कहिले पुनर्निर्माण होला भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज भवन ! « Khabarhub

कहिले पुनर्निर्माण होला भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज भवन !


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७२ सालको विनाशकारी भूकम्प गएको साढे छ वर्ष भयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पाँच वर्षको म्याद अब करिब साढे तीन महिनामा सकिँदैछ ।

नेपालमा उच्च शिक्षाको कोशे ढुङ्गाको रूपमा रहेको त्रिचन्द्र कलेजको ‘त्रिचन्द्र कलेज’ भवन पनि भूकम्पले क्षति भयो । पर्खालमा जताततै चिरा पर्‍यो । कतै त पर्खाल नै ढल्यो ।

त्रिचन्द्र कलेजसँग पश्चिमट्टि जोडिएको रानीपोखरी पुनर्निर्माण भयो, रानीपोखरी पश्चिमपट्टिको दरबार हाइस्कुल भवन पुनर्निर्माण भएर आकर्षक र आधुनिक भवन बन्यो ।

दक्षिणतर्फ अलिक पर ढलेको धरहराले आकाश छोयो । ‘म बनाउँछु मेरो धरहरा’ भनेर चन्दा उठ्यो तर रानीपोखरीसँग जोडिएको ऐतिहासिक महत्वको त्रिचन्द्र कलेज भवन बनेन, झन् झन् जीर्ण बन्दै गयो ।

भवनको छानो चुहिएर कक्षाकोठामा पानी भरिएको छ । पुराना झ्यालढोका मक्किएका छन् । काठ धमिराले खाएको छ । भवनको दक्षिणतर्फको केही भाग भत्किएको छ । बाहिर भित्ताका धेरै ठाउँमा झार उम्रिएको छ । भवनलाई झारले चारैतिरबाट छोपेको छ । बाहिरी भागबाट हेर्दा यस्तो लाग्छ कि मानौँ भवन वषौँदेखि प्रयोगविहीन छ ।


१९७५ साल भदौ १२ गते स्थापना भएको त्रिचन्द्र क्याम्पसले हालै १०४औँ वार्षिकोत्सव मनाएको छ । एक शताब्दीभन्दा लामो गौरवपूर्ण इतिहास भएको त्रिचन्द्र कलेज भवन जीर्णोद्धारका लागि कोही पनि गम्भीर भएन । ‘म बनाउँछु मेरो त्रिचन्द्र कलेज’ भन्ने नाराअघि सार्न कोही पनि तयार भएन ।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिचन्द्र कलेजमा पढेका हुन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालले यही कलेजमा पढे ।

पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइरालाले र कीर्तिनिधि विष्टले पनि यही कलेजमा पढेका थिए ।

साहित्यकार बालकृष्ण सम, सुवर्णशमशेर राणा, लक्ष्मीप्रसाद देवकोटा, शंकरदेव पन्त, दशरथ चन्दलगायत देशले गौरव गर्ने व्यक्तिहरूले त्रिचन्द्र कलेजमा अध्ययन गरेका थिए । राजा महेन्द्रले पनि यहीँ पढेका थिए ।

त्रिचन्द्र कलेज भवन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालमा ७० हजार रुपैयाँ लागतमा १४ महिनामा निर्माण भएको थियो । कलेजको उद्घाटन पनि चन्द्रशमशेरले नै गरेका थिए ।

उद्घाटन समारोहमा उनले ‘कलेज खोल्नु राणा शासनका लागि भलो काम नभए पनि कालबेलाले आफूले गर्नुपरेको’ भनेर दुःख प्रकट गरेका थिए ।

अब शिक्षा मन्त्रालयको हातमा

त्रिचन्द्र कलेज भवन पुनर्निर्माणका लागि बारम्बार आग्रह गरे पनि हालसम्म कुनै सुनुवाइ नभएको क्याम्पस प्रमुख प्रा.डा सुनील अधिकारीले बताए । उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएदेखि नै पुनर्निर्माणका लागि बारम्बार आग्रह गरेको हो ।
अनेक कारण देखाएर प्राधिकरण पन्छिएको उनको आरोप छ ।

