निर्वाचनले जाम्बियामा शान्ति ल्याउला त ! | Khabarhub Khabarhub

निर्वाचनले जाम्बियामा शान्ति ल्याउला त !


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाम्बियामा बिहीबार हुने राष्ट्रपतीय र संसदीय निर्वाचनमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । बहुसंख्यक जनता, विशेष गरेर युवाहरू आर्थिक वृद्धि नभएको कुरामा चिन्तित रहेको समयमा निर्वाचन हुँदैछ ।

थोरै कर, जनताको खल्तीमा धेरै पैसा र प्रशस्त रोजगारीको अवसरको मुद्दा लिएर सत्तामा स्थापित पेट्रोटिक फन्ट (पीएफ) निर्वाचनमा होमिएको छ ।

सत्तारूढ दलका प्रवक्ता आमोस चान्डाले यस बीचमा थुप्रै काम भए पनि केही कामको निरन्तरताका लागि आफ्नो दलको सरकार अनिवार्य रहेको बताउने गरेका छन् । विपक्षी युनाइटेड फर नेसनल डेभ्लपमेन्ट (यूपीएनडी) ले भने राष्ट्रपति एडगार लुङ्गुको कार्यकालमा जाम्बियाका नागरिकको अपेक्षा पूरा नभएको आरोप लगाएको छ ।

जाम्बियाका धेरै बौद्धिक जमातको मत भने दशेमा धेरै स्रोत भए पनि दुरुपयोग भएकाले आर्थिक अवस्था खराब भएको भन्ने छ ।

यी सबै आरोपको खण्डन गर्दै पीएफले दश वर्षमा भौतिक संरचनामा व्यापक विस्तार भएको र जनजीवन सुधार भएको दाबी गरेको छ । तामा खानीको छेउमा व्यापक सुधारका कार्यक्रम भएको र भौतिक संरचनामा कायापलट नै भएको दाबी पीएफको छ ।

नयाँ पावर स्टेसन, अस्पताल, ठूला एयरपोर्ट, स्कुल लगायत आफ्नै कार्यकालमा विकास भएको दाबीसहित पीएफ निर्वाचनमा होमिएको छ ।

विपक्षीहरू र नागरिक अगुवाहरूले भने आर्थिक सन्तुलन भयानक खराब मोडमा रहेको आरोप लगाउने गरेका छन् । सन् १९९८ पछि पहिलो पटक गत वर्ष कोभिड महामारीको कारण जाम्बियामा चरम आर्थिक संकट देखियो । उच्च ब्याजदरमा वैदेशिक ऋण, निर्यातमा कमी र आयात वृद्धि लगायत समस्या जाम्बियामा छन् । यस परिवेशमा हुने निर्वाचनको निर्णायक शक्ति पहिलो पटक मतदानमा सहभागी युवाहरू मानिएका छन् ।

करिब ८० लाख मतदातामध्ये आधाभन्दा बढी ३५ वर्ष वा त्योभन्दा कम उमेरका छन् । विगतमा पीएफलाई साथ दिँदै आएका ग्रामीण क्षेत्रमा मतदाताको संख्या व्यापक वृद्धि भएको छ ।

२०१७ मा स्नातक गरेकी २५ वर्षीय एउटी नर्सको गुनासो छ कि फेरि अर्को चार वर्ष बेरोजगार बस्न धेरै कठिन हुनेछ । रोजगारीको ग्यारेन्टी उनको एक मात्र माग छ । जसले त्यो माग पूरा हुने विश्वास दिलाउँछ उसैलाई मतदान गर्ने उनको भनाइ छ ।

जाम्बियाले पछिल्लो समय शिक्षा क्षेत्रमा व्यापक चासो दिएको छ । यसबाट जनशक्ति उत्पादन त भयो तर त्यहाँ ५० हजार शिक्षक, १७ हजार नर्स र ५ सय चिकित्सक अझै बेरोजगार छन् । बेरोजगारीले उत्पन्न निराशा सत्तारूढ दलका लागि सबैभन्दा चिन्ताको विषय बनेको छ ।

त्यहाँको सरकारले भारतको एक्जिम बैंकबाट ऋण लिएर ६५० हेल्थ पोस्ट बनाइरहेको छ । अन्य थुप्रै ऋणमा अस्पताल बन्दैछन् । तामाको भाउ बढेसँगै यो वर्ष १ दशमलव ५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान छ ।

यिनै विषय लिएर निर्वाचनमा उत्रेको सत्तारूढ दलको विरुद्धमा विपक्षी यूपीएनडीले एक धनाढ्य ब्यापारी हाइकान्दे हिचेलेमालाई उम्मेदवार बनाएको छ ।

