मशास्त्रीय ग्रन्थहरूमा निर्देश गरिएको छ ।

चैत्रशुक्ल प्रतिपदा नै वसन्त ऋतुमा पर्ने नवरात्रको पहिलो दिन हो । वैदिक सनातन धर्मका निर्णायक ग्रन्थमा शरद र चैत्रशुक्ल प्रतिपदाका दिनमा प्रारम्भ हुने नवरात्र समान रूपले मनाउनुपर्ने कुरा उल्लेख गरिएको छ ।

यही परम्पराअनुसार वसन्त र शरदमा पर्ने नवरात्रमा दुर्गोत्वस मनाउने गरिएको हो । वसन्त ऋतुमा नवरात्र मनाएको छ महिनापछि अर्थात् आश्विनशुक्ल प्रतिपदामा नवरात्र प्रारम्भ हुन्छ । प्राचीनकालमा यी दुबै दिन अत्यन्त महत्वका साथ घरघरमा देवी दुर्गाको स्थापना गरी पूजा तथा आराधना गर्ने गरिएको कुरा ग्रन्थहरूमा पाइन्छ ।

पछिल्ला दिनमा चैत्रशुक्ल प्रतिपदामा शुरू हुने नवरात्र तथा दुर्गोत्सवलाई भन्दा आश्विनशुक्ल प्रतिपदामा मनाइने दुर्गोत्सवलाई विशेष महत्व दिने गरिएको छ । राज्यले पनि यो नवरात्रलाई विशेष महत्व दिएर लामो विदा दिने गरेको छ । शरद ऋतुको पहिलो दिन शुरू हुने शारदी नवरात्रले विशेष महत्व पाएको छ ।

यो नवरात्र मनाउन शास्त्रमा अन्य धेरै विकल्पहरू पनि दिएको छ । आश्विनशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन यो उत्सव मनाउन शास्त्रमा निर्देश गरिएको छ । यसअनुसार प्राचीनकालदेखि नेपालमा पनि आश्विन शुक्लप्रतिपदादेखि आश्विशुक्ल पूर्णिमासम्म मनाउने गरिएको हो ।

यसमा देश, काल, परिस्थिति दृष्टिगत गरेर अन्यान्य विकल्पहरू पनि रहेका छन् । जसअनुसार आश्विनशुक्ल प्रतिपदादेखि नवमीसम्म, षष्ठीतिथिदेखि नवमीसम्म, सप्तमीतिथिदेखि नवमीसम्म, महाष्टमी र नवमी तथा केवल नवमी आदि अनेक विकल्पका सम्बन्धमा कालिका, देवीभागवत आदि पुराणहरूमा उल्लेख गरिएको छ ।

दुर्गोत्सवका सम्बन्धमा वैदिक सनातनधर्ममा विशाल साहित्य पाइन्छ । व्रत, पूजा र तिथिका सम्बन्धमा प्रकाश पार्ने उद्देश्यले लेखिएका धेरैजसो ग्रन्थहरूमा दुर्गोत्सवको वर्णन गरिएको पाइन्छ ।

केवल दुर्गोत्सवका सम्बन्धमा पनि धेरै ग्रन्थहरू प्राचीनकालदेखि नै प्रकाशित छन् । जसमध्ये दुर्गोत्सवविवेक, दुर्गापूजाप्रयोगतत्व, दुर्गार्चनपद्धति, दुर्गाभक्तितरङ्गिणी, नवरात्र–प्रदीप आदि छन् ।

दुर्गोत्सवका सम्बन्धमा मार्कण्डेयपुराणमा वर्णित (अध्याय ७८–९०) देवीमहात्म्य (दुर्गासप्तशती) अत्यन्त महत्वपूर्ण मानिन्छन् । यिनमा विष्णु, शिव, अग्नि आदि सबै देवताहरूको तेजबाट उत्पन्न भएकी देवीको स्वरूपको वर्णन गरिएको छ ।

दुर्गासप्तशतीमा उल्लेख भएअनुसार देवी दुगर्षले शिवबाट त्रिशूल, विष्णुबाट चक्र, इन्द्रबाट वज्र आदि हतियार प्राप्त गरेर महिषासुर, चण्ड, मुण्ड, शुम्भ, निशुम्भ आदि दानवहरूको वध गरी विजय प्राप्त गरेको कुरा वर्णन गरिएको छ ।