प्राधिकरणका अधिकारीले हालै भवन निर्माणको जिम्मा सम्बन्धित मन्त्रालयलाई दिएको जानकारी आफूलाई गराएको प्रा.डा. अधिकारीले बताए ।

उनले भने, ‘प्राधिकरणले आफ्नो कार्यअवधि सकिन लागेकाले भवन पुनर्निर्माणको जिम्मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको भन्ने जानकारी पाएँ ।’


लामो समयदेखि कलेज बन्द रहँदा भवन झारले छोपेको र सफा गर्ने तयारीमा रहेको उनले बताए । भवन निकै जीर्ण भएकाले पुनर्निर्माण नै गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

शर्त नमान्दा पुनर्निर्माण भएन

पुनर्निर्माण प्राधिकरणले खुला ठाँउ निकाल्ने योजनाअनुसार रानीपोखरीबाट दशरथ रङ्गशालासम्मको क्षेत्र समावेश गरेर बृहत्तर गुरुयोजनाको प्रस्ताव तयार गरेको छ ।

सोही योजना अन्तर्गत रानीपोखरीको पार्क बनाउन त्रिचन्द्र कलेजको भोगाधिकार रहेको जग्गा उपयोग गर्ने प्रस्ताव गरेको थियो ।

प्राधिकरणको प्रस्तावअनुसार रानीपोखरीतर्फका भवनहरूमध्ये सरस्वती सदन बाँकी राखेर उत्तर–पश्चिमको तर्फको सबै जमिन खाली गर्नुपर्ने थियो ।

दक्षिणतर्फको पहेँलो भवन सरस्वती सदन हो  ।

ठाँउ खाली गरेबापत घण्टाघरसँगै रहेको कलेजको पुरानो भवन जस्ताको त्यस्तै पुरानै शैलीमा पुनर्निर्माण गरिदिने र बाँकी रहेको खाली जग्गामा अर्काे नयाँ भवन बनाइदिने प्रस्ताव प्राधिकरणको थियो ।


भूकम्पले क्षति पु¥याएको भवन पुनर्निर्माणका लागि प्राधिकरणको प्रस्ताव कलेज प्रशासनलाई मान्य भएन । सहायक क्याम्पस प्रमुख जनकराज ढुङ्गानाका अनुसार त्यस्तो प्रस्ताव अस्वीकार गर्नुको परिणामस्वरूप त्रिचन्द्र कलेजको ऐतिहासिक भवन पुनर्निर्माण वा जीर्णोद्धार भएन ।

उनले भने, ‘पहिले प्राधिकरणले भवन पुनर्निर्माण लागि कुनै पनि शर्त राखेको थिएन, पछि शर्त राखेपछि पुनर्निर्माण भएन ।’

पुनर्निर्माण प्राधिकरणका प्रवक्ता भगवान अर्यालका अनुसार रानीपोखरी, खुलामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरुयोजना अन्तर्गत पार्क निर्माण गर्ने योजना स्वीकृत भइसकेकोे छ । डीपीआर तयार गर्न विभिन्न निकायहरूलाई आह्वान गरिएको छ ।

त्रिचन्द्र कलेजको त्यो एतिहासिक भवन कुन शर्तमा कहिले पुनर्निर्माण वा जीर्णाेद्धार हुन्छ भन्ने अज्ञात छ ।

केही बाँकी तस्वीर

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : ४४ बजे

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

बागमती– जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई

अमेरिकाले स्वीकार्‍यो : इरानी आक्रमणमा कम्तीमा १०० सैनिक घाइते

तेहरान- अमेरिकाले इरानको जवाफी आक्रमणमा आफ्ना करिब १०० सैनिक घाइते