त्यो दलले दक्षिणी र पूर्वी क्षेत्रमात्र होइन खनिजका लागि धनी मानिएको उत्तर पश्चिम प्रान्तमा पकड जमाउने अपेक्षा गरेको छ । खानीहरूको उत्खनन भए पनि आर्थिक विकास हुन नसकेको र बेरोजगारी समस्या बढेको आरोप विपक्षी दलको छ ।

सन् २०१८ मा स्थापित समाजवादी दल त्यहाँको अर्को प्रभावशाली शक्तिको रूपमा उदाउँदैछ । पश्चिमी प्रान्तमा विस्तार भएको यो दल पत्रकारिताबाट राजनीतिमा होमिएका फ्रेड एम्बामेको नेतृत्वमा छ । उनको प्रचार प्रचारशैली आक्रामक छ ।

उत्तर पश्चिमी प्रान्तमा रहको यूपीएनडीका केही परम्परागत मतदाता समेत एम्बामेतिर आकर्षित हुने सम्भावना रहेको समीक्षकहरू बताउँछन् ।

कतिपय राजनीतिक विश्लेषक भने यो कुरा मान्न तयार छैनन् । यी विश्लेषकहरूको मतअनुसार शहरमा नयाँ शक्तिका फाट्फुट असर देखिए पनि ग्रामीण क्षेत्रमा परम्परागत शक्तिले नै मत पाउनेछन् ।

जाम्बियाको समस्या निर्वाचनले समाधान गर्छ कि गर्दैन भन्ने चासो धेरैको छ । अन्तर्राष्ट्रिय निकायहरूले निर्वाचनपछि पनि वातावरण शान्त नहुने र हिंसा भड्किन सक्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय क्षेत्रको भूमिकामा  पनि चासो छ ।

पछिल्लो समय राष्ट्रपति लुङ्गु विपक्षीप्रति आक्रामक भएका छन् । यसअघि पाँच पटक राष्ट्रपतीय निर्वाचनमा असफल रहेका हिचिलेमाप्रति उनी अझ बढी आक्रामक छन् ।

सत्ताबाटै विभिन्न खालका त्रासको वातावरण सिर्जना गरिएको आरोप विपक्षीले लगाएको छ । एमनेस्टी इन्टरनेसनलले जाम्बियामा डर र त्रासको आधारमा शासन चलेको भन्ने निष्कर्षसहितको रिपोर्ट गत जुनमा प्रकाशित गरेको थियो ।

एमनेस्टीको प्रतिवेदनमा विपक्षी नेता, सञ्चारकर्मी, मिडिया हाउस र विपक्षी कार्यकर्ता निशानामा रहेको उल्लेख गरिएको थियो । विद्रोह रोक्न विभिन्न हथकण्डाको प्रयोग भएको पनि उक्त रिपोर्टमा उल्लेख गरिएको थियो ।

हिचेलेमाले आफ्नो अभियान निरुत्साहित पार्न सत्तापक्षले सुरक्षा संयन्त्र प्रयोग गरेको आरोप लगाउने गरेका छन् । सत्तारूढ दलका कार्यकर्ताले निर्वाचन नजिकिँदै गर्दा पनि निस्फिक्री आफ्नो अभियान चलाएका छन् ।

गत महिना राजधानी लुसाकाको कन्यामा क्षेत्रमा विपक्षी यूपीएनडीसँगको झडपमा पीएफका दुई कार्यकर्ताको ज्यान गयो । यसपछि आक्रोशित भएका लुङ्गुले शहरभरि सेना तैनाथ गराए । विपक्षी दलले मतदातालाई डर देखाएर आफ्नो पक्षमा पार्न सत्ताले त्यसो गरेको आरोप लगायो ।

सत्तारूढ दलका अधिकारीहरूले जनतालाई निर्वाचन शान्तिपूर्ण हुनेमा निश्चिन्त पार्न सेना प्रयोग गरिएको बताउने गरेका छन् । सत्तापक्ष र विपक्षको आरोप–प्रत्यारोपका बीच अमेरिकासहित विदेशी सरकारहरूले निगरानी गरिरहेका छन् ।

राजधानी लुसाकामा रहेका आफ्ना दूतावासबाट धेरै विदेशीहरूले हिंसा भड्काउन खोज्नेलाई कडा निगरानी गर्ने सूचना जारी गरेका छन् । उनीहरूले ‘हिंसा रोकौँ, प्रजातान्त्रिक प्रक्रियालाई साथ दिऔँ’ भनेर विज्ञप्ति जारी गरेका छन् ।

