देश/प्रदेश

भीम विक हत्या मुद्दाका दुवै आरोपी पूर्पक्षका लागि थुनामा

By खबरहब

November 12, 2021

चितवन– भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा स्थानीय ५८ वर्षका भीमबहादुर विकको मृत्यु सम्बन्धमा चितवन अदालतले शुक्रबार थुनछेक आदेश सुनाएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले दिएको आदेशअनुसार हत्या घटनाका आरोपित दुवै जना पूर्पक्षका लागि थुनामा गएका छन् ।

आवेश प्रेरित हत्या भनी अभियोग लगाइएकोमा दुवै जना थुनामा गएका हुन् । २८ असोज बिहीबार दुर्गाचोकमा स्थानीय ३७ वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठले कुटपिट गरेको भनी मृतकका छोरा किसान विकले प्रहरीमा जाहेरी दिएका थिए । यही आरोपमा श्रेष्ठ र बस्नेत थुनामा गएका हुन् ।

भरतपुर–४ स्थित दुर्गाचोकमा रहेको मन्दिरमा दशैँका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको मृतकको परिवारको आरोप छ । आरोपितहरूलाई सोही दिन नै नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको थियो ।

पोष्टमार्टम रिर्पोटमा उल्लेख भएअनुसार हेड इन्जुरी अर्थात टाउकोमा लागेको चोटका कारण खुलाइएको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए ।

परिवारले अझै पनि शव बुझेको छैन । भीमबहादुर विकको मृत्युसम्बन्धमा जाँचबुझका लागि मानव अधिकार आयोग, दलित आयोग र विभिन्न सामाजिक संघसंस्थाको टोली चितवन आएको थियो ।