कालिकापुराण, बृहन्नन्दिकेश्वर पुराण, देवीपुराण तथा देवीभागवतमा दुर्गा एवं उनको पूजाका सम्बन्धमा विशद वर्णन गरिएको छ ।

दुर्गोत्सवका नौ दिनमा देवीका विभिन्न रूपको अर्थात् भिन्नभिन्न नामले पूजा गनुपर्ने कुरादुर्गासप्तशतीमा गरिएको छ ।

यसअनुसार पहिलो दिनकी देवीको नाम शैलपुत्री, दोस्रो दिनकी  ब्रह्मचारिणी, तेस्रो दिनकी चन्द्रघण्टा, चौथो दिनकी कूष्माण्डा, पाँचौ दिनकी स्कन्दमाता, छैटौँ दिनकी कात्यायनी, सातौँ दिनकी कालरात्रि, आठौँ दिनकी महागौरी र नवौँ दिनकी सिद्धिदात्री हुन् ।

यी सबै देवीहरू नवदुर्गा नामले जानिन्छन्–

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।

पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।

नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिता ।

दुर्गापूजा नित्य र काम्य दुबै हो  । जुन कुरा नित्य हुन्छ त्यस्तो कर्म प्रमाद, छल, घमण्ड आदिका कारण नगरेको अवस्थामा दोष लाग्ने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

यस्तै, दुर्गा पूजा विशेष कामना अर्थात् देवीलाई प्रसन्न गराएर अभीष्ट फल प्राप्त गर्ने उद्देश्यले पनि गर्ने गरिन्छ । यसरी कुनै कामनाका साथ देवीको पूजा गरेको अवस्थामा धर्म, अर्थ, काम र मोक्ष गरी यी चारवटै पुरुषार्थ प्राप्त हुने कुरा विभिन्न धर्मशास्त्रीय ग्रन्थ तथा पुराणहरूमा उल्लेख गरिएको छ ।

दुर्गापूजा तथा दुर्गोत्सव चार वर्णका लागि मात्र नभएर सबै जाति र वर्णका लागि हो भन्ने कुरा पनि पुराणहरूमा गरिएको छ । यसकारण दुर्गोत्सवको महत्व धार्मिकमात्र नभएर सामाजिक पनि रहिआएको छ ।

देवी दुर्गाको पूजा सात्विक, राजसी र तापसी रूपमा पनि गर्न सकिने कुराको वर्णन विभिन्न धार्मिक ग्रन्थहरूमा पाइन्छ ।

यसअनुसार दुर्गाको सात्विक पूजामा षोडषोपचारका माध्यमले पूजा हुन्छ र नैवेद्यको रूपमा फल, पक्वान्न आदि दिइन्छ । राजसी पूजामा पशुबलि दिइन्छ । तामसी पूजामा सुराका साथ मासुको पनि प्रयोग गर्ने गरिएको कुराको वर्णन शास्त्रीय ग्रन्थहरूमा पाइन्छ ।

(लेखक नेपाल संस्कृत विश्वविद्यालयमा  धर्मशास्त्रका सहप्राध्यापक हुन्)

 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ४० बजे

ओबामा दम्पत्तिको सबन्धविच्छेद हुन लागेको हो ?

काठमाडौं- पछिल्लो समय अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती

बिस्केट जात्राको दोस्रो दिन भैरव र भद्रकालीको रथमा पूजा

काठमाडौं– भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट

जैविक मल उद्यम सञ्चालन गर्दै सामुदायिक वन

गण्डकी – पोखराको सराङकोटस्थित ठोट्नेखोला सामुदायिक वन उपभोक्ता समूहले वन

पालिकास्तरीय अस्पताल भवन निर्माण अलपत्र

म्याग्दी– मङ्गला गाउँपालिकास्थित १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन अलपत्र

कोदोखेती प्रवर्द्धनका लागि प्रदेश सरकारको अनुदान

बैतडी– नेपालको परम्परागत रैथाने बालीका रूपमा रहेको कोदो पछिल्लो समय