आँपमा राम्रो मज्जर खेलेपछि खुशी « Khabarhub

आँपमा राम्रो मज्जर खेलेपछि खुशी


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– आँपका रुखका हाँगा मज्जर (मञ्जरी, फूल) ले झपक्क भएर झुकेपछि किसानको मुहारमा खुशी देखिएको छ । मज्जरको मिठो सुवास (वास्ना) चारैतिर छरिएको छ । यसपाली आँप राम्रो फल्ने आसले महोत्तरीका किसान खुशी देखिएका छन् ।

जिल्लामा व्यावसायिकरुपमै आँप (बगैँचा) खेती गर्ने किसान अहिले यसपाली ठूलो हावाहुरी नचली देओस् भन्ने कामनामा छन् । ‘हेर्नोस् न, मज्जरले ढपक्क छोपेर पात हाँगा केही देखिएका छैनन् , मज्जरको भारले हाँगा पनि नुहेका छन्’, जिल्लाको बर्दिबास नगरपालिका–५ चेरुका किसान होतराज घिमिरेले आफ्नो आँप बगैँचातिर देखाउँदै पुलकित मुद्रामा भने, ‘ठूलो हावाहुरी नआएर मधुवा (मज्जरमा लाग्ने एक किसिमको किरा, रोग) नलागे त यसपाली आँप राम्रो फल्ने आश छ ।’

बगैँचा खेतीका किसान यसपाली हिउँदे वर्षा नभएर भने थोरै चिन्तित छन् । हिउँदे वर्षाले मज्जरको डाँठ बलियो बनाउने, आँपका रुखमा लागेका किरा पखाल्ने र जरामा पर्याप्त चिस्यान हुँदा फूल नझर्ने र टिकोला (चिचिला) बोटमा राम्ररी अडिने किसानको अनुभव छ । हिउँदे वर्षा नभएपछि रुखका जरामा सधैँजसो पानी हाल्नु परेको र बोटमा पानीकै फोहरा दिने गरिएको घिमिरेकै छिमेकी राजन पौडेल बताउँछन् ।

अहिले हिउँदे वर्षा नभएर पानीका मुहान सुक्दै गएका हुँदा सास्ती बढेको पौडेलको भनाइ छ । फलका रुखका लागि बाहिरी प्रयत्नबाट गरिएको सिँचाइ र फोहरा वर्षाको पानीजस्तो प्रभावकारी नहुने किसान बताउँछन् ।

जिल्लाका सबै भेगमा धेरथोर आँप बगैँचा लगाइएको भए पनि बर्दिबास, गौशाला, औरही र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिकरुपमै बगैँचा खेती गरिएको छ । खासमा बर्दिबास नगरपालिकाका खयरमारा, टुटेश्वर, ढुङ्ग्रे, गणन्ता, चेरु, सोनापेटी, वरडाँडा, माइस्थान, पाटु, भव्सी, बिजलपुरा र पशुपतिनगरका धेरैजसो किसानको खेती भनेकै बगैँचा हो ।

त्यसैगरी गौशाला नगरक्षेत्रका पडरिया, कालीपुर, भरतपुर, लक्ष्मीनियाँ, फुलकाहा, बेलगाछी, कुष्माढी, रजखोर र रामनगर बगैँचाखेतीका पकेट क्षेत्रका रुपमा मानिन्छन् । यस्तै भङ्गाहा नगरपालिकाका बस्तीमा पनि बगैँचा खेती बढ्दो छ ।

बगैँचा खेतीमा खासगरी आँप, लिची, सपाटो र रुखकटहर जिल्लाका मुख्य फल हुन् । यी सबै गृष्मकालीन फल हुन् । कटहरमा फूल झर्ने र मधुवा लाग्ने प्रकोप त्यति नदेखिए पनि आँप र लिचीमा यो समस्या मुख्य भएको किसान बताउँछन् ।

‘कटहरको फूलको डाँठ कडा र मोटो हुन्छ, सामान्य हावाहुरीले छुदैन, तर आँप र लिचीका डाँठ कोमल र साना हुने हुँदा सानोतिनो हावाहुरीले पनि बग्रेल्ती मज्जर र टिकोला झार्छ’ बर्दिबास–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतोले भने । मधुवाको प्रकोप पनि आँप र लिचीमा बढी हुने महतोसहितका किसानको भनाइ छ । सपाटो चैँ व्यवसायका रुपमा नभई किसानले शोभा र आफ्नो घरका परिवारजनका लागिमात्र लगाउने गरेका पाइएको छ ।

पछिल्लो जारी दशकमा कृषि कार्यका मजदूर पाइन छाडेपछि जिल्लामा बगैँचा खेती गर्ने किसान ह्वात्तै बढेका छन् । मजदूर नपाइने, समयमा खादमल र बीउको अभाव हुने र आवश्यक मात्राको सिँचाइ सुविधा नभएपछि अन्नबाली गर्ने ठाउँमा बगैँचा थपिँदै गएर यो खेती बढेको हो । जिल्लामा विसं २०६० सम्म पुगनपुग दुई हजार हेक्टरमा रहेको बगैँचा खेती अब पाँच हजार हेक्टरभन्दा माथि पुगेको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले जनाएको छ ।

बगैँचा खेती बढ्दै गएसँगै किसानले यसबारेको प्राविधिक सल्लाह, रोगव्याधमा उपचार र भरपर्दो बिरुवा नपाएर भने ठगिनु परेको बताउँदै आएका छन् । तीनै तहका (सङ्घीय, प्रादेशिक र स्थानीयतह) सरकारले किसानका मर्का बुझेर आवश्यक पहलकदमी लिइ दिन पर्ने फलफूल किसानको माग छ । रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : ५९ बजे

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध

वीरगञ्ज– वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन

सुकुम्बासी र हुकुमबासी सरकारले पहिचान गरोस् : हरि रोका

काठमाडौं- सरकारले सहरका सुकुम्बासी व्यवस्थापन गर्न लागेको चर्चा छ ।

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहलाई द्वन्द्वपीडित समुदायले  खुला आह्वान पत्रमार्फत सङ्क्रमणकालीन

दुर्गम सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं– दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको संखुवासभाको सिलीचोङ गाउँपालिकालाई

वर्षौंदेखि जीर्ण नहर मर्मत नहुँदा किसान मर्कामा

पर्वत– वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिँचाइ नहर मर्मत नहुँदा धानखेतीको