यो निर्वाचन प्रणालीसम्म आइपुग्न जाम्बियाले लामो संघर्ष गरेको छ । पूर्वी युरोपको प्रभावबाट मुक्त हुँदै जाम्बियाले सन् १९८० को दशकको अन्त्यमा आफ्नै एक दलीय शासन शुरूवात गरेको थियो । सन् १९९१ मा केनेथ कनाउडाले बहुदलीय व्यवस्था  शुरू गरेका थिए । पहिलो बहुदलीय निर्वाचनमै कनाउडा पराजित भए ।

बहुदलीय व्यवस्थासँगै जाम्बियाले धेरै कुरामा प्रगति गरेको देखिएको थियो । वार्षिक ७ प्रतिशतले वृद्धि गर्दै जाम्बिया धेरै तामा उत्पादन गर्ने दोस्रो देश बनेको थियो । आर्थिक तेजीले जाम्बियावासीको जीवन स्तरमा सुधारिएको थियो ।

सन् २०११ मा पीएफको सत्तापछि जाम्बिया ओह्रालो लागेको थियो । खासमा सन् २०१५ मा लुङ्गुको शासन शुरू भएपछि जाम्बियाको अवस्था अझ खराब हुँदै गयो ।

मानवअधिकार हननका घटना बारम्बार हुन थाले । गरिबी बढ्न थाल्यो, बाह्य ऋण पनि एकाएक बढ्यो । अवस्था कतिसम्म खराब भयो भने त्यहाँका ४० प्रतिशत मानिस पर्याप्त खान नपाउने अवस्थामा पुगे । कोरोना महामारीको तेस्रो लहरले यो देशलाई झन् बढी आक्रान्त पारेको छ ।

जाम्बियाको समस्या निर्वाचनले समाधान गर्छ कि गर्दैन भन्ने चासो धेरैको छ । त्यहाँको अवस्था नियालिरहेका अन्तर्राष्ट्रिय निकायहरूले निर्वाचनपछि पनि वातावरण शान्त नहुने र हिंसा भड्किन सक्ने चेतावनी दिएका छन् । यसबीचमा अमेरिका लगायत अन्तर्राष्ट्रिय क्षेत्रको भूमिका के होला भन्ने चासो पनि बढेको छ ।

अमेरिकाले जाम्बियाको खराब अवस्थाका कारण आफ्नो दूतावास फिर्ता गरेको थियो । त्यहाँको विकास र भौतिक संरचना निर्माणका लागि अनुदान सहयोग भने जारी राखेको छ । हाल अमेरिकाले प्रतिवर्ष ५० करोड अमेरिकी डलर सहयोग गरिरहेको छ ।

यो सहयोगलाई निरन्तरता दिने कि नदिने वा सहयोग बढाउने सवालमा पनि अमेरिकाले जाम्बियाको निर्वाचनलाई चासोपूर्वक हेरेको जनाइएको छ । निर्वाचन शान्तिपूर्वक सम्पन्न भयो र यसपछि प्रजातान्त्रिक ढङ्गले शासन चल्यो भने बाइडन प्रशासन जाम्बियासँग सहकार्य गर्न तयार हुने अनुमान गरिएको छ ।

त्यसो त अन्य युरोपेली देशले पनि जाम्बियामा शान्ति कायम भएमा र भ्रष्टाचारमुक्त भएमा सहयोग गर्न र सहकार्य गर्न तयार भएर बसेका छन् ।

हिंसा र त्रासको बीचमा हुन लागेको निर्वाचनमा पनि जाम्बियावासीको ध्यान भने बेरोजगारी अन्त्य र आर्थिक संकुचन कम गर्दै तेजीको अवस्थातर्फ नै रहेको छ । संसारले कम्तीमा त्यही जाम्बिया देख्न चाहेको छ, जुन २००० को दशकमा थियो ।

शान्त, आर्थिक उन्नतिउन्मुख र बेरोजगारी समस्यारहितको जाम्बिया हुने कि नहुने, यसको फैसला शायद यसै निर्वाचनले गर्नेछ । –एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ७ : ५५ बजे

दोहामा प्रधानमन्त्री ओलीसहितको टोली

दोहा- प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त

४९ कम्पनीका मालिक केदारनाथ, जसले शिवशिखर डुबाएर तुलसी सहकारी खोले

काठमाडौं–तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा सहकारीको रकम हिनामिना

धनराजविरुद्ध कानुनी कारबाही बढाउन समितिको निर्देशन

काठमाडौं– सहकारी संस्थाको छनबिन गर्न बनेको संसदीय छनबिन विशेष समितिले

ढल्किँदो साँझमा धपक्क बलेको धरहरा (तस्बिरहरू)

काठमाडौं- निर्माण थालिएको नौ वर्षपछि खुलेको काठमाडौंस्थित धरहरा अहिले सर्वसाधारणका