पोखरामा च्याङ्ग्राको भाउ बढेपछि खसीबोकाको माग बढ्यो | Khabarhub Khabarhub

पोखरामा च्याङ्ग्राको भाउ बढेपछि खसीबोकाको माग बढ्यो


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च्याङ्ग्राको हुल बिक्रीका लागि राखिएको हुन्छ । च्याङ्ग्रा खरिद–बिक्रीको मेला लाग्दछ ।

व्यवसायीले मुस्ताङ, डोल्पा, रोल्पा, बैतडी, बझाङलगायतका जिल्लाबाट दुई– तीन साता लगाएर हिँडाएर च्याङ्ग्रा बिक्री गर्न पोखरा ल्याइ पुर्‍याउँछन् । बजारमा च्याङ्ग्रा देखिन थालेसँगै सर्वसाधारणमा दसैँ आएको छनक आउँछ ।

हिमाली चिसो मौसममा हुर्केका, जडीबुटी खाएकाले च्याङ्ग्र्राको मासु दसैँमा उपभोक्ताको विशेष रोजाइमा पर्छ । स्वादिलो हुने भएकाले सकभर दसैँमा धेरैको भान्सामा च्याङ्ग्राको मासु पाक्छ । पोखरालगायत यस क्षेत्रमा बढी रुचाइएको च्याङ्ग्राको भाउ भने यस वर्ष आकाशिएको छ । व्यापारीले रोज्जा च्याङ्ग्राको मूल्य रु ५० हजारसम्ममा बिक्री गरेका छन् ।

मासु प्रतिकेजी रु दुई हजारदेखी रु दुई हजार ५०० सम्म मूल्य पर्ने गरेको छ । गत वर्षको तुलनामा २० देखि २५ प्रतिशतसम्म मूल्यवृद्धि भएपछि सामान्य र मध्यम आर्थिक अवस्थाका उपभोक्ताले भने खरिद गर्न सक्ने अवस्था छैन ।

च्याङ्ग्राको मूल्य आकाशिएपछि उपभोक्ताको रोजाइ अहिले खसीबोकामा छ । अधिकांशले दसैँका लागि गाउँघरमै स्थानीय खसीबोका व्यवस्था गरेका छन् ।

पोखरा–१४ चाउथेस्थित खसीबजारमा एक साताअघिदेखिबाटै ग्राहकको भीड बढेको छ । यस क्षेत्रको मुख्य बजार भएकाले यहाँ धेरै ठाउँबाट ग्राहक आउने गर्दछन् । विगतमा दसैँमा च्याङ्ग्रा खानेहरु यस वर्ष खसीबोकाको व्यवस्था गरेका छन् ।

पोखरा–११ फूलबारीका नवराज पौडेलले यस वर्ष च्याङ्ग्राको मूल्य छोइसक्नु नभएकाले दसैँका लागि स्थानीय खसीको व्यवस्था गरेको बताए ।

खसीबजारमा भेटिएका उनले भने, ‘विगतका दसैँमा जहिले पनि च्याङ्ग्रा नै किन्ने गरिन्थ्यो तर अहिले भाउ छोइसक्नु छैन । त्यसैले खसीको व्यवस्था गरेको छु । मिल्यो भन्ने फ्रेस हाउसबाट एक–दुई केजी किनेर च्याङ्ग्राको स्वाद लिनुपर्ला, सिङ्गै किन्न सकिएन ।’

पोखरा खसीबजार बजार व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्षको दसैँमा खसीको माग बढेको बताए । माग बढेपछि व्यवसायीले थप दुई हजार ५०० खसीबोका बजारमा ल्याउँदै गरेको उनले जानकारी दिए । बजारबाट यस वर्ष छ हजार ५०० को हाराहारीमा खसीबोका बिक्री गरिसकिएको बताइन्छ ।

बजारमा आउनेहरुले च्याङ्ग्राको मूल्य बढेकाले खरिद गर्न नसकेको बताउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण होटल रेष्टुरेन्ट र पार्टी प्यालेस बन्दा हुँदा व्यवसाय नराम्रोसँग प्रभावित भएकामा दसैँमा बजार राम्रो हुँदा खसीबोका व्यवसायी उत्साहित भएका छन् । बजारमा २१ खसीबोका बिक्री गर्ने पसल छन् ।

जिउँदो खसी प्रतिकेजी रु ६०० देखि ६४५ सम्ममा यस वर्ष बिक्री गर्ने गरिएको छ । विगतमा भारतीय बजारबाट समेत पोखरामा खसीबोका आयात हुँदै आएकामा गएको एक वर्षदेखि रोकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । व्यवसायीले विशेषगरी पाल्पा, नवलपरासी, सुर्खेत, तनहुँ, स्याङ्जा र दाङलगायतका जिल्लाबाट खसी ल्याउने गरेका छन् ।

पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले यस वर्ष गत वर्षको तुलनामा २५ प्रतिशतसम्म च्याङ्ग्राको मूल्य बढेको बताउछन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : ३५ बजे